
हुम्ला- कर्णाली प्रदेशमा सामुदायिक विद्यालयहरूको संख्यामा कमी आएको छ भने संस्थागत (निजी) विद्यालयहरू बढ्दै गएको तथ्याङ्कले देखाएको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार हाल कर्णालीमा ३ हजार २१० सामुदायिक विद्यालय रहेका छन्, जुन गत वर्षको ३ हजार २३३ को तुलनामा २३ ले कम हो। शिक्षा तथा मानवस्रोत विकास केन्द्रको २०८१ को फ्ल्यास रिपोर्टले पनि यो तथ्यलाई पुष्टि गरेको छ।
यस्को विपरीत संस्थागत विद्यालयको संख्यामा उल्लेखनीय वृद्धि भएको छ। गत वर्ष २५० वटा रहेका निजी विद्यालयको संख्या बढेर २७७ पुगेको छ, जुन २७ को वृद्धि हो।
सामुदायिक विद्यालय घट्नुका मुख्य कारणहरूमा शहरी क्षेत्रको विकाससँगै अभिभावकको निजी विद्यालयप्रतिको आकर्षण, विद्यार्थी संख्या कम भएका विद्यालयहरूलाई गाभ्ने प्रक्रिया, माध्यमिक तहसम्मको विद्यालय खोल्ने अनुमति स्थानीय तहलाई दिइनु, र सामुदायिक विद्यालयहरू राजनीतिक हस्तक्षेपको शिकार भइरहनु रहेको सामाजिक विकास मन्त्रालयका शैक्षिक योजना तथ्याङ्क तथा अनुसन्धान शाखाका अधिकृत बलवीर सुनारले बताए। थोरै विद्यार्थी भएका विद्यालय गाभिएका कारण पनि संख्या घटेको उनको भनाइ छ।
आधारभूत तह (कक्षा १–८) सम्मको विद्यार्थी भर्नामा पनि संस्थागत विद्यालयले महत्वपूर्ण हिस्सा ओगटेका छन्। कर्णालीमा आधारभूत तहमा अध्ययनरत कूल ३ लाख ५४ हजार ७४० विद्यार्थीमध्ये ४०.२ प्रतिशत अर्थात् ५२ हजार ८८६ जना निजी विद्यालयमा पढ्छन्। बाँकी ६० प्रतिशत अर्थात् ३ लाख १ हजार ९०४ जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन्।
माध्यमिक तह (कक्षा ९–१२) मा भने सामुदायिक विद्यालयकै वर्चस्व देखिए पनि संस्थागत विद्यालयको आकर्षण बढ्दो छ। कूल १ लाख २७ हजार ८३३ विद्यार्थीमध्ये १ लाख २१ हजार ४७ जना सामुदायिकमा र ६ हजार ७७६ जना संस्थागत विद्यालयमा अध्ययनरत छन्। माध्यमिक तहसम्म अंग्रेजी भाषामा राम्रो पढाइ हुने विश्वासका कारण अभिभावकहरूले निजी विद्यालयलाई प्राथमिकता दिने गरेको पाइएको छ।
शिक्षा विकास निर्देशनालयले पनि विद्यालय सञ्चालनको अनुमति स्थानीय तहलाई भएकाले र विद्यार्थी अभावमा सामुदायिक विद्यालय गाभिँदै गएकाले आगामी वर्षहरूमा पनि सामुदायिक विद्यालयको संख्या घट्ने सम्भावना औंल्याएको छ।
बजार विस्तार भएका क्षेत्रमा संस्थागत विद्यालय बढ्ने र थोरै विद्यार्थी भएका विद्यालय गाभिने क्रम जारी रहे आगामी वर्ष पनि सामुदायिक विद्यालयको संख्या घट्न सक्ने देखिएको छ।