
काठमाडौँ- तीनकुने घटनापछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलाई बिहीबार सर्वोच्च अदालतमा हाजिरमात्र गराएर फर्काइएको छ। उनलाई शुक्रबार फेरि सर्वोच्च अदालतमा लगिने र इजलासमा पेश गरिने सर्वोच्च प्रशासनले जानकारी दिएको छ।
मिश्रलाई बिहीबार नै इजलासमा पेस गरिने भनिए पनि सर्वोच्च प्रशासनले हाजिरमात्र गराएर फर्काएको हो।
न्यायाधीश सुनिलकुमार पोखरेलको बुधबारको आदेशअनुसार मिश्रलाई काठमाडौँ प्रहरी परिसरले सर्वोच्च अदालतमा उपस्थित गराएको थियो।
बिहीबार भने मिश्रको हातमा हथकडी लगाइएको थिएन। काठमाडौँ प्रहरी परिसरबाट महान्यायाधिवक्ताको कार्यालय पुर्याउँदा उनको हातमा हथकडी लगाइएको थियो। त्यहाँबाट सर्वोच्च अदालत लैजाने क्रममा भने उनको हथकडी खोलिएको हो।
यसअघि आठपटक म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराउँदा उनलाई हतकडीसहित लगिएको थियो।
पक्राउ परेको ४८औँ दिनमा सर्वोच्चमा पेश गर्दा भने हतकडी खोलिएको थियो।
मिश्रकी श्रीमती सारिका कार्कीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।
इजलासले बन्दीसहित २४ घण्टाभित्र उनीमाथि अनुसन्धान भइरहेको अभियोगको सक्कल फाइलसहित उपस्थित हुन आदेश दिएको थियो।
आदेशअनुसार उनलाई अनुसन्धानको सक्कल फाइलसहित उपस्थित गराइएको हो।