दश वर्षअघि ‘पशुपतिप्रसाद’ जस्तो सुपर हिट चलचित्रबाट सहकार्य सुरु गरेका निर्देशक दीपेन्द्र के खनाल र कलाकार, लेखक तथा निर्देशक खगेन्द्र लामिछाने सँगसँगै जस्तो छन्।
लामिछाने र खनालको भेट कुनै एउटा प्रडक्सन हाउसमा भएकाे थियो, जहाँ लामिछानेको चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ र खनालको चलचित्र ‘झोले’ पोष्ट प्रडक्सनमा थियो। कामकाे सिलसिलामा दुवैको भेट बिस्तारै बाक्लियो। एकअर्कालाई बुझ्दै गए र एकदिन निर्देशक खनालले ‘पशुपतिप्रसाद’को कथा सुनाए। लामिछानेलाई कथा मन पर्यो। यसरी पशुपतिप्रसादको पटकथा लेखन क्रमकाे अनुभव सुनाउँछन्, ‘पटकथा लेखनकै क्रममा दीपेन्द्रजीले मिलेर काम गरौँ भन्नुभयो। म पनि तयार भएँ। र, पशुपतिप्रसाद सफल पनि भयो। आजको मितिमा पनि हामीलाई पशुपतिप्रसादको नाम लिएर चिन्नुहुन्छ। त्यही फिल्मबाट हाम्रो मित्रता झ्याङ्गियो।’
यता. निर्देशक खनाल भन्छन्, ‘हाम्रो दोस्तीले १ दशक पूरा गर्यो। र, निरन्तर काम गर्न पाइएको छ।’ नेपाली चलचित्र क्षेत्रमा लेखक र निर्देशक खुबी भएकाकाे दोस्ती खासै लामो नगएको उदाहरण छन्। तर, लामिछाने भन्छन्, ‘हामी एकअर्कामा स्पष्ट छौँ। आफूले जानेको कामबारे सेयर गर्छौँ। नुबझेको कुरा बुझ्ने र बुझाउने कोसिस गर्छौँ। कुनै दुविधा छ भनेर फोन, च्याट या भेटेर स्पष्ट पारिन्छ। र, हामी एकअर्कालाई विश्वास गर्छौँ। कामको सम्मान गर्छौं।’
एकअर्कालाई सम्मान गर्ने साथीले नै आफ्नो मित्रवत् सम्बन्धलाई निरन्तरता दिन सक्छन् भन्ने उदाहरण खनाल र लामिछानेमा पनि लागू हुन्छ। र, यतिखेर दुवैले मिलेर नयाँ काम ल्याएका छन्— के घर के डेरा घर: नम्बर २ ।
यही जेठ २ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘के घर के डेराः घर नम्बर २’ मा निर्देशक दीपेन्द्रले निर्देशकीय पाटो र खगेन्द्रले कलाकारिताको पाटो सम्हालेका छन्। केही वर्षअगाडि रिलिज भएको चलचित्र के घर के डेराका दोस्रो श्रृंखलाको नाममा घर नम्बर २ राखिएको छ।
नेपाली चलचित्र लेखनमा खनाल र लामिछाने राम्रा रुचाइएका पात्र हुन्। पानीफोटो, टलक जंग भर्सेस टुल्के, धनपतिलगायत फिल्म लेखिसकेका लामिछाने आफैँ पनि लेख्न सक्थे के घर के डेराका दोस्रो श्रृंखला। खनाल पनि निर्देशकबाहेक राम्रो ‘डाइरेक्टर अफ फोटोग्राफी’ गर्छन्। चलचित्र धनपतिमा निर्देशन र छायांकन उनैको छ। र, चलचित्र ‘आमा’मा निर्देशक खनालकै लेखन निर्देशन छ। यसरी हेर्दा खनाल र लामिछाने राम्रो लेखक हुन् र पनि यसपालि लेखक बुद्धिसागरलाई लेखनमा जोडे।
बुद्धिसागरकाे अब्बल लेखाइले चलचित्रलाई थप हेर्नलायक बनाएको विश्वास पनि सुनाउँछन् निर्देशक खनाल। भन्छन्, ‘चलचित्र दृष्य भाषा भए पनि साहित्यिक हुनुहुपर्छ। हाम्रा चलचित्रमा साहित्यिक संवाद भेटिँदैनन्। हामीले त्यो प्रयास गर्न खोजेका छौँ।’
कलाकार लामिछानेले थपे, ‘साहित्यकारले फिल्म लेखनमा आउनुपर्छ भन्ने हो। एक जनाले सबै विधामा हात हालेर पनि भएन। त्यसैले केही फरक गर्नुपर्छ, केही नयाँ गर्नु पर्छ भन्ने लागेर बुद्धिसागर जोडिएको हो।’
लामिछाने फिक्सन लेखनजस्तो सजिलो चलचित्र लेखन नभएको बताउँछन्। उनका अनुसार प्रविधिसँग नजिक रहेर चलचित्र लेखन हुने भएकाले पटक–पटक पुनर्लेखन गर्नुपर्ने बताए। उनले भने, ‘चलचित्र लेखनले नमज्जाले थकाउँछ।’
सामाजिक विषयवस्तुमा चलचित्र निर्माण गर्न माहिर निर्देशक खनालले यसअघि चलचित्र ‘आमा,’ ‘चिसो मान्छे,’ ‘के घर के डेरा’ ‘धनपति,’ ‘भष्मे डन,’ लगायत चलचित्र ल्याएका छन्। यसपालि के घर के डेरा: घर नम्बर २ मा घरबेटी वा डेरावालसँगै आमनागरिकको कथा पनि भन्ने कोसिस गरेको बताउँछन्, निर्देशक खनाल।
त्यसैगरी, अभिनेता लामिछानेका अनुसार गाउँमा मात्रै गरिबी छैन सहरमा पनि चरम गरिबी छ । ‘हामीले गाउँमा मात्रै गरिबी देख्यौँ खासमा सहरमा पनि गरिबी छ मौलिक कथा छन् जो झट्ट देखिँदैन तर हामीले चलचित्रमार्फत देखाउने कोसिस गरेका छौँ । सहरभित्रको मानवीय संवेदनालाई उठाउने कोसिस गरेका छौँ,’ लामिछानेले भने।
लामिछानेको संघर्ष सुरु भएकाे थियाे रेडियो नाटकबाट। बिबिसीमा रेडियो नाटक र सहरका थिएटर घरहरूमा नाटक गर्ने कर्मसँगै अघि बढ्ने क्रममा लामिछाने अभिनय र लेखनमा पनि उत्तिकै अब्बल देखा परे। साथै, सशस्त्र जनयुद्धमा हराएको आफ्नो बच्चा खोज्न बाआमाले गरेको संघर्षमा आधारित नाटक ‘पानीफोटो’ आफैले लेखे र प्रदर्शन पनि गरे। सोही नाटकलाई चलचित्र बनाएर चलचित्र निर्देशकका रूपमा देखा परे।
तर, निर्देशक खनाल लामिछानेले निर्देशनमा भन्दा अभिनय र लेखनमै बढी समय दिन आग्रह गर्छन्। भन्छन्, ‘खगेन्द्र सरको मलाई लेखन र अभिनय नै दमदार लाग्छ। उहाँको अभिनय जीवन्त छ। उहाँको लेखन पनि उत्तिकै अब्बल छ।’
निर्देशक खनालको सल्लाह र सुझावलाई आत्मसात् गरेको बताउँदै लामिछानेले भने, ‘निर्देशनमै करिअर बनाउन खोजेको होइन तर मनमा गढेको कथालाई दृष्य भाषाबाट आफैले भन्नुपर्छ भन्ने लागेर पानीफोटो गरेको हुँ। सायद अब मैले लेखन र अभिनयमै बढी समय दिनेछु।’
लेखक निर्देशकका रूपमा जे काम गरे पनि सँगसँगै काम गर्ने रहर सुनाउँछन् कलाकार लामिछाने। भन्छन्, ‘दीपेन्द्रजीसँग काम गर्दा धेरै कुरा सिक्न पनि पाउँछु। उहाँ निर्देशनमा निकै गम्भीर हुनुहुन्छ।’
पछिल्लो समय नेपाली चलचित्र निर्माणको चाप ह्वात्तै बढेको छ। हप्तामा तीन फिल्मसमेत प्रदर्शनमा आइरहेको छ। २०८१ मा पूर्णबहादुरको सारङ्गीले पाएको सफलतापछि चलचित्र निर्माण बाक्लिएको छ तर यस्तो चापमा निरन्तर काम गर्दै आएका चलचित्र निर्देशक निर्मातालाई कत्तिको असर पर्ला?
‘फिल्म जति निर्माण भयो त्यति नै चलचित्र बजार चलायमान हुने हो,’ निर्देशक खनालले भने, ‘निरन्तर काम गर्ने मेकर थप सचेत हुने मौका पाउँछन्। आफूले गरिरहेको कामको मूल्यांकन गर्न पाउँछन्। र, राम्रो फिल्म बनाउन सोच्न थाल्छन्।’
निरन्तर फिल्म निर्देशन गर्ने निर्देशकमा दरिन्छन् खनाल। उनले आजसम्म लगानीकर्ता खोज्दै हिँड्नुपरेको छैन। बरु उनीसम्म लगानीकर्ता पुग्छन्। उनी भन्छन्, ‘राम्रो काम गरेमा बजारले नै खोज्छ । लगानीकर्ता स्वयं आउँछन् ।’
भिडियो: