दासढुंगा दुखान्तको ३२ वर्षपछि…

दासढुंगा दुखान्तको ३२ वर्षपछि…
+
-

नेपाली कम्युनिष्ट आन्दोलनका सम्भवत: सबैभन्दा चम्किलो नेता मदन भण्डारीको निधन भएको जेठ ३ गते आज ३२ वर्ष पूरा भएको छ। २०५० साल जेठ ३ गते पोखराबाट चितवन जाँदै गर्दा उनी र उनका सहकर्मी तत्कालीन पार्टी संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको गाडी रहस्यमय ढंगले दासढुंगाबाट त्रिशूली नदीमा खसेको थियो र उनीहरू दुवैको जीवनलीला समाप्त भएको थियो। त्यो बेला मदन भण्डारी नेकपा एमालेका महासचिव थिए। उनी २०४६ सालमा नेकपा मालेको चौथौ महाधिवेशनबाट महासचिव चुनिएका थिए, ३७ वर्षकै उमेरमा र २०४७ सालमा नेकपा एमाले बनेपछि ३८ वर्षकै उमेरमा पार्टीको पहिलो महासचिव बनेका थिए।

आज जेठ ३ गते बिहानै तस्बिरहरूमा देखेँ- उनीप्रति प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र विभिन्न नेताहरूले श्रद्धाञ्जलि अर्पण गरेको। एमालेको पुरानो कार्यालय रहेको स्थान बल्खुस्थित मदन-आश्रितको शालिकमा बिहानै प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गरेका तस्बिरहरू सामाजिक सञ्जालहरूमा छरिएका थिए।

हामी नेपाली श्राद्ध गर्न खप्पिस छौँ। कर्मकाण्डहरूमा रमाउँछौँ। कर्मकाण्डहरूभन्दा माथि जान भने हामीलाई हम्मे नै पर्छ। कर्मकाण्ड आवश्यक छ तर यो नै सबैथोक होइन भनेर बुझ्न पनि आवश्यक छ। कुनै पनि नेता अथवा अगुवालाई वास्तविक श्रद्धाञ्जलि तब मात्र सम्भव छ जब हामी उनको पथलाई साँचो अर्थमा पछ्याउँछौँ।

झापाकाण्डमा २०३० सालमा जेल परेका केपी शर्मा ओली २०४४ सालमा जेलमुक्त भएपछि मदन भण्डारीसँग उनको राम्रो मित्रता रह्यो। उनीहरूबीच पहिलो भेट नै २०४४ सालमा भएको थियो। मदनले बनारसमा कम्युनिष्ट  पार्टीका संस्थापक पुष्पलालसँग भेटेपछि अध्ययनशील र कर्मशील नेताको परिचय फैलाउँदै २०३५ सालमा स्थापना भएको नेकपा मालेभित्र निकै राम्रो स्थान बनाइसकेका थिए, त्यो बेलासम्म।

जनतासँग नजिकमा रहेर काम गरेका र नेपाली माटोको आवश्यकता बुझेका मदनले नै ल्याएको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ लगातार ३३ वर्षदेखि नेकपा एमालेको सिरानीमा छ। तर, ३२ वर्ष बितिसक्दा पनि उनको निधन दुर्घटनामा भएको हो वा कुनै दुर्घटना गराइएको हो भन्ने सिधा प्रश्नको जवाफ खोज्ने हिम्मत प्रधानमन्त्री ओलीले गर्न सकेका छैनन्। ओली वा समग्र एमाले नै मदन भण्डारीको रहस्य खोतल्न दूध खाएर आँखा चिम्लेको बिरालोजसरी नै चूपचाप छ। मानौँ, ३२ वर्षअघिको त्यो साँझ एमालेका सबैभन्दा प्रभावशाली नेता मदन भण्डारी र उनका सहकर्मी जीवराज आश्रित चढेको गाडी रहस्यमय ढंगले त्रिशूलीमा खसेकै थिएन।

यो प्रश्न प्रधानमन्त्री तथा नेकपा एमालेका अगुवा केपी शर्मा ओलीप्रतिमात्र होइन। मदन भण्डारीकी अर्धांगिनी विद्यादेवी भण्डारी सात वर्षभन्दा लामो समय नेपालको राष्ट्रपति बनिन्। उनले तत्कालीन सरकारहरूलाई आफ्ना पति र नेपाली कम्युनिष्ट आन्दोलनका एक प्रतिभाशाली अगुवा मदनको मृत्युबारे छानबिन गर्न घच्घच्याइन् कि घच्घच्याइनन्?

‘जनताको बहुदलीय जनवाद’ करिब ११ हजार शब्दको एउटा जीवन्त दस्तावेज हो भन्नेमा शायदै द्विविधा होला। मदनले ३३ वर्षअघि नै औद्योगिकीकरणमा आधारित राष्ट्रिय पुँजीको विकासको परिकल्पना आफ्नो दस्तावेजमा गरेका थिए। मदनको राजनीतिक दस्तावेजमा औद्योगिकीकरण, आधुनिक कृषि र आधुनिक पर्यटनको अवधारणा थियो। प्रतिष्पर्धा र पहलकदमीलाई उनले राजनीतिको महत्त्वपूर्ण उपकरणका रूपमा हेरेका थिए।

अहिले आएर नेपाल मानवशक्ति निर्यात गर्ने मुलुकमा सीमित बन्न पुगेको छ। त्योबाहेक हामीसँग रोजगार र उद्योगको कुनै आधार छैन। आयात घटाएर राष्ट्रिय पुँजीको विकास गर्दै व्यापार घाटा कम गर्ने र अर्थतन्त्रलाई सुदृढ बनाउने कुनै उपाय सरकारसँग देखिएको छैन। नेपालमा बर्षेनी ७ लाख रोजगारको आवश्यकता छ। प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता कार्यकर्तामुखी कार्यक्रमले नेपालको रोजगारको आवश्यकता सम्बोधन गर्न सक्दैनन्। यसका लागि उद्योग, कृषि र पर्यटनमा रोजगारका ‘स्पेस’हरू बनाउनु जरूरी छ। कागजमा कोरिएको गणतन्त्र र यसका नाराले मात्र आम मानिसलाई कुनै शीतलता दिन सक्दैन।

प्रधानमन्त्रीज्यू, अब शब्द र वक्तव्यहरूमा मात्र सम्बृद्ध नेपालको नारा फलाकेर हुँदैन। यसलाई कार्यरूपमा रुपान्तरण गर्न आवश्यक छ। तपाईँ ‘डेलिभरी’ दिने ठाउँमा हुनुहुन्छ ‍। राष्ट्रले तपाईँसँग ‘डेलिभरी’को अपेक्षा राख्छ न कि अर्थहीन तुक्काहरूको। तपाईँले मौन भएर गर्ने ‘डेलिभरी’हरूको आवाज तपाईँका भाषणहरूभन्दा शक्तिशाली हुन्छन् भने तपाईँको वरिपरि तपाईँलाई भनिदिने कोही छैन?

दुर्भाग्य के छ भने मदन भण्डारी गुमेको तीन दशकभन्दा बढी समय बितिसक्दा पनि  नेपाली कम्युनिष्ट नेताहरू पद, पैसा र पावरकै दौडमा व्यस्त देखिएका छन्। एउटा गभर्नर नियुक्त गर्न ओली नेतृत्वको सरकारलाई महाभारत भएको छ।  सरकार र त्यसको नेतृत्व गरेको एमाले झिनामसिना कुरामा बढी अड्किएको छ भने शक्ति आर्जनभन्दा उसको अर्को कुनै उद्देश्य देखिएको छैन।

मदन भण्डारीले ४१ वर्षभन्दा कम उमेरमै जीवन गुमाए। उनको मृत्यु भएको दिन जेठ ३ गते उनी ४१ वर्ष पुग्न ४० दिन बाँकी नै थियो। उनीसँग निकट रहेकाहरू उनको मृत्युको कारण स्वाभाविक नरहेको र कुनै बाह्य शक्तिले उनको दुर्घटना गराएको आशंका गर्छन्। यद्यपि यसको स्पष्ट जवाफ कसैसँग छैन। बिस्तारै समय घर्किँदै जाँदा मदनको दर्शन र उपस्थिति नेपाली राजनीतिमा कम हुँदै जाला। उनको दुर्घटनाको यथार्थ खोतल्नु राज्यको कुनै प्राथमिकता नबन्ला। अहिले नै उनी फगत दस्तावेजको पानामा सीमित छन् र एमाले र अन्य कम्युनिष्ट शक्तिहरूका लागि आफूलाई भजाउने साधनमात्र बनेका छन्।

भन्नैपर्छ- वर्षको एक दिन शालिकमा माल्यार्पण गरेर उनीप्रतिको दायित्व र जिम्मेवारी पूरा हुँदैन।

प्रधानमन्त्री ओलीज्यू, तपाईँलाई सम्झना नहोला तर म सम्झिन्छु। ३३ वर्षअघि एक दिन सार्वजनिक बस चढेर बिर्तामोडबाट विराटनगर जाँदा तपाईँ र मैले सिट नपाएपछि तपाईँले उभिएरै ‘मलाई जनताको बहुदलीय जनवाद’को महत्त्व बताउनुभएको थियो। म त्यो बेला आईए पढ्दै थिएँ। किन सिपी मैनालीको ‘नौलो जनवाद’भन्दा मदन भण्डारीको ‘बहुदलीय जनवाद’ राम्रो हो भनेर मैले सोध्दा तपाईँले बुझिने गरी यसको सान्दर्भिकता व्याख्या गर्नुभएको थियो। तपाईँ त्यत्तिखेर भर्खर सांसद् निर्वाचित हुनुभएको थियो र अमेरिका घुमेर फर्कनुभएको थियो। विश्व राजनीतिमा नेपालको एउटा स्थान सुरक्षित गर्न कसरी ‘जनताको बहुदलीय जनवाद’ एउटा महत्त्वपूर्ण उपकरण बन्नसक्छ भनेर तपाईँले मलाई सम्झाउनुभएको थियो। तपाईँ एमालेको एउटा महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुन विराटनगर जाँदै हुनुहुन्थ्यो। दमक पुग्नेबेला बल्ल तपाईँ र मैले बसमा सँगैको सिट पाएका थियौँ।

त्यत्तिखेर तपाईँ सादगीपूर्ण र सरल हुनुहुन्थ्यो। मदनको बाटोको एक इमान्दार यात्री पनि। अहिले तपाईँमा त्यो इमान्दारी र सादापनाको अभाव छ भनेर नजिकबाट चिन्नेहरू भन्छन्।

प्रधानमन्त्रीज्यू, अब शब्द र वक्तव्यहरूमा मात्र सम्बृद्ध नेपालको नारा फलाकेर हुँदैन। यसलाई कार्यरूपमा रुपान्तरण गर्न आवश्यक छ। तपाईँ ‘डेलिभरी’ दिने ठाउँमा हुनुहुन्छ। राष्ट्रले तपाईँसँग ‘डेलिभरी’को अपेक्षा राख्छ न कि अर्थहीन तुक्काहरूको। तपाईँले मौन भएर गर्ने ‘डेलिभरी’हरूको आवाज तपाईँका भाषणहरूभन्दा शक्तिशाली हुन्छन् भनेर तपाईँको वरिपरि तपाईँलाई भनिदिने कोही छैन?

‘जनताको बहुदलीय जनवाद’लाई एउटा कर्मकाण्डको दस्तावेजभन्दा एउटा जीवित र राजनीतिको तात्कालीन कार्यक्रम बनाउन तपाईँले केही गर्नुहोला भन्ने मैले आश गरेको छु। सायद मदन भण्डारीलाई नजिकबाट बुझेको समुदायले पनि त्यही आशा गरेको छ। सस्तामस्ता भाषणभन्दा काम गरेर नै मदनको सपनाप्रति वास्तविक श्रद्धाञ्जलि दिन सकिनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?