कांग्रेसमा बढ्दै सरकारप्रतिको असन्तुष्टि, संसद्‌देखि पार्टीका बैठकसम्म ओलीको आलोचना

कांग्रेसमा बढ्दै सरकारप्रतिको असन्तुष्टि, संसद्‌देखि पार्टीका बैठकसम्म ओलीको आलोचना
+
-

काठमाडौँ – सत्ता गठबन्धनमा रहेका दुई दल एमाले र कांग्रेसबीच मतभेद बढ्दै गएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारप्रति कांग्रेसका नेताहरुले पार्टी बैठकदेखि संसद्‌मा पनि खुलेर आलोचना गर्न थालेका छन्।

दुई दलबीच गत असारमा भएको सहमतिअनुसार आफू कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्न तयार रहेको प्रधानमन्त्री ओलीले निरन्तर बोली रहँदा कांग्रेसभित्र भने उकुसमुकुस बढ्दै गएको नेताहरुको अभिव्यक्तिले देखाउँछ।

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसको इच्छाएको व्यक्तिलाई गभर्नर बनाउन प्रधानमन्त्री ओली मौखिक रुपमा तयार भए पनि उनले व्यावहारिक रुपमा त्यसलाई कार्यान्वयन गर्न चाहेका छैनन्।

राष्ट्र बैंककै निर्देशक गुणाकरण भट्टपछि सिफारिस समितिमै रहेका डा. विश्व पौडेल कांग्रेस कोटाबाट गभर्नर बन्न तयार भए पनि ओलीले नियुक्ति प्रक्रिया अघि बढाएका छैनन्। जसले कांग्रेसभित्र ओलीको ‘नियत’मा शंका गर्न थालेका छन्।

त्यस्तै, गैरआवासीय नेपाली संघ (एनआरएन)को आधिकारिकता विवादमा पनि कांग्रेस–एमाले आमन्ने सामन्ने भएका छन्। प्रधानमन्त्री ओलीले पार्टीनिकट बद्री केसी नेतृत्वको एनआरएनएलाई आधिकारिकता दिइरहँदा परराष्ट्रमन्त्री आरजु राणाले भने महेश श्रेष्ठ नेतृत्वको एनआरएनएको कार्यसमितिलाई मान्यता दिएकी छन्। प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले आआफ्नै पार्टी निकटको संगठनलाई बोक्दा एनआरएनए विवाद झन् कचल्टिँदै गएको छ।

वैशाख २८ गते संसद्‌बाट आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम पारित भएको छ। नीति तथा कार्यक्रम पारित भएर विनियोजन विधेयकका सिद्धान्त र प्राथामिकतामाथिको छलफलसम्म आइपुग्दा सत्तामा सँगै रहेका कांग्रेस–एमाले सांसद भने आरोप प्रत्यारोपमा उत्रिए।

वैशाख ३१ गते प्रिबजेट छलफलमा भाग लिँदै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले सरकारले आफ्नो क्षेत्रमा बजेट नदिए आएकै दिन च्यात्ने चेतावनी दिए। सिंहले भने, ‘मर्मत सम्भारको नाममा पुरानो बाटो सबै क्षतिग्रस्त गराइएको छ। बाटो असरल्ल छ। मेरो मर्यादा र संस्कारले दिँदैन। तर यसपटक पनि त्यो बाटोलाई बजेट परेन भने मैले बजेट भाषणकै दिन बजेट पुस्तिका च्यात्नुको विकल्प छैन।’

केसीले बजेट पुस्तिका नै च्यात्ने चेतावनी दिएकै भोलिपल्ट एमालेका सांसद सूर्य थापाले सरकारमा रहेका कांग्रेसका भेट्रान नेताहरु नै विपक्षीजसरी प्रस्तुत भएको भन्दै कटाक्ष गरे। उनले नेताहरुको यस्तो व्यवहारले गठबन्धन बलियो नहुने भन्दै गुनासो गरे।

थापाले केसीमाथि कटाक्ष गर्दै भने, ‘पुनारा अग्रज सांसदहरुले बजेट नआउँदै बजेट पुस्तिका च्यात्ने संसद्को रोष्ट्रमबाट प्रशिक्षित गर्ने कुरा कताकता मिलेन कि जस्तो लागेको छ। प्रधानमन्त्री ओली निर्दलीय सरकारको प्रधानमन्त्री होइन। दुई ठूला पार्टीसहित अन्य साना दलहरु मिलेर बनेको संयुक्त सरकार हो। प्रधानमन्त्री र मन्त्रीहरु मात्रै सत्तापक्ष र अरु सांसदहरु पनि प्रतिपक्ष व्यवहारले सहकार्य बलियो हुँदैन।’

ओली सरकारको कांग्रेसका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले आलोचना गर्दै आएका छन्। प्रधानमन्त्रीको ओछ्यानसम्मै बिचौलिया पुगेको भन्दै प्रधानमन्त्री ओलीको कार्यशैलीको विरोध गरेका थापा पछिल्लो समय सरकारको पक्षमा देखिँदैनन्।

थापा र शर्माले संसद्‌मा समेत सरकारका नीति कार्यक्रम, प्रिबजेट छलफलजस्ता प्रस्ताव बहिस्कार गरेका छन्। त्यसप्रति लक्षिति गर्दै एमाले सांसद थापाले भने, ‘नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथमिकताको चालु बहसमा म केही वाकपटु माननीयज्युहरु र भेट्रान नेताज्युहरुलाई सक्रिय देखिरहेको छैन। मलाई आश्चर्य लागेको छ।’

कांग्रेसका महामन्त्रीले सरकारलाई समर्थन नगरेको गुनासो एमालेले रोष्ट्रमबाटै व्यक्त गरिरहँदा छलफलमा भाग लिएका नेताहरुले भने नीति कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त र प्राथामिकताको आलोचना गरे।

कांग्रेस प्रवक्तासमेतको जिम्मेवारीमा रहेका, सभापति देउवाका विश्वास पात्र मानिने प्रकाशशरण महतले ओलीले अघिल्ला कार्यकालदेखि लगाउँदै आएको ‘सुखी नेपाली समृद्ध नेपाल’ नारा नै हटाउनु पर्ने धारणा राखे।

पूर्वअर्थमन्त्रीसमेत रहेका महतले भने, ‘सुखी नेपाली समृद्ध नेपाल भन्ने शब्दावलीबाट केही पनि हुनेवाला छैन। यद्यपि त्यसप्रति हाम्रो ज्यादै मोह भएजस्तो लाग्छ। त्यसबाट कुनै परिणाम आउनेवाला छैन।’

प्रधानमन्त्री ओलीको प्रिय नारामाथि नै सहयात्री दलका प्रभावशाली नेताबाट भएको टिप्पणीले दुई दलको असमझदारी झल्काउँछ।

कांग्रेसकै सांसद रामहरि खतिवडाले संसद्को विशेष समयमै सबै तहका पदाधिकारीले अनावश्यक सल्लाहकार राखेको र त्यसमा प्रधानमन्त्री ओलीसमेत अछुतो नरहेको बताए। सल्लाहकारहरुलाई प्रधानमन्त्रीदेखि अरु पदाधिकारीले गलत काममा प्रयोग गरेको दाबी खतिवडाको थियो।

उनले भने, ‘एउटा चर्चित काण्डमध्ये शरणार्थी काण्डको बिजारोपण गर्ने सल्लाहकार नै थिए। सल्लाहकारहरू सही ठाउँमा सल्लाह दिनेछन् कि छैनन्। सल्लाहकारहरू विचौलियाका रूपम प्रवेश गरेका छन् कि छैनन्, सल्लाहकारहरूसँग बेलुका बसेर मन्त्री प्रधानमन्त्री मात्रै होइन, राष्ट्रपतिसम्मको सल्लाहकारको कुरा गरेको हुँ।’

शनिबार बसेको कांग्रेसको संसदीय दलको बैठकमा पनि सरकारप्रति चर्को असन्तुष्टि व्यक्त भएको सांसदहरु बताउँछन्। सांसदहरु माया राई आफ्नै पार्टी सरकारमा हुँदा पनि आफूमाथि प्रतिशोध साधिएको भन्दै रोइन् भने मञ्जु खाँडले पनि श्रीमान् बालकृष्ण खाँडको हकमा उस्तै व्यवहार भएको बताइन्।

बैठकमा धारणा राख्ने सांसदहरु हृदयराम थानी, शंकर भण्डारी, सरिता प्रसाईंलगायतले गठबन्धनमा हेपिन नहुने बताए। प्रसाईंले त ‘देउवालाई किस्तीमा राखेर प्रधानमन्त्री दिन्छु’ भन्ने ओलीको भनाइमाथि नै आपत्ति जनाइन्। उनले पहिलो दलका रुपमा सरकारमा रहेको कांग्रेस निस्कदा दोस्रो दल हुने जोखिम रहेको भन्दै त्यसतर्फ गम्भीर बन्न संसदीय दलका नेतासमेत रहेका सभापति देउवाको ध्यानाकर्षण गराइन्।

‘ओलीजीले किस्तीमा राखेर प्रधानमन्त्री दिनुपर्ने हो र? कांग्रेसको आफ्नै हैसियतले प्रधानमन्त्री प्राप्त हुन्छ। किस्तीमा राखेर दिन्छु भन्दै अवमूल्यन गरेको कुरा ठीक भएन,’ प्रसाईंले भनिन्।

यस्तै, आइतबार कांग्रेसका दोस्रो तहका ६ जना नेताहरुले पनि सरकार सात बुँदे सहमतिअनुसार नचलेको निष्कर्ष निकालेका छन्। आइतबार पूर्वपदाधिकारी तहका ६ जना नेताहरुले पूर्वउपसभापति गोपालमान श्रेष्ठको निवासमा बैठक गरेर सरकार सात बुँदेको मर्मअनुसार नचलेको ठहर गरेका हुन्।

बैठकमा श्रेष्ठसहित, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरु कृष्ण सिटौला, प्रकाशमान सिंह, शंशाक कोइराला, पूर्वसहमहामन्त्री प्रकाशशरण महत सहभागी थिए। सरकारप्रति असन्तुष्टि बढिरहेका बेला सभापति देउवा निकटका नेताहरु नै संगठित रुपमा सरकारको कामप्रति असन्तुष्ट देखिनु अर्थपूर्ण छ। अझ कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री सिंहकै सहभागितामा सरकारको कामप्रति असन्तुष्टि पोखिएको हो।

सरकारप्रति संसद्‌‌देखि पार्टीका हरेक बैठकमा नेताहरु खनिन थालेपछि सभापति देउवा रक्षात्मक बन्दै गएका छन्। सरकारमै बसेर प्रधानमन्त्रीको आलोचना गर्नु दिनदिनै कांग्रेस नेताहरुका लागि सामान्य बन्दै गएका छ।

तर, गठबन्धनप्रति देउवाले अहिलेसम्म विश्वास गुमाइनसकेको उनी निकट नेताहरु बताउँछन्। देउवाको कोर टिमका एक नेता भन्छन्, ‘उहाँहरु हस्ताक्षर गर्ने दुई जना अहिलेसम्म पक्का देखिनुहुन्छ। शेरबहादुरजीलाई अब यो भएन भन्ने लागेको बेलादेखि कुरा अर्कै हुन्छ। अरुले बोलेर भएन।’

यो पनि पढ्नुहोस्

उपप्रधानमन्त्री सिंहसहित कांग्रेसका ६ नेताको निष्कर्षः सरकार सात बुँदे सहमतिअनुसार चलेन

उपप्रधानमन्त्री सिंहसहित कांग्रेसका ६ नेताको निष्कर्षः सरकार सात बुँदे सहमतिअनुसार चलेन

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’