
दाङ–लुम्बिनी प्रदेश सभामा सरकारको तर्फबाट प्रस्तुत भएको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममाथि शुक्रबारबाट औपचारिक छलफल सुरु भएको छ। छैठौं अधिवेशनको सातौं बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले छलफल अघि बढाउन प्रस्ताव पेश गर्नुभएको थियो। सोही प्रस्तावको आधारमा प्रदेश सभामा दलगत प्रतिनिधित्वको आधारमा छलफल गरिएको हो।
प्रदेश सरकारले कृषि, उद्योग, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकता दिँदै २०४ बुँदामा समेटिएको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश सभा सदस्य रत्नबहादुर खत्रीले नीति तथा कार्यक्रमले कृषिको यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरणलाई उच्च प्राथमिकता दिएको उल्लेख गरे। कृषिलाई सम्मान गर्ने वातावरण बनाएको र यसले युवा पुस्तालाई श्रमप्रति सम्मान र कृषिमा भविष्य देखाउन प्रेरित गर्ने बताएका हुन। मातृभूमि मेरो दायित्व भन्ने अभियान समावेश गरिनु सकारात्मक रहेको उनको भनाइ थियो।
प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताले नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताए। सहकार्यको अभावमा काम गर्न गाह्रो हुने उल्लेख गर्दै उनले पालिकासँगको सहकार्यले सकारात्मक सन्देश जाने धारणा राखे।
प्रदेश सभा सदस्य सुधाकर पाण्डेले नीति तथा कार्यक्रम कार्यान्वयन हुन सकेमा प्रदेशका धेरै समस्या समाधान हुने बताए। उनले उत्पादन वृद्धिका लागि रासायनिक मल, विउबिजन र सिँचाइको सहज पहुँचका लागि बजेट सुनिश्चित गर्नुपर्ने सुझाव दिए।
प्रदेश सभा सदस्य विष्णु पन्थीले प्रदेशलाई अर्गानिक बनाउने दिशामा नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र दिएको बताए। समृद्ध प्रदेश निर्माणका लागि यो प्रभावकारी हुने उनको धारणा थियो। प्रदेश सभा सदस्य रामजिप्रसाद घिमिरेले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि पर्याप्त बजेट आवश्यक रहेको बताए। बजेट अभावले उत्पादनमा वृद्धि सम्भव नहुने औंल्याए। प्रदेश सभा सदस्य निमा गिरीले कार्यक्रमले साना तथा महत्वपूर्ण योजना समेटेको बताउँदै प्रदेशमा संस्थागत स्मृति हस्तान्तरण आवश्यक रहेको सुझाव दिए। प्रदेश सभा सदस्य तारा थापाले बागवानी कार्यक्रमलाई पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने बताइन। स्वास्थ्य चौकी तथा अस्पतालहरुको जिर्ण अवस्थामा रहेको भन्दै सुधारका लागि प्राथमिकता दिनुपर्ने धारणा राखे। प्रदेश सभा सदस्य नवराज लामिछानेले स्वास्थ्य सेवा सुधारका लागि सरकारको नीति सकारात्मक रहेको बताए।
प्रदेश सभा सदस्य मिनाकुमारी श्रेष्ठले कोइलावासलाई पर्यटन नाका बनाउने विषय नीति तथा कार्यक्रममा समावेश गरिनु प्रशंसनीय भएको बताइन। सीमावर्ती क्षेत्रको विकासप्रति ध्यान दिनुपर्ने उनको धारणा थियो। प्रदेश सभा सदस्य भगवती अधिकारीले लैङ्गिकमैत्री तथा वालविवाह मुक्त प्रदेश निर्माणतर्फ नीति तथा कार्यक्रमले ध्यान दिएको भन्दै धन्यवाद दिइन। समृद्ध लुम्बिनी र खुसी नागरिकको सपना साकार पार्न ठोस योजना आवश्यक रहेको बताइन्।
प्रदेश सभा सदस्य दिपेन्द्र पुनले नीति तथा कार्यक्रमलाई केवल दस्तावेजमा सीमित नराखी कार्यान्वयनमा लैजान गम्भीर बन्नुपर्ने बताए। छलफलमा प्रदेश सभा सदस्य बसीउद्दिन खाँ, बसन्ती न्यौपाने, कन्हैया बानिया, यमुना रोका तामाङ, राजकुमार चौधरी, धनबहादुर केसी, सुरुल पुन मगरले पनि आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए। शनिबार दिउँसो १ बजे बस्ने बैठक बस्दैछ।