
बर्दिया – ओत के हो? थाहा थिएन। मात्र थाहा थियो– कर्णालीमा माछा हुन्छ। त्यो माछा मारेर खान सकिन्छ। बेच्न सकिन्छ। वर्षामा उर्ली आउने कर्णाली हिउँदमा पनि उस्तै बैंसमा उर्ली आएर बगिजान्छ समुन्द्र भेट्नलाई।
त्यही कर्णालीमा ८/९ वर्ष पहिले प्रतिमा थारु (२५) माछा मार्थिन्। थारु समुदाय यसै पनि माछामाथि आश्रित समुदाय हो। प्रतिमाले स्वाभाविक रुपमै अग्रजले मारेको देखेर माछा मार्न सिकेकी थिइन्।
कर्णालीबाट मारिलिएको माछाले उनको तरकारीको छाक टारेको थियो। बचिरहेको माछा बेचेर गर्जो पनि टरेको थियो।
कर्णाली नदीको किनारमा रहेको बर्दियाको राजापुर नगरपालिका ४ संघर्षनगरकी प्रतिमा अहिले माछाले न छाक टारेकी छिन्, न त पैसाको गर्जो नै। उनले माछा मार्न छाडेकै ८/९ वर्ष भयो।
अहिले उनी ओत च्याम्पियन हुन्। ओत जलचर प्राणी हो। ओतको प्रमुख आहारा माछा हो। प्रतिमा त्यही ओतका लागि माछा मार्न छाडेकी हुन्।
लोपउन्मुख प्राणी ओत संरक्षणका लागि प्रतिमाले तालिम लिएकी छन्। ओत संरक्षणको जानकारी भएकालाई प्राविधिक भाषामा ‘च्याम्पियन’ भनिन्छ। त्यसैले उनी अहिले ओत च्याम्पियन हुन्। ‘यो (ओत) संरक्षणका लागि आमाले थाहा पाएपछि मलाई तालिममा पठाउनु भएको हो’, उनले भनिन्।

प्रतिमा थारु नदी किनारमा ओतको निरीक्षणमा
तालिममा सहभागी भएपछि मात्र उनले ओतका बारेमा जान्न पाएकी थिइन्। उनी भन्छिन्, ‘तालिमपछि मैले ओतको बारेमा जानकारी पाएँ, अनि मलाई यो संरक्षणमा लाग्न सकारात्मक लाग्यो।’
ओत संरक्षणमा लागेपछि प्रतिमालाई माछा मार्न जान मन नै लाग्दैन। ‘अहिले गाउँलेहरू पनि त्यति धेरै माछा मार्न जाँदैनन्। सम्झाउने गर्छु मार्न हुन्न भनेर’, उनले भनिन्।
प्रतिमाजस्तै राजापुर–१ दौलतपुरका २७ वर्षीय अरुण सोनाहा पनि ओत च्याम्पियन भएका छन्। उनको विगत त माछा मारेर घर चलाउने थियो। रातिमा खुबै माछा मारेको उनी सुनाउँछन्।
ओतलाई उनले रातिमा माछा मार्दा देखेका पनि थिए। तर, संरक्षण गर्नेबारेमा थाहा पाएका थिएनन्। दुई वर्ष पहिले ओतकाबारेमा जानकारी लिएपछि उनले पनि माछा मार्न छाडेका छन्।
कुनै समय १३ केजीसम्मका माछा मारेर बेचेका उनी गाउँमा अहिले माछा मार्नु हुँदैन भन्ने सन्देश दिने गरेका छन्। ‘जिवीकोपार्जनका लागि अरु केही थिएन। कर्णाली नदी नजिक बसोबास थियो’, उनी भन्छन्, ‘घर चलाउन नदीमा माछा मारेर ३५० देखि ४०० केजीसम्म बेच्ने गर्थें। तर संरक्षणमा लागेपछि थाहा भयो त्यस्तो गर्न हुन्न रहेछ भन्ने।’
प्रतिमा र अरुणजस्तै कर्णाली नदीका ओत संरक्षणमा ४५ जना लागेका छन्। उनीहरू च्याम्पियन हुन्। उनीहरूले समुदायमा ओत संरक्षणका लागि सचेतना दिने र नदीमा हुने गतिविधिलाई निगरानी गर्ने गर्छन्।

अरुण सोनाह ओतको निरीक्षणमा
४५ जनामा २५ महिला र २० पुरुष ओत च्याम्पियन रहेको विश्व वन्यजन्तु कोषका आशिष कपालीले जानकारी दिए। ओत संरक्षणका लागि समुदायको जीविकोपार्जन तथा अभिभावकत्व सबलीकरण परियोजनाअनुसार विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र नेपाल सरकारको समन्वयमा बेलायत सरकारअन्तर्गत डार्विन इनिसिएटिभको आर्थिक सहयोग रहँदै आएको छ।
ओत स्तनधारी मांसाहारी प्राणी हो। माछा भएको ठाउँमा ओतको बासस्थान रहने गर्छ। ओतको आहारामा कमी हुन नदिन नदीमा माछा संरक्षण थालिएको हो।

क्याम्यरा जडान गर्दै विश्व वन्यजन्तु कोषका आशिष कपाली
नदीमा आश्रित समुदायलाई अन्य जीविकोपार्जनमा जोड्नुपर्ने कपाली बताउँछन्।
ओत विश्वमा १३ प्रजाति, एसियामा पाँच प्रजाति र नेपालमा तीन प्रजातिका रहेका छन्। नेपालमा खैरो र कालो ओत पाइने भएपनि कर्णाली नदीमा खैरो ओत पाइन्छ।

बर्दियामा देखिएका ओत