
राजसंस्था तथा हिन्दुराष्ट्र पुन:स्थापनाको तेस्रो दिनको सुरुमै आज प्रहरीले कम्तिमा दुई जनालाई हातपात गरी नियन्त्रणमा लिएको छ।
आन्दोलनकारीहरूले भेला हुनका लागि निर्धारण गरेको दरबारमार्गमा अघिल्लो रात नै निषेधाज्ञा जारी गरेपछि आक्रोशित युवाहरूको एउटा समूहले पूर्व निर्धारित स्थलमै जान शान्तिबाटीकाबाट त्रिचन्द्रतर्फ प्रस्थान गरेलगत्तै प्रहरीले उनीहरूलाई हातपात गरी नियन्त्रणमा लिएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य प्रदीप उदयले यिनीहरूलाई गिरफ्तार नगर्नुस् हामी निषेधाज्ञा तोड्न दिन्नौँ भनेर आग्रह गरे पनि उनलाई नै गाली गरी प्रहरीले कम्तिमा दुई जनालाई नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

धरपकड नगर्न आग्रह गर्दा राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयमाथि प्रहरीको हातपात
जेठ १५ गतेदेखि सुरु भएको आन्दोलन पहिलो र दोस्रो दिन निर्धारित शैली र सम्यम्ता र हिंसाविहीन तरिकाले सम्मपन्न भए पनि तेस्रो दिन प्रशासनले निषेधाज्ञा जारी गरेपछि त्यसले आन्दोलनकारीहरूलाई विरोधका लागि उक्साएको छ।
प्रहरीकाअनुसार तेस्रो दिनका लागि उनीहरूले छानेको स्थान आन्दोलनकारीहरूले कब्जा गर्छौँ पटक–पटक भनेको र नारायणहिटीबाट ५०० मिटरमात्र टाढा भएकाले सम्यम्ता अपनाउन र दुर्घटना हुन नदिन निषेधाज्ञा लगाइएको हो।
यसअघि राप्रपा तथा आन्दोलनका अरु घटकहरूले परिस्थितिको विश्लेषण गर्दै दरबारमार्गस्थित शालिकको सट्टा शान्तिबाटीकामा जम्मा भइ आफ्नो कार्यक्रमको सञ्चालन गर्ने निर्णय गरेको थियो।