शरणार्थी शिविरदेखि सिनेमासम्मः केदार उप्रेतीको सिनेयात्रा

शरणार्थी शिविरदेखि सिनेमासम्मः केदार उप्रेतीको सिनेयात्रा
+
-

काठमाडौँ – नेपाली चलचित्र क्षेत्रको परिचित नाम केदार उप्रेतीले आफ्नो जीवनयात्रामा धेरै उतारचढाव पार गरेका छन्। फिचर फिल्म, म्युजिक भिडियो र थिएटरजस्ता विधाहरूमा उनले राम्रो प्रभाव पारेका छन्। ‘झुपडीको पुनर्मिलन’, ‘जिन्दगी र टुक्रिएको मुटु’ ‘पर्दा छ’ जस्ता फिल्महरूले उनलाई परिचित बनायो।

बाल्यकाल र कलाप्रति आकर्षण

केदार उप्रेतीको जन्म भुटानको सुदूर ग्रामीण क्षेत्रमा भएको थियो। उनका बुबा नेपाली मूलका थिए भने आमा भुटानी। बाल्यकालदेखि नै उनले कलातर्फ झुकाव देखाए। सानैदेखि नाटक, नृत्य र साहित्यप्रति उनको गहिरो रुचि थियो। भुटानमा नेपाली संस्कृतिप्रति दमनकारी नीति रहेको कारण नेपाली भाषा, साहित्य र चलचित्र हेर्न पाउनु दुर्लभ थियो। उनले स्कूलमा भाग लिँदै गर्दा नेपाली शिक्षकहरूले गोप्य रूपमा नेपाली साहित्य पढाउने गर्थे। यसैले नै उनको नेपाली भाषाप्रति लगाव बढायो।

भुटानमा हिन्दी चलचित्रहरू मात्र प्रदर्शन गरिन्थ्यो। केदारले ‘लाहुरे’ (१९८५) जस्ता नेपाली फिल्म धेरैपटक हेरे। सोही कारण उनी अभिनयप्रति आकर्षित भए। उनको कल्पनाशील मनले पात्रहरूसँग आत्मियता बढाउँदै गयो। स्कूलको वार्षिकोत्सवमा नाटक प्रस्तुत गर्ने चलन थियो। अग्रजहरूले नाटक खेलेको देख्दा उनलाई पनि खुब नाटक खेल्न मन लाग्थ्यो। तर आफू सानै र नेपाली मूलको पनि भएकाले अवसर पाउँदैन थिए।

साथै भुटानमा नेपाली सांस्कृतिक गतिविधिहरूमा लगाएको प्रतिबन्धले उनलाई प्रष्फुटित हुन दिएन।

नेपाल आगमन र कलाको खोज


१९९० को दशकमा भुटानबाट लाखौं नेपाली मूलका समुदाय शरणार्थीको रूपमा नेपाल आइपुगे। केदार पनि आमासँग नेपाल आए। उनीहरू झापा र मोरङको शिविरमा बसोबास गर्न थाले। त्यहाँ उनले नेपाली संस्कृति र कलाको स्वतन्त्र अभिव्यक्ति देखे। शिविरमा आयोजित सांस्कृतिक कार्यक्रमहरूमा उनले नाटक र नृत्यमा सहभागिता जनाउन थाले।

केदार भुटानमा आन्दोलन सुरु नभएको भए नेपालमा शरणार्थीको रूपमा नआउने बताउँछन्। भुटानले नेपाली पढ्न मनाही गरेपछि शरणार्थी हुन बाध्य भएको उनको भनाइ छ। उनीहरुका लागि भाषा पहिचान थियो।

२००० सालमा केदारले बिर्तामोडस्थित एउटा कला संस्थामा औपचारिक अभिनय तालिम सुरु गरे। केदारसँग पढ्ने एक जना साथी जगत जेकेले विर्तामोडबाट अभिनय सिकेका थिए। उनैले केदारलाई अभिनय सिकाउँथे। स्कुलमा पनि अभिनय सिकाउने गुरु हुनुहुन्थ्यो। गुरुले २०–२५ जनाको समूह बनाएर फर्मल अभिनय सिकाउँथे। त्यसमा केदार पनि जोडिए।

त्यसबेला परीक्षा दिन विर्तामोड वा दमकमै जानुपर्थ्यो। सबै क्यामका अभिनय र नृत्य सिक्ने बेला हुँदा ५ सयदेखि एक हजार जनासम्म भेला हुन्थे।

सातवटा क्याम्पमा प्रशिक्षण लिएर उनले नाट्यकला, संवाद अभिव्यक्ति, र चरित्र निर्माणमा निपूणता हासिल गरे। यसैबीच उनले आफ्नै नाट्य समूह गठन गरेर शिविरमा प्रस्तुति दिन थाले। शरणार्थी जीवनको पीडा, आशा र संघर्षलाई नाटकको माध्यमबाट चित्रण गर्ने उनको शैलीले सराहना पायो। केदारले अभिनय सिकिसकेपछि त्यहाँ भुटानी साहित्य तथा संस्कृतिक कला केन्द्र खोली सातवटै क्याममा सिकाउने जिम्मेवारी पनि पाए।

त्यहाँ धेरै कलाकार उत्पादन भए तर त्यो बेला तिनीहरुले सिकेको कुरा प्रस्तुत गर्ने प्लेटफर्म भने पाएनन्। नेपालमा एउटा मात्र इन्ड्रष्टी भएकाले त्यहाँ जोडिन सहज पहुँच थिएन। तर केदारले लामो संघर्षपश्चात इन्डस्ट्रीमा जोडिने बाटो पच्छाउन सफल भए। उनले ‘झुपडीको पुनर्मिलन’ पछाडि ‘झुपडीको जिन्दगी’ र ‘टुक्रिएको मुटु’ चलचित्र शरणार्थीसँग सम्बन्धित कथा व्यथालाई समेटेर बनाउन सफल भए।

सिनेमा पढ्न सिलगुडी


केदार उप्रेती अभिनय र नृत्य सिक्न सिलगुडी पुगेका थिए। सन् २००३ देखि २००५ सम्म भुटानी साहित्य तथा कला केन्द्रको मेनेजमेन्टमा उनलाई स्कलरशिपमा भारत पठाइएको हो।

केदार त्यो समय एकदमै संघर्षपूर्ण रहेको बताउँछन्। उनी सिलगुडी गएर बस्न खर्च नभएपछि भारतको सरकारी स्कुलमै सुत्नुपरेको बताउँछन्।

कसरी बनेको थियो पहिलो फिल्म ?


त्यतिबेला केदार फिल्म कसरी बनाउने भन्ने उपायको खोजीमा थिए। उनले साथीहरूसँग छलफल गरी फिल्म सुरु गर्ने अठोटस्वरुप भिडियो फिल्म सुरु गरे। त्यो बेला थुप्रै साथीहरु पूर्वाञ्चलमा फिल्म बनाउँथे। उनीहरुसँग पनि चिनजान हुँदै गयो।

सन् २००३ मा उनले पहिलो चलचित्र ‘झुपडीको पुनर्मिलन’ बनाए। यो फिल्म भुटानबाट विस्थापित शरणार्थीको प्रेमकथा थियो। सीमित बजेट (नेरु ५ लाख) र अनुभवहीन टोलीले यो फिल्म बनाउनु चुनौतीपूर्ण थियो। केदारले आफै निर्देशन, पटकथा र मुख्य भूमिका निभाए। फिल्मको शुटिङ्ग शिविर नजिकैको जंगलमा भयो। प्राकृतिक प्रकाशमा दृश्य खिच्नु, सामग्रीको अभावमा सेट डिजाइन गर्नु जस्ता अवरोधहरू पार गरेर उनले यो फिल्म पूरा गरे।

२००६ मा उनले दोस्रो फिल्म ‘टुक्रीएको मुटु’ बनाए। यो फिल्ममा माओवादी जनयुद्धले प्रभावित गरेको शरणार्थी जीवनको चित्रण थियो। शुटिङ्गको लागि उनले वास्तविक माओवादी क्याम्पमा अनुमति तथा सहयोग मागे। त्यहाँका लडाकुहरूले सहयोग गरे जसले फिल्मलाई यथार्थवादी बनायो। तर, राजनीतिक सन्दर्भले गर्दा फिल्म विवादास्पद बन्यो। केही सिनेमा हलले यसलाई प्रतिबन्धसमेत लगाए।

फिल्मले शरणार्थी समुदायमा ठूलो प्रभाव पार्‍यो। तर, नेपाली चलचित्र उद्योगले यसलाई उपेक्षा गर्‍यो। केदारले आफ्नै प्रयासले फिल्म वितरण गरे। काठमाडौँको थिएटरमा प्रदर्शन भएपछि यसले सानो तर स्थायी प्रभाव छाड्न सफल भयो।

१२–१३ वटा साना र ठूला फिल्महरु बनाइ केदारले काठमाडौं छिर्ने वातावरण बनाए। तर उपत्यकामा उनी धेरै समय बस्न नपाउँदै अमेरिका जानुपर्‍यो।

अमेरिकामा पनि रोकिएन कलाको यात्रा


२००८ मा अमेरिका गएपछि उनी त्यहाँ साहित्यक संघसंस्था, संगठनहरु गजल मञ्चहरुमा आवद्ध भए जसले गर्दा फिल्मलाई निरन्तरता दिन सकेनन्। यद्यपि उनले अमेरिका गएपछि म्युजिक भिडियोहरू भने बनाइरहे। परिवार अनि आर्थिक गतिविधिमा बढी समय दिनुपर्ने भएकाले फिल्म बनाउने विषय उनले तत्काल थाती राखे। आर्थिक रूपमा सक्षम भएपछि उनले नेपाली डायस्पोराको जीवनलाई केन्द्रित गरेर फिल्म निर्माण गरे। ‘मियुङ्गा’ (२०१७) र ‘आकाशे खेती’ (२०२०) जस्ता फिल्महरूले अमेरिकामा नेपाली समुदायमा चर्चा बटुलेको थियो। उनले अमेरिकामा ‘भुटानेस फिल्म मर्चेन्ट एसोसिएसन’ गठन गरेर १५० भन्दा बढी कलाकारहरूलाई जोड्न सफलसमेत भए।

निर्देशन र सिनेमाटोग्राफीमा गहिरो रुचिका कारण उनले अमेरिकामा चार वर्ष निर्देशन र सिनेमाटोग्राफी विषय पढेका थिए।

केदार सिनेमा क्षेत्रमा नआएको भए शिक्षण पेशा अँगाल्नसक्ने बताउँछन्। ‘क्याम्पमै बसेर बोर्डिङमा पढाइरहेको हुन्थेँ होला,’ उनी भन्छन्। तर उनको सिर्जनशीलता फिल्ममै थियो।

नेपाल पुग्दा विदेशीलाई झैं व्यवहार


केदार कैलेकैले नेपाल पुग्दा आफूलाई विदेशी झैं गर्ने व्यवहारले मन निकै पोल्ने बताउँछन्। ‘एयरपोर्ट अध्यागमनमा पुग्दा भुटान लेखिएको पासपोर्ट देखाएर विदेशी सरह व्यवहार गरिन्छ। त्यो बेला नरमाइलो महसुस हुन्छ। म नेपाली हुँ भन्ने प्रमाण त बोल्दा नै बुझिन्छ, तर कानुनी कागजातले त्यो स्वीकार्दैन,’ उनी भन्छन्।

प्राविधिक चुनौती र सिर्जनात्मकता


केदारको यात्रा सजिलो थिएन। नेपालमा रहँदा उनले धेरै प्राविधिक अभावहरूसँग अल्झिरहे। पहिलो फिल्ममा उनले साधारण डिजिटल क्यामेरा प्रयोग गरे। साउन्ड डिजाइन, लाइटिङ र स्पेशल इफेक्टको लागि स्थानीय स्रोतहरूमा निर्भर रहनु पर्‍यो। उनी भन्छन्, ‘हामीले जंगलमा शुट गर्दा प्राकृतिक प्रकाशलाई क्यामेराको एंगलले क्याप्चर गर्ने प्रयास गर्थ्यौँ। राति जेनरेटर चलाएर शुटिङ गर्नुपर्थ्यो।’

उनमा फिल्मको भूत यतिसम्म सवार थियो कि अमेरिकामा पनि पर्याप्त बजेट नहुँदा फिल्म बनाउन भने छाडेनन्।

अमेरिकाको बालटिमोरमा धेरै नेपालीहरु थिए। भुटानी कमिटीबाट पनि अनिश थापाले पहिलो सिनेमा बनाएका थिए। फिल्ममात्र नभइ टन्नै नेपाली भिडियो र साना फिल्महरु पनि बन्दै गए। समुदायका भाइबहिनीहरुले चलचित्र अध्ययन गर्दै गए अनि म्युजिक भिडियो र साना फिल्ममा पनि काम गर्न थाले।

भुटानी समुदायका श्याम क्षेत्रीले पनि प्रवासी जीवन नामक चलचित्र बनाएका छन् र यो यसै वर्ष नेपाल र अमेरिकामा एकैचोटि प्रदर्शन हुँदै छ। यो ठूलो फिचर फिल्म हो। त्यसमा गेष्ट रोलमा राजेश हमालको पनि अभिनय रहेको छ।

२०१७ मा केदार र उनका भाइहरु मिलेर मियुङ्गा भन्ने फिल्म बनाए। फेरि २०२० मा आकाशे खेती भन्ने चलचित्र बनाए जसमा केदारकै लगानी छ। विभिन्न म्युजिक भिडियो आउने क्रम जारी नै छ। २०१२ देखि जम्मा २०२४ सम्ममा २ सयभन्दा बढी कलाकार म्युजिक भिडियो र सर्ट फिल्महरुमा एसोसिएट भइसकेका छन्।

प्राविधिकमा काम गर्ने र एकटिङमा काम गर्नेहरुको सङख्या २ सयदेखि तीन सय जना कलाकारहरु आवद्ध छन्। केदारले एउटा भुटनिज फिल्म मेर्कश एसोसिएसन संगठन पनि खोलेका छन्।

उनले अमेरिकामा नेपाली भाषा, संगीत र नृत्यको संरक्षणका लागि ‘भुटानेस म्युजिक एसोसिएसन’ पनि स्थापना गरे। यस संस्थाले नेपाली युवाहरूलाई सांस्कृतिक जडत्वसँग जोड्न मद्दत गर्छ।

व्यक्तिगत दर्शन र भविष्यका योजना


केदार उप्रेती आफूलाई ‘स्वतन्त्र फिल्म निर्माता’ भन्न मन पराउँछन्। उनको दर्शन स्पष्ट छ ‘फिल्म व्यापार मात्र होइन, सामाजिक परिवर्तनको साधन पनि हो।’

‘फिल्म पैसाका लागि मात्रै बनाउने होइन,’ उनी भन्छन्, ‘ओस्कार जित्ने फिल्महरुले पनि निर्माता नाफा कमाउँदैनन् तर तिनले समाजलाई केही दिन्छन्। म फिल्मलाई सन्देशको माध्यम मान्छु।’

उनले आगामी वर्षहरूमा भुटानी शरणार्थीहरूको इतिहासलाई समर्पित एउटा डकुमेन्ट्री बनाउने योजना बनाएका छन्।

उनले नेपाली युवाहरूलाई सल्लाह दिन्छन् ‘कला सिक्नुहोस्, आफ्नो कथामा विश्वास गर्नुहोस्। सफलताको परिभाषा धन मात्र होइन, समाजप्रति योगदान पनि हो।’

केदार उप्रेतीको यात्रा संघर्ष, सिर्जनात्मकता, र दृढप्रतिज्ञाको प्रतीक हो। भुटानबाट नेपाल र अमेरिकासम्मको उनको यात्राले देखाउँछ कि सांस्कृतिक पहिचान र कलात्मक अभिव्यक्तिले कसरी व्यक्तिलाई सशक्त बनाउँछ। उनको कार्य नेपाली सिनेमाको विविधता र गहिराइमा थप्ने ऐतिहासिक योगदान हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?