
धनगढी – उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिहंले कर्मचारीको गल्तीलाई लिएर मन्त्रीको राजीनामा माग्नु गलत भएकाे बताएका छन्।
प्रेस युनियन कैलालीले बिहीबार धनगढीमा आयोजना गरेकाे पत्रकार सम्मेलनमा मन्त्री सिहंले कर्मचारीले गलत गरेकै आधारमा गृहमन्त्रीको राजीनामा माग गर्ने विषय उपयुक्त नभएको बताएका हुन्।
अध्यागमनका कर्मचारीले गल्ती गरेका कारण अख्तियारले छानबिन गरिरहेको सिहंले बताए। अख्तियारको छानबिन चलिरहेकै बेला सोझै गृहमन्त्रीको राजीनामा मागेर सदन अवरुद्ध गर्नु ठीक नभएको उनको भनाइ थियो।
गृहमन्त्रीको नाम अहिलेसम्म कतै नजाेडिएकाे दाबी गर्दै उनले विपक्षी दलहरुले राजीनामा मागेकोमा आपत्ति जनाए। सदनको अवरोध हटाउन शीर्ष नेताहरुबीच छलफल चलिरहेको बताउँदै सिहंले छिट्टै सदन सञ्चालन हुने विश्वास व्यक्त गरे।
मन्त्री सिहंले हाल सरकार आफ्नो गतिमा अघि बढिरहेको बताए। कांग्रेसभित्रैबाट सरकारको विकल्प खोजिन थालेको प्रश्नमा सिहंले सरकार ठीक दिशामा अगाडि बढेको दाबी गरे।
सरकार गठनका बेला भएका सहमतिअनुसार नै नेतृत्व अगाडि बढेको बताउँदै उनले गठबन्धनबाट चलेको सरकार एक व्यक्तिले भनेजस्तै चल्न नसक्ने स्पष्ट पारे। सविधान संशोधनलगायतका विषय चरणबद्ध रुपमा अगाडि बढ्ने उनको भनाइ थियो।
सिंहले एशियाली विकास बैकंको ऋण सहयोगमा कैलाली र कञ्चनपुरमा सञ्चालित योजनाले गति लिइरहेको दाबी गरे। सोही योजनाअन्तर्गतको गोदावरी नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्रको उद्घाटन गरेका मन्त्री सिहंले धनगढीमा पनि फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्यले गति लिएको बताए।