
काठमाडौँ – न्यायाधीशलाई मोसो दलेपछि पक्राउ परेका आफ्ना नेता–कार्यकर्तालाई रिहा गर्न माग गर्दै नेकपा बहुमतले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
मान्छेलाई जिउँदै इँटा भट्टामा जलाएर हत्या गरेको आरोप लागेका नेपाली कांग्रेसका नेता आफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर वीरगञ्ज इजलासका न्यायाधीश खुशीप्रसाद थारु र अर्जुन महर्जनलाई बिहीबार नेकपा बहुमतका नेता–कार्यकर्ताले मोसो दलेका थिए।
उक्त घटनापछि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले न्यायाधीशद्वय थारु र महर्जनलाई बर्खास्त गर्न माग गरेका छन्।
सरकारले राजावादी आन्दोलनका क्रममा माइतीघरलगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। आज निषेधित क्षेत्र तोड्दै प्रदर्शन गरिएको हो। त्यस क्रममा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।
माइतीघरलाई सरकारले निषेधित क्षेत्र तोकेको भए पनि विरोध प्रदर्शन सुरु भएको धेरैबेरपछि मात्रै प्रहरी हस्तक्षेप गर्न पुगेको थियो।