
काठमाडौँ- बेड नम्बर ४०१। नाम रेबिका खत्री (२२)। त्रिवि शिक्षण अस्पताल काठमाडौँको चौथो तल्लामा करिब महिना दिनदेखि उही बेडमा उही नाम छ। रेबिका उनी हुन्, जसलाई चैत १५ गते प्रहरीले गोली हानेर तीनकुनेको भित्रि सडकमा ढालेको थियो।
त्यसयता उनको अस्पतालको बेडमा दिनरात बितिगएको छ। ४०१ नम्बर बेडमा दिनरात बिताउन सहज हुने कुरै भएन। त्यसमै रेबिकाले चैत १५ यता दुई महिनामा १० पटक शल्यक्रियाको पीडा खपिसकेकी छन्।
पीडा सहन सहज छैन। त्यही पीडा भुलाउन उनी कहिले मोबाइलमा भुल्छिन्। कहिले किताब पढ्छिन त, कहिले दाजुसँग कुरा गर्दै दिनरात कटाउँछिन्।
उदयपुर बेल्टार, सातधारेकी रेबिका काम सकेर घर फर्किनेक्रममा तीनकुने प्रदर्शनमा प्रहरीले भित्री सडकमा गोली ठोकेको थियो। प्रहरीले चलाएको गोलीले उनी सडकमै ढलेकी थिइन्। सँगै उनकै दाजु कुमार खत्री (२३) पनि प्रहरीको गोलीले ढलेका थिए।
तीनकुनेमा राजसंस्थापक्षरले प्रदर्शन गरेका थिए। तर उनीहरू दाजु–बहिनीको उक्त प्रदर्शनमा सहभागिता थिएन। कोटेश्वर क्याम्पसमा बिबिए तेस्रो वर्षमा अध्ययनरत रेबिका पसलमा काम सकेर आफ्नो कोठा फर्किँदै गर्दा गोली लागेको थियो।
दाहिने खुट्टामा गोली लागेपछि नसा फुटेको छ रेबिकाको। त्यसकै उपचारका लागि सिभिल अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल लगिएको छ। ‘दाहिने खुट्टामा गोली लागेको थियो। नसा फुटेको छ, ठुलै चोट थियो, बायाँ खुट्टाको नसा दाहिनेमा राखेको छ। तर केही समय काम गरे पनि फेरि समस्या आएपछि बहिनीलाई फेरि अस्पताल भर्ना गरिरहेका छौं। शल्यक्रिया त दुवै खुट्टाको बराबर नै भएको छ’, दाइ कुमारले भने।
डाक्टरहरूले रेबिकाको स्वास्थ्यमा राम्रो सुधार भइरहेको र अबको १५-२० दिनमा डिस्चार्ज हुन सक्ने जानकारी गराएका छन्। तर निश्चित छैनन्। ‘यति दिनमै डिस्चार्ज हुने केही छैन’, उनले भने।
रेबिका बेलाबेला मुस्कुराउँछिन्, शल्यक्रिया गरेको घाउको दुखाइलाई बिर्सँदै। उनको मुस्कान देख्दा उनका दाजु कुमार पनि मुस्कुराउँदै साथ दिन्छन्।
तीनकुने घटनाले कुमारको सपना पनि खोसेको छ। ‘म अस्ट्रेलिया पढ्न जानलाई सबै तयारी गरिरहेको थिएँ। अघिल्लो दिन मेडिकल गरेको थियो, तर अहिले जाँदा अस्वीकार गर्यो’, उनले दुखेसो पोखे।
रेबिका कहिलेकाहीँ आफ्नै बारेमा सामाजिक सञ्जालमा गलत लेखिएका कुराले दुःखी हुन्छिन्।
दाजुले उनलाई आत्म-प्रेरणादायी किताबहरू ल्याइदिएका छन्, जुन उनी पढ्छिन्।
परीक्षाको चिन्तामा रेबिका
रेबिकाको असारमा फाइनल परीक्षा छ, त्यसैले उनी बेलाबेला कोर्सका किताब पनि पढ्छिन्। तर अहिलेसम्म परीक्षा दिन पाउने वा नपाउने भन्नेबारे केही टुङ्गो नलागेको कुमारले बताए। ‘उसलाई यस्तो भयो। तर परीक्षा दिने वातावरण गराइ दिए हुने लागेको छ’, उनले चिन्ता व्यक्त गरे, ‘आफ्नो गल्तीबिना यस्तो भयो र पढाइ पनि भएन भने त यो पनि उसको लागि अन्याय हुन्छ।’
परीक्षा दिने वातावरण कसले मिलाइदिन्छ भन्नेबारे कुमार अनभिज्ञ छन्। उनी चाहन्छन्, बहिनीले अस्पतालको बेडमै भए पनि परीक्षा दिन पाओस्।
सरकारले तीनकुने घटनामा गोली लागेकी रेबिकाको उपचार खर्च बेहोर्ने भनेको थियो। गृहमन्त्रीले पनि अस्पतालमा भेटेर आश्वासन दिएका थिए। ‘हामीलाई त कसरी के हो प्रक्रिया भनेर पनि थाहा थिएन’, कुमारले भने, ‘अस्पतालमा पाइने कुरा त अस्पतालबाटै लिएका छौँ। तर बाहिरबाट पनि उपचारमा आवश्यक कुराहरू ल्याउन पर्ने रहेछ।’
सिभिल अस्पतालमा उपचारका क्रमको बिल स्वास्थ्य मन्त्रालयको लेखामा बुझाएको भनिए पनि अहिलेसम्म पैसा नपाएको कुमारले जानकारी दिए।
रेबिकाको हेरचाहमा कुमार छन्। घटना लगत्तै उनकी आमा पनि आएकी थिइन्। घटना घटेदेखि आजसम्म पनि आमा चिन्तित रहेको कुमार बताउँछन्।
अहिले पनि उनी फोनमा कुरा गर्दा रुन्छिन्, यद्यपि उनी घर फर्किएकी छन्। ‘उता पनि हेर्नु पर्यो’, कुमारले भने, ‘यहाँ बहिनीसँग म छु, भाउजु, अंकल, भाइ, बहिनी (अंकलका छोराछोरी) छौं।’