
प्राध्यापक सुवास केसीद्वारा लिखित पुस्तक ‘Impressions and Expressions’ बारे आज चर्चा गर्न गइरहेको छु। यो समीक्षा होइन, यसलाई एक सचेत पाठकको धारणाका रुपमा लिन सकिएला।
लेखकसँगको मेरो व्यक्तिगत र व्यावसायिक परिचय लगभग २ दशक भइसकेको परिप्रेक्ष्यमा केही प्रशंसा र पूर्वाग्रह अनुभूत गर्नुभएमा त्यसको दोष म लिन चाहन्छु। त्यसो त अनुसन्धानमा ‘author’s biasness’ एक स्वभावजन्य कमजोरी हो त्यो ममा नहुने कुरै भएन।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र काठमाडाैँ विश्वविद्यालय स्कूल अफ मेनेजमेन्ट गरी जीवनको ४० वर्षभन्दा बढी समय शैक्षिक नेतृत्वदायी भूमिकामा रहनुभएका केसी भीडभन्दा भिन्न व्यक्तिका रुपमा चिन्दै आएको छु।
चित्त नबुझेको कुरा प्रष्ट रुपमा अभिव्यक्त गर्ने, व्यावसायिक प्रतिबद्धतामा अडिग, मनोरञ्जन र सामाजिक घुलमिलमा त्यति सक्रिय नहुने, अनावश्यक प्रतिक्रिया गर्न नरुचाउने तर गम्भीर व्यक्तित्व प्रा केसीका मौलिक विशेषता हुन्।
ती अतिरिक्त लेखन, पठन र अध्ययनमा रम्ने, तालिम, कार्यशाला र लामो प्रवचन गर्नसक्ने प्रा केसीका वैयक्तिक विशेषता हुन्। नेपालमा व्यवस्थापन शिक्षालाई एउटा छुट्टै परिचय दिलाउन सक्षम र सफल केसीको भूमिकालाई काठमाडौँ विश्वविद्यालयको नयाँ नेतृत्वले कसरी लिन्छ, त्यो बेग्लै विषय होला। आज म त्यता जाँदिन।
प्रा केसीको Impressions and Expressions २७६ पृष्ठको अंग्रेजी भाषामा लेखिएको पुस्तक हो। व्यक्तिगत दृष्टिकोणबाट निर्मित विचार र विषयका संक्षिप्त झलकहरू प्रभाव र अभिव्यक्तिका माध्यमबाट यस पुस्तकमा मुखरित भएका छन्।
साना नेतृत्व ठूला नेतृत्वकर्ता, गोधुलीमा जीवन, छाया र सार, ह्रासोन्मुख परिणाम, शिक्षामा क्षय, व्यवस्थापन शिक्षाको व्यवस्थापन, सामाजिक व्यापकता, तपाईंको आफ्नै र मौकामै गरी नौ भागमा बाँडिएको ७८ वटा लामा–छोटा लेख समाविष्ट यो पुस्तकको अन्त्यमा सन्दर्भ सामग्रीको टिपोटसमेत भएको हुनाले यो एक विश्वसनीय र भरपर्दो पुस्तक हो भन्ने मेरो विश्वास छ।
पुस्तकभित्रका लेख आकारका हिसाबले कुनै संक्षिप्त छन् त कुनै लामा। ८७ शब्दको सबैभन्दा छोटो लेखमा बुढ्यौलीको सक्रियता अभिव्यक्त छ भने २१ पृष्ठको लेख ज्ञानको सेवामा समर्पित छ। अभिव्यक्तिलाई थोरै शब्दमा पनि अभिव्यक्त गर्न सक्नु प्रा केसीको कलात्मक चातुर्यता हो।
पुस्तकमा दर्शन छ, साहित्य छ, सिद्धान्त छ, व्यावहारिक सुझाव पनि छ। मौलिक चिन्तन छ, भविष्यप्रतिको चिन्ता छ। देश विकासको सदाकांक्षा पनि छ। त्यो सपनाका रुपमा अभिव्यञ्जित छ।
एउटा सुन्दर अभिव्यञ्जना यस्तो छः
‘नेपालका लागि मेरो सपना यत्ति छः यदि नेपाली कर्तव्यनिष्ठ भए भने नेपाल सुन्दर हुन्छ।’ त्यसैले लेखकको सपना भनेकै सुन्दर नेपाल र कर्तव्यनिष्ठ नेपालीको सहअस्तित्व हो। उहाँकै शब्दमा If Nepalis become dutiful, Nepal will be beautiful.
लेखकका लागि राजनीतिको व्यापारीकरण एक वास्तविक चिन्ता हो। पैसावाल स्वार्थहरूले निस्वार्थ भावनालाई ओझेलमा पारेका छन्। यो क्रम तीव्र हुँदै छ र यस क्रममा यसले लोकतन्त्रलाई थप विभाजित र क्षति पुर् याउनेछ।
लेखकले अभिव्यक्त गर्नुभएको एउटा महत्वपूर्ण विषय छ, व्यवस्थापकीय पक्ष (Managerialization)जहाँ राष्ट्र र यसका संस्थाहरूलाई व्यावसायिक दृष्टिकोण, उत्साह र अभ्यासका साथ व्यवस्थापन गरिन्छ, त्यो आफैँमा एउटा क्रान्ति हो र त्यस्तो क्रान्तिको लेखकले आवश्यकता महसुस गर्नुहुन्छ।
लेखककै विचारमा हामीले प्रशस्त राजनीतिक परिवर्तन देखेका छाैँ। तर, अब समय आएको छ हामीले, व्यवस्थापकीय क्रान्ति (Managerial Revolution) तय गर्नुपर्छ।
समकालीन नेतृत्वप्रति असन्तुष्ट लेखकका विचारमा संस्थाहरू खोक्रो अस्तित्वमा रमेका छन्। ती आफ्ना उद्देश्यभन्दा प्रक्रियामा रमेका छन्। र, समाजका मूल्य–मान्यता, प्रक्रिया र संरचना सकारात्मक परिवर्तनलाई उत्प्रेरित गर्नुभन्दा आफ्ना परम्परागत मियोमै घुमिरहेका छन्। ठोस परिवर्तनका यी सहायक अवस्था न धेरै परिवर्तन भएका छन् न त परिवर्तनका शक्ति नै बनेका छन्।
यहीँनेर हाम्रा समकालीन समाजका विरोधाभास र पीडा लुकेका छन्। तीन वर्षअगाडि प्रकाशित उक्त पुस्तकले उजागर गरेका विषय आजैका जस्ता लाग्छन्। नेता र नेतृत्वप्रति लेखकको आफ्नै बुझाइ छ। त्यो बुझाइसँग असन्तुष्ट हुनुपर्ने कारण देखिन्न।
संकुचित दृष्टिकोण, आत्मकेन्द्रित मूूल्यमान्यता, भूमिकाको गलत बुझाइ, कमजोर नैतिक धरातल र अव्यावहारिक अभ्यास भएका साना नेताहरूले राज गरेको समयसँग लेखकको असन्तुष्टि छताछुल्ल भएर पोखिएको छ।
सहनुपर्नेभन्दा बढी नै सहेर, भोग्नै पर्नेभन्दा पनि सायद बढी नै भोगेर यस्तो कमजोर नेतृत्वको नियन्त्रणमा छौँ भन्ने संकेत यस पुस्तकले दिएको छ।
लेखकमा रहेको स्वाभाविक चिन्ता नेतृत्वका खराब उदाहरण र गलत रोलमोडलप्रति छ, त्यस्ता उदाहरण र गलत रोलमोडल अहिले धेरै गुणा बढेर गएको लेखकको जिकिर छ। भीडबाट निर्देशित नेताप्रति लेखकको असन्तुष्टि छ।
एउटा प्रभावी अभिव्यक्ति यस्तो छः
‘हाम्रा नेता भीडबाट निर्देशित हुनेछन् भने उनीहरू नेता होइनन् र उनीहरूलाई नेता भन्नु हुँदैन अनि उनीहरूले आफूलाई नेता ठान्नुहुँदैन।’ (पृः १७)
भगवत गीताबाट समेत प्रभावित लेखक गीताको सान्दर्भिकता आज पनि देख्नुहुन्छ। कृष्णले अर्जुनलाई उत्प्रेरित गरेजसरी आजका नेतृत्वले आफ्ना कार्यकर्तालाई निर्धारित कर्तव्यबोध गराउन नसक्नु नेतृत्वको कमजोरी हो।
आजको नेतृत्व आफ्नै निर्धारित कर्तव्य -Prescribed Duty)बाट टाढा छ, उसले कसरी मातहतका अनुयायीलाई कर्तव्यबोध गराउन सक्ला ? यो अहम् प्रश्न हो।
पुस्तकमा नेतृत्वको आवश्यकता महसुस गरिएको छ भने नेताहरूको कमीचाहिँ नेपाली समाजमा नभएको स्वीकारोक्ति छ। बुझ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने हाम्रो समाजले राजनीतिमा र यसका साथै राष्ट्रिय जीवनका अन्य क्षेत्रमा पनि ‘नेतृत्वको कमी’ सँगसँगै ‘नेताहरूको बाहुल्यता’को विरोधाभासपूर्ण अवस्था अनुभूत गरिरहनेछ। यस स्थितिको सुधारका लागि लेखकका विचारमा नेतृत्व विकास आवश्यक छ।
आजको परिस्थितिलाई ध्यानमा राख्दा नैतिक मूल्य शून्यता नेतृत्व व्यवहारको मार्गदर्शक शक्ति बनेको छ, जहाँ नैतिक मापदण्ड पछाडि परेका छन्।
त्यसैगरी, अहंकार नेतृत्वको पहिचान बन्दै गएको छ, जसलाई धेरैले सम्मान गर्छन् र बारम्बार प्रदर्शन गर्छन्।
हाम्रो नेतृत्वले आफ्नो सिकाइ पर्याप्त भइसकेको ठान्छ र नेता तथा व्यक्ति दुबैका रुपमा थप विकासको आवश्यकता देख्दैन। त्यति मात्र होइन, हाम्रा नेताको विश्वास प्रणाली (faith system)मा निष्पक्षताको सट्टा कृपाले दृढतापूर्वक ठाउँ लिएको छ। यो आजको विडम्बना हो।
लेखकको जिकिर केमा छ भने, नेतृत्वको प्रभावकारी अभ्यासमा उनीहरूको अनुभवजन्य कुरा पर्यवेक्षणात्मक र आत्मचिन्तनशील तरिकामा सिकाइ सक्रियता (Learning agliity)लाई समृद्ध बनाउँछन्।
यो एक आवृतिजन्य प्रक्रिया हो। त्यसो त लेखकका विचारमा प्रभावकारी नेता बन्न धेरै कारकको भूमिका हुन्छ, एउटा मात्र कारकको बलियो प्रभाव हुँदैन।
पुस्तकमा शिक्षा तथा व्यवस्थापन शिक्षासम्बन्धी लेखले मेरो ध्यान बढी नै तान्यो। धेरै शिक्षा तर कम शिक्षित मानिस (More Education but Less Educated People) शीर्षकको लेखमा छद्म ज्ञानको चर्चा छ।
हाम्रो शिक्षा प्रणालीले निकै हदसम्म आधारविहीन प्रमाणपत्रधारीहरूको जनसमूह उत्पादन गरेको कटु यथार्थप्रति लेखकको निराशा झल्कन्छ।
लेखबाट के बुझ्न सकिन्छ भने हाम्रो शिक्षाको प्रमुख समस्या भनेको शिक्षा के हुनुपर्छ र यसले के प्रदान गर्न सक्छ भन्नेबारे विश्वासको कमी हो।
त्यसो हुनुमा मुख्यतः शैक्षिक उद्देश्य, सिद्धान्त र प्रक्रियाको सीमित र विकृत बुझाइको कारण हो।
दुर्भाग्यवश शिक्षा क्षेत्रका अधिकांश सरोकारवाला र साझेदारहरूमा सीमित स्पष्टता छ। शिक्षालाई सायद पुनर्परिभाषित गर्नुपर्ने बेला आयो कि? पुस्तक पढ्दै जाँदा त्यस्तो आभास पाइन्छ। शिक्षाको उद्देश्य के हो ? शिक्षाले के जन्माएको छ त? हरेक शिक्षित व्यक्ति र शिक्षाप्रदायक संस्थाले मनन गर्नुपर्ने प्रश्न हुन् यी।
लेखकका विचारमा जब शिक्षाले शिक्षित गर्दैन बरु अहंकार, आत्मकेन्द्रित वा सिद्धान्तहीन अभ्यासलाई बढावा दिन्छ तब त्यो शिक्षा रहन्न। त्यो योग्यता खरिद–बिक्री गर्ने बजार बन्छ अर्थपूर्ण सिकाइ अन्त्य हुन्छ अनि शिक्षा र शिक्षालय फगत अहंकार पाल्ने संयन्त्रका रुपमा काम गर्छन्। के यही हो त हाम्रो मौलिक शिक्षाको उद्देश्य र गन्तव्य? जबसम्म यी प्रश्नको इमान्दारीपूर्ण उत्तर पाइन्न, हाम्रो चेतनाको स्तर, नैतिक मूल्य, सामाजिक संस्कार र अन्ततः रुपान्तरणमा केही परिवर्तन सम्भव छैन।
अन्त्यमा, समाजका हरेक नेतृत्वदायी भूमिकामा रहेका व्यक्ति, शिक्षण संस्थाका अगुवा, राजनीतिक नेतृत्व, व्यावसायिक व्यक्तित्वले पढ्नै पर्ने पुस्तक हो Impressions and Expressions. लेखनलाई अजटिल बनाउन सक्दा र मुद्रणमा सुधार हुन सक्दा बौद्धिक पाठक मात्र होइन सर्वसाधारण जनताले पनि यस पुस्तकको सार पत्ता लगाउन सक्छन्। यस पुस्तकको नेपाली अनुवाद पनि बजारमा आएको खण्डमा सर्वसाधारण जनताका लागि पठनीय र संग्रहणीय हुनेछ।
भिडियो: