
नेपालगन्ज – चौथो गौरव स्मृति दिवसको अवसरमा बाँकेका पत्रकारको आँखा जाँच गरिएको छ। गौरव स्मृति तथा बि. योर सेल्फ फाउन्डेसनले नेपाल पत्रकार महासंघ, बाँकेसँग समन्वय गरेर पत्रकारको निशुल्क आँखा जाँच तथा चश्मा र औषधि वितरण गरेको हो।
सो अवसरमा बाँकेका १ सय ९४ जनाको आँखा जाँच गरिएको छ भने ९१ जनालाई निःशुल्क चश्मा र औषधी वितरण गरिएको छ। गौरव शाहले बि। योर सेल्फ फाउन्डेसन सञ्चालन गर्थे। चार वर्ष अघि उनको मृत्यु भएपछि उनको नामलाई जोडेर संस्था चलाइएको छ। संस्थाको संरक्षकमा प्रदीप शाह र अध्यक्ष मधु शाह छन्। संस्थाले सामाजिक र मानवीय काम गर्दै आएको छ।
आँखा जाँच अघि उद्घाटन कार्यक्रममा संरक्षक प्रदीप शाह, अध्यक्ष मधु शाह, नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष नवीन गिरी, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, समाजसेवी हरिष गुप्ता र शिवकुमार बर्माले गौरवले संस्थामा गरेको योगदानको चर्चा गरेका थिए।