
मोरङ – विराटनगरमा भएको सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ। विराटनगरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार बुधबार दिउँसो महानगरपालिका वडा नम्बर ३ मा टिपरको ठक्करबाट स्कुटरमा सवार सुन्दरहरैंचा नगरपालिकाका सुशील बजगाइँको मृत्यु भएको हो।
ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजन लम्सासका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ क ९५३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्र १–०२–०४८ प ३७८१ नम्बरको स्कुटरलाई दिउँसो करिब साढे २ बजे ठक्कर दिएको थियो।
टिपरको ठक्करबाट स्कुटरको पछाडि सवार बजगाईं घाइते भएका थिए। घाइते अवस्थामा उनलाई बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पताल उपचारका लागि पुराइएको बताएका प्रहरी निरीक्षक लम्सालले अस्पताल पुराउनसाथ चिकित्सकले उनलाई मृत घोषित गरेको बताए।
उनका अनुसार दुर्घटनालगत्तै टिपर र टिपर चालक मोरङको कानेपोखरी गाउँपालिकाका ३३ वर्षीय कूलदीप चौधरीलाई नियन्त्रणमा लिइएको छ। दुर्घटनामा स्कुटर चालक २० वर्षीय प्रितम बजगाईंलाई भने केही पनि नभएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार स्कुटरमा सवार दुवै जना बुवा छोरा हुन्।