
धनगढी – ठीक एक महिनाअघि मात्र मन्त्री बनेका सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्री कमलबहादुर शाहले निर्देशन दिएका छन्।
नाउपाबाटै मन्त्री बनेका लक्ष्मण किशोर चौधरीले अडियो प्रकरणमा राजीनामा गरेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट ४ जेठमा मन्त्रीमा नियुक्त भएका चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्रीले निर्देशन दिएको उनीनिकट स्रोतले बताएकाे छ।
स्रोतकाअनुसार मुख्यमन्त्री शाह मन्त्री चौधरीको कार्यशैलीप्रति समेत असन्तुष्ट थिए। रामेश्वर चौधरी कृषिमन्त्री भएका बेला अनुदानमा पावर टिलर वितरण गर्ने भन्दै किसानबाट रकम असुल्ने समूहसँग जोडिएको विषयलाई लिएर मुख्यमन्त्रीले राजीनामा मागेको नाउपा निकट स्रोत बताउँछ। मन्त्री चौधरीको पावर टिलर वितरणका क्रममा ५० लाख रुपैयाँ माग गरेको अडियो प्राप्त भएको स्रोत बताउँछ।
मुख्यमन्त्रीको निर्देशनपछि मन्त्री चौधरी आन्तरिक परामर्शमा जुटेका छन्। नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरुसँग उनी परामर्श गरिरहेका छन्। नाउपाका एक प्रदेश सभा सदस्यले मुख्यमन्त्रीले राजीनामा मागेको कुरा आएपनि कारण भने थाहा नभएको बताए।
पावर टिलर वितरण प्रकरणमा संलग्न कैलालीकी सुशिला खड्का सहितका केहीलाई २ हप्ता अघि मात्र पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।