
विषयप्रवेश
वैदिक-सनातन-वर्णाश्रम-धर्मका अनुयायीहरूले आआफ्ना कुलपरम्परामा पढ्दै आएका वेदशाखाका मन्त्रसंहिता, ब्राह्मणग्रन्थ, श्रौतसूत्र, गृह्यसूत्र र परिशिष्टसूत्रहरूको अध्ययन गरेर तिनैका वचनअनुसार श्रौत-स्मार्त कर्मकाण्डको अनुष्ठान गर्नुपर्ने सर्वमान्य वैदिक सिद्धान्त हो। आवश्यक पर्दा वेद-वेदाङ्गका वाक्य र प्रकरणको अर्थमा वेदोपाङ्गरूप मीमांसाशास्त्रका न्यायका आधारमा सन्देहको निवारण गर्ने व्यवस्था छ। आफ्ना वेदशाखाका सूत्रका विधानसित नमिल्ने अर्कैका वेदशाखाका विधानसित मिल्ने स्मृति-पुराणका वचनहरूचाहिँ अनुसरणीय हुँदैनन्। आफ्ना वेदशाखाका ग्रन्थहरूमा भएका र मीमांसान्यायबाट निर्णय हुने विषयमा अरू ग्रन्थलाई वा अनिर्ज्ञातमूल (मूल थाह नभएका) अरू वचनलाई आधार मान्न मिल्दैन। तिनले भनेअनुसार धर्मकर्म गर्न हुँदैन। यो कुरा बुझेर सबै सदाचारी विद्वान् ब्राह्मणहरूले धर्मशास्त्रीय निर्णय र कर्मकाण्डीय अनुष्ठानका निम्ति सर्वप्रथम स्वशाखाका ग्रन्थहरूको अनुशीलनमा लाग्न उचित हुन्छ। २०८१।६।५ मितिमा यसै पत्रिकामा प्रकाशित सोह्रश्राद्धमा दैवपूर्व कर्म भन्ने शीर्षकका लेखमा आफ्ना वेदशाखाका अनुकूल कर्मकाण्डपद्धतिका विषयमा राम्ररी प्रकाश पारिसकिएको छ। यस लेखमा चाहिँ अग्निसंस्कार वा दाहसंस्कारका विषयमा र शवदाह गर्दा शवको शिर कुन दिशातर्फ पार्ने भन्ने विषयमा विवेचना गर्न खोजिएको छ।
शवदाहको व्यवस्था
“वैदिक धर्म मूल रूपमा” भन्ने हाम्रा पिताजीले लेख्नुभएका ग्रन्थमा प्रमाणवचनहरूसमेत दिएर यस विषयको राम्ररी विवेचना गरिएको छ। त्यहाँ उल्लिखित विषयहरूमध्ये केही विषय सान्दर्भिक देखिएकाले यहाँ जस्ताको तस्तै (त्यहाँका लेखाइको हिज्जे पनि परिवर्तन नगरीकन) उद्धरण गरिन्छ–
“शवदाह गर्ने ठाममा दुधालु तृण-वृक्षहरु भए तिनलाइ उखेलेर दुबो-मुँज-अश्वगन्धा-पृश्निपर्णी-अध्याण्डाहरु पनि उखेलेर ठाम बनाइ मृतक श्रौताग्निमान् भए तेइँ वितान बनाएर भूसंस्कार गरि अग्निहरु यथास्थान राखि गार्हपत्यका र आहवनीयका बिचमा काठहरुको पूर्व-पश्चिम लमाइ भएको चिता बनाउन पर्छ। मृतक गृह्याग्निमान् मत्रै भए उक्त प्रकारले ठाम बनाइ यथास्थान भूसंस्कार गरि गृह्याग्नि स्थापित गरि गृह्याग्निका उत्तरपट्टि गृह्याग्निका समीपमा शवशिर पर्ने गरि काठको पूर्वपश्चिम लमाइ भएको चिता बनाउन पर्छ। मृतक श्रौताग्नि-गृह्याग्नि कुनै पनि अग्नि नभएको भए पनि उक्त प्रकारले ठाम बनाइ यथास्थान भूसंस्कार गरेर समिद्-योजन गरि लौकिकाग्निज सन्तापाग्नि स्थापित गरेर तेसका समीपमा शवको शिर पर्ने गरि तेस अग्निका उत्तरपट्टि पूर्वपश्चिम लमाइ भएको चिता बनाउन पर्छ। अनि आवश्यकतानुसार शवको केश-श्मश्रु-(दारिजुँगा)-नख-लोम-निकृन्तन गरेर (केशादि-निकृन्तन-निमित्तक स्नान पनि गराइ) दुइ अहत वस्त्र पैराइ निकृत्त (काटिएका) केशादिलाइ भैँमा गाडि (शवलाइ घिउले लिपेर) पूर्वतिर शिर पारि शवलाइ उत्तानो पारेर चितामा चडाइ शवका शिरका सातोडा प्राणायतनमा एकएकओटा सुनका टुक्रा राखि सुनका टुक्रा नभए घिउका थोपा हालि मृतक श्रौताग्निमान् भए शवका अङ्गहरुमा जुहू-प्रभृति यज्ञपात्रहरु यथाविधि राखेर गार्हपत्यादि तिनोटै अग्निमा चितामा आगो सल्कने गरेर इन्धन थपि अग्निहरु समिद्ध गरेर शवदाह गर्ने र मृतक गृह्याग्निमान् मत्रै भए अङ्गहरुमा यथोचित पात्रहरु राखि गृह्याग्निलाइ नै समिद्ध गरेर शवदाह गर्ने तथा श्रौताग्निज अग्निहरुले वा गृह्याग्निले शवस्पर्श गरेपछि मन्त्र पडेर घृताहुतिहवन गर्ने, मृतक श्रौत-गृह्य कुनै पनि अग्नि नभएको भएमा यथाविधि यथास्थान प्रणीत लौकिकाग्निज-सन्तापाग्निमा इन्धन थपि त्यो अग्नि चितामा दक्षिणतिरबाट शवका मुखनेर सल्कन लाग्दा अग्निले शवस्पर्श गरेपछि मन्त्रको उच्चारण नगरिकन पुत्त्रले वा भ्राताले वा अरु कुनै ब्राह्मणले घृताहुति दिने गरेर शवदाह गर्न पर्छ। अग्नि दिनेले नै दस दिनसम्मको पिण्डदानादि काम गर्न पर्च भन्ने स्मृतिकारादिको र रेणुदीक्षितको पनि उक्ति छ। पञ्चकमा शवदाह गर्न हुँदैन, गरेमा विशेष विधि गर्न पर्छ भन्ने कुरा गरुडपुराणमा छ (२।३५।१७-२८)। कुकुर-बिरालाले वा अन्त्यजादिले छुनाले वा उच्छिष्ट हुनाले वा अपमृत्युले शव दूषित भएमा तेसको पञ्चगव्यले शुद्धि गरि प्रायश्चित्त समेत गरेर शवदाह गर्ने विधान छ (निर्णयसिन्धु, पृ.४०२)। दाह गरेर केइ हाडहरु बाएक शव पूर्ण रूपमा भस्म भएपछि चितातिर नहेरिकन उदककर्मका लागि (चितालाइ देउरेतिर पारेर) जाने विधान छ। आत्महत्या गर्नेहरुको र महापातकिहरुको शव त प्रायश्चित्त गरि क्रिया गर्ने व्यक्ति नभएमा जलाउन हुँदैन। नदीमा वा समुद्रमा वा कुनै ठुला जलाशयमा फालिदिन पर्च भन्ने शास्त्रव्यवस्था छ। मुख्य महापातकिहरुको त आर्काले गरिदिएर प्रायश्चित्त पनि हुँदैन भन्ने पनि मुनिमत देखिञ्च। प्रायश्चित्त गर्दा वैदिकहरुले कृच्छ्रादिरूप नै प्रायश्चित्त गर्नि हो, वैष्णवहरुले मात्र नारायणबलिहरु गर्नि हो। नारायणबलि वैष्णवहरुको विशिष्ट धर्म हो भन्ने कुरा वैष्णव-वृद्धहारीतस्मृतिमा पनि भनिएकै छ (स्मृतिसन्दर्भ, पृ.११३८)।
शवदाहका विषयमा नेपालि ब्राह्मणहरुमा प्रचलित सत्यधरसूनु रामोपाध्यायले बनाएको भनिएको पद्धति र तेस्तै अरु पद्धतिहरु पनि अल्पज्ञहरुले थपघट सम्पादन गरेका र अर्थलोलुप पुँजिपति व्यापारिले छापि बेचेका हुनाले तिनमा धेरै अपरिष्कृतता देखिञ्छ। संस्कृत-विश्वविद्यालयबाट प्रकाशित कर्मकाण्डभास्करमा परेको ‘महापण्डित’ दधिराम मरासिनिले सारेको रामोपाध्यायका अन्त्यकर्म-पद्धतिको पनि गति तेस्तै देखिञ्छ। रुद्रधरका श्राद्धविवेकमा पनि स्वशाखाका प्रतिकूल कुरा धेरै नै देखिञ्छन्। नित्यानन्दपर्वतीयको अन्त्यकर्मदीपक पनि कात्यायनश्रौतसूत्र-पारस्करगृह्यसूत्रको पूर्ण रूपमा अनुकूल नहुनाले माध्यन्दिनीय-वाजसनेयि-शुक्लयजुर्वेदशाखाध्यायिहरुका लागि पूर्ण रूपमा अनुसरणीय त देखिँदैन। माथि लेखिएको विधान कात्यायनश्रौतसूत्र-पारस्करगृह्यसूत्रमा प्रतिपादित विधानको अनुकूल विधान हो। एसमा विद्वान्हरुले राम्रो विवेक गर्नु अत्यावश्यक देखिञ्छ।
शवदाहयोग्य कसैको मृत्यु भएको निश्चय भएकामा वा गरिएकामा शव नपाँइँदा पर्णशरदाह वा कुशप्रतिकृतिदाह गरेर और्ध्वदेहिक कर्म गर्न पर्च। एस्तो दाह भएको दिनलाइ नै मृत्युतिथि वा क्षयाह मानेर सबै और्ध्वदेहिक कर्म र श्राद्ध गरिञ्छ।
विदेश गएर हराएको १२ वर्षसम्म वा १५ वर्षसम्म वा २० वर्षसम्म पनि जीवित भएको कुनै सूचना वा सङ्केत प्राप्त नभएको व्यक्तिको पनि अधिकारि व्यक्तिले पर्णशरदाह वा कुशप्रतिकृतिदाह गरेर और्ध्वदेहिक कर्म गर्न पर्च। एस्तो पर्णशरदाह वा कुशप्रतिकृतिदाह गरेकामा कर्तालाइ पुरै र सपिण्डलाइ (दाजुभाइलाइ) तिन दिन जुठो लाग्छ (निर्णयसिन्धु, निर्णयसागरमुद्रणालय, पञ्चम संस्करण, पृ.३०७)।
हराएको र मृत्युदिन अनिश्चित भएको व्यक्तिको शव भेटिएमा शवका अवस्थाका विचारले शव कुय्येको भए र दसदिनभित्र भए हराएकै दिनलाइ, अथवा अन्तिम पटक कसैले जीवित देखेका दिनलाइ, शव नकुय्येको भए शव भेटिएको दिनलाइ, शव कुय्येको र हराएको दसदिनभन्दा धेरै दिन भएको भए र हराएका दिनमा नै मृत्यु भएको भन्ने निश्चय हुन नसक्ने अवस्था भए अन्तिम पटक कसैले जीवित देखेका दिनलाइ वा शव देखिएको दिनलाइ नै मृत्यु भएको दिन मानि शवदाहादि और्ध्वदेहिकक्रिया गर्न पर्छ। एस विषयमा निर्णयसिन्धुका श्राद्धप्रकरणमा क्षयाहाऽज्ञान भएकामा गरिएको निर्णयलाइ (निर्णयसागर-मुद्रणालय, पञ्चम संस्करण, पृ.३३७) पनि विचारमा राखेर और्ध्वदेहिकक्रिया गर्न पर्छ।
घर जल्नु, घर भत्किनु, बाडिपैरोमा पर्नु, यानदुर्घटनामा पर्नु इत्यादि कारणले अनेक सपिण्डहरुको एकै समयमा मृत्यु भएमा पनि प्रत्येकको अग्निसंस्कार (शवदाह) छुट्टाछुट्टै विधिपूर्वक गर्न पर्च। प्रेतपिण्डदान पनि सके छुट्टाछुट्टै व्यक्तिले छुट्टाछुट्टै डिकुरो उठाएर गर्न पर्च। तेसरि छुट्टाछुट्टै व्यक्तिले छुट्टाछुट्टै डिकुरो उठाएर गर्न नसके एकै जानाले पिण्डको भात एकै पटक पकाएर एउटै डिकुरामा ज्येष्ठताक्रमले र निकटताक्रमले एउटालाइ विधिपूर्वक पिण्ड दिएर पिण्ड सेलाइ तेसै डिकुरालाइ साफ गरि गोबरले पोतेर वा पाँनिले पखालेर स्नानै गरेर वा शिरोभिषेक गरेर तेसै डिकुरामा आर्कालाइ पिण्ड दिने काम गर्न पर्च। यो कुरा सँगै मृत्यु भएकाको श्राद्ध गर्ने विषयका वचनहरुबाट र तिनका व्याख्याबाट बुजिञ्च” (वैदिक धर्म मूल रूपमा, शिवराज आचार्य कौण्डिन्न्यायन, तृ.सं.२०८०, पृ. ८९६–८९९)। यस सङ्क्षिप्त विवेचनाबाट पनि अग्निसंस्कारको वैदिक शास्त्रीय स्वरूप वा पद्धतिको आकलन गर्न केही-न-केही सहायता पुग्ने देखिन्छ।
शवदाह गर्दा शवको शिर कुन दिशातिर पार्ने ?
शवदाह गर्दा शवको शिर कुन दिशातिर पार्ने भन्ने विषयमा वेलावेलामा प्रश्न उठ्ने गरेको छ। यस सन्दर्भमा उत्तरतिर शिर पार्ने कि दक्षिणतिर शिर पार्ने भनेर सन्देह उठाइएको देखिन्छ। धेरैजसो नेपालीले उत्तरतिर शिर पारेर शवदाह गर्ने गरेको व्यवहारमा देखिन्छ। तर वेदशाखाअनुसार भिन्नभिन्न व्यवस्था श्रौत-स्मार्त कर्मकाण्डमा हुने हुनाले हामीले आफ्नै वेदशाखाका कल्पशास्त्रले देखाएअनुसार नै शवदाह गर्नुपर्ने हुन्छ। यो कुरा धेरैजसो व्यक्तिले बुझ्नै पाएका छैनन्। कसैले त शुक्लयजुर्वेदी कात्यायनको नाम लिएर पनि दक्षिणतर्फ शिर पार्ने भनेको समेत देखियो। तर त्यो कुरा गलत हो।
शुक्लयजुर्वेदीले शवको शिर पूर्वतिर पार्नुपर्ने कुरा शतपथब्राह्मणमा र कात्यायनश्रौतसूत्रमा स्पष्ट शब्दमा बताइएको छ। साथै अन्य ग्रन्थमा पनि पूर्व शिर पार्ने कुराको उल्लेख पाइन्छ। जस्तै–
अथैनमन्तरेणाग्नीँश्चितिं चित्वा कृष्णाजिनमुत्तरलोम प्राचीनग्रीवं प्रस्तीर्य तस्मिन्नेनमुत्तानं निपाद्य। (मावाशुयवे.शतपथब्राह्मण १२।५।२।७)
चितावेनमादधाति कृष्णाजिनमास्तीर्य प्राक्शिरसम्। (कात्यायनश्रौतसूत्र २५।७।१९)
चित्यां प्राग्ग्रीवमास्तीर्याऽजिनमुत्तरलोमकम्।
तस्मिन् प्राक्शिरसं प्रेतमुत्तानं विनिपातयेत्।। (रेणुदीक्षितकृत-गृह्यकारिका, पृ.१६२)।
श्रोत्राक्षिनासावदनं सरुक्मं कृत्वाऽजिने प्राक्शिरसं निधाय।
सञ्चित्य पात्राणि यथाविधानमृत्विग् जुहाव ज्वलितं चिताग्निम् ।।(भट्टिकाव्य ३।३५)
तसर्थ निर्णयसिन्धुमा वा गरुडपुराणमा भनेका कुराबाट मात्र बहकिएर शुक्लयजुर्वेदका अनुयायीहरूले शवको शिर उत्तर वा दक्षिणतिर पारेर शवदाह गर्न हुँदैन। आफ्ना वेदमा र सूत्रग्रन्थमा पढिएका उपर्युल्लिखित वचनहरूको अर्थ बुझेर शवको शिर पूर्वतिर पारेर शवदाह गर्न पर्छ।
निर्णयसिन्धुमा वा गरुडपुराणमा भनेका कुराबाट मात्र बहकिएर शुक्लयजुर्वेदका अनुयायीहरूले शवको शिर उत्तर वा दक्षिणतिर पारेर शवदाह गर्न हुँदैन। आफ्ना वेदमा र सूत्रग्रन्थमा पढिएका उपर्युल्लिखित वचनहरूको अर्थ बुझेर शवको शिर पूर्वतिर पारेर शवदाह गर्न पर्छ।
पारस्करगृह्यसूत्रमा “अनाहिताग्नेर् नवप्राशनम्” (३।१।१) भनी नवान्नप्राशनको अनाहिताग्निका (अग्न्याधान नगरेका व्यक्तिका) निम्ति छुट्टै विशेष विधि बताइएको छ। अनि उदककर्ममा (अन्त्येष्टिमा) चाहिँ संशय नहोस् भनेर “यद्युपेतो भूमिजोषणादिसमानमाहिताग्नेरोदकान्तस्य गमनात्” अर्थात् उपनयन भएका मृतकको भूमिजोषण(भूमिसंस्कार)देखि उदकाञ्जलिदानसम्मका कार्यहरू आहिताग्निको झैँ नै गरोस् (३।१०।१०) भनिएको छ। पारस्करगृह्यसूत्रमा यसपछिका कुनै पनि सूत्रले शवशिरको विशेष दिशानिर्देश गरेको छैन। अतः पारस्करगृह्यसूत्रको यसै उल्लेखबाट नै कुन दिशातर्फ शवशिर पार्ने भन्ने विषयमा आहिताग्नि र अनाहिताग्नि (अग्निहोत्री र अनग्निहोत्री) दुवै थरीका निम्ति कात्यायनश्रौतसूत्रकै विधान अनुसरणीय हो भन्ने कुरा स्पष्ट हुन्छ। यसरी कात्यायनश्रौतसूत्र र पारस्करगृह्यसूत्रका मूल सूत्रका विधानबाट नै आहिताग्नि र अनाहिताग्नि दुवैथरीको शवको शिर पूर्वतिर पारेर नै दाह गर्ने हो भन्ने कुरा निश्चित रूपमा ज्ञात हुन्छ। अतः “निरग्निक शुक्लयजुर्वेदीले छन्दोगपरिशिष्टको तत्रोत्तानं निपात्यैनं दक्षिणाशिरसं मुखे भन्ने वचनलाई नाघेर अन्यत्र लाग्न हुँदैन” भन्ने व्यक्तिको कुरा सर्वथा स्ववेदशाखा-व्यवस्थाको विरुद्ध हो। छन्दोगपरिशिष्ट भनेको शुक्लयजुर्वेदीहरूको हैन सामवेदीको हो भन्ने मात्र पनि पत्तै नपाउने, पारस्करगृह्यसूत्रसम्म पनि छिचलेर नपढेका वा पढेकै भए पनि बुझ्न सक्ने योग्यता नभएका तथा मूल कात्यायनस्मृति कुन हो भनेर पनि नचिनेका त्यस्ता व्यक्तिले स्वशाखाश्रुतिसूत्रको उल्लेख गरेर साधारण अपठित लोकलाई भ्रममा पार्ने गरी शास्त्रविरुद्ध निर्णय दिनु सर्वथा अनुचित कार्य हो। यस्ता कार्यबाट धर्ममा हानि पुग्ने देखिन्छ। त्यस्ता व्यक्तिले आफ्ना अल्पज्ञानले धेरै ठाउँमा शुद्धलाई अशुद्ध र अशुद्धलाई शुद्ध भनेको पनि देखिन्छ। साथै शास्त्रज्ञ विद्वान्ले राम्ररी कुरा बुझाउँदा र शास्त्रविपरीत कुराको खण्डन गरी शास्त्रसम्मत पक्ष देखाइसक्ता समेत त्यस कुरालाई बुझेर ग्रहण गर्न नसकेर शास्त्रसम्मत प्रतिपादनकै आलोचना गरेर शास्त्रविरुद्ध निर्णय दिनतिर लागेको समेत देखिन्छ, यो त्यस्ता व्यक्तिको ठुलो कमजोरी र दुराग्रहसमेत हो भन्ने बुझिन्छ। शास्त्रको रोहरित र कुन ग्रन्थ कुन वेदशाखासित सम्बद्ध हो भनेर नबुझ्दा उल्टो धारणासमेत बन्न पुग्ने रहेछ।
वेदवेदाङ्गका भारतवर्षभरिकै विशिष्ट विद्वान् हाम्रा पिताजीले त सबैथरी वैदिक शास्त्र छिचलेर पढी यस विषयमा अरूका प्रतिपादनको समालोचना गर्दै यस्तो निष्कर्ष दिनुभएको छ–
कमलाकर भट्टले आफू आश्वलायनीय-ऋग्वेदशाखाध्यायी हुनाले माध्यन्दिनीय-वाजसनेयि-शाखाका ग्रन्थहरूको र कात्यायनस्मृतिको विधानको राम्रो विषयविवेक गर्नतिर नलागी निर्णयसिन्धुमा (पृ.४०६) “पात्रन्यासोक्तेरुत्तानदेहत्वं साऽग्निपरम्। निरग्निस्तु पुमानधोमुखः स्त्री तूत्ताना दाह्या” भन्ने आदित्यपुराण-वचनमूलक शुद्धितत्त्वकारादिको सिद्धान्त देखाई “उत्तरशिरस्त्वं सामगेतरपरम्” भनी (पृ.४०६) छोडिदिएकाले धर्मशास्त्री र पण्डितहरूमा भ्रम फैलिएको छ। स्वशाखाग्रन्थ छाडी “तत्रोत्तानं निपात्यैनं दक्षिणाशिरसं मुखे” भन्ने छन्दोगपरिशिष्टका वचनका भरमा पद्धति देखाउने (सर्खारी पाठ्यपुस्तक कर्मकाण्ड कक्षा ९-१० द्वितीय संस्करण, २०४७, भाग-२, पृ.२०५) वेदाचार्य कर्मकाण्डी पण्डित दामोदर कोइरालाबाट र संस्कृत-विश्वविद्यालयका तथा सर्खारी पाठ्यक्रम-विकास-केन्द्रका आजसम्मका अरू लेखक-सम्पादकहरूबाट पनि भ्रमै फैलाउने र धर्मानुसरणको वैदिक मूल मार्गमा घसेटा फाल्ने वा भाँजा हाल्ने नै काम भएको देखिन्छ। हरिहर-विश्वनाथहररूले पनि केबाट बहकिएर हो यस विषयमा स्वशाखीय शुद्धप्रयोग-पद्धति देखाउन नसकेको पाइन्छ (पारस्करगृह्यसूत्र, भाष्यपञ्चकयुक्त, पृ.३७३, ३७९)। कात्यायन-श्रौतसूत्रको (२५।७।१९) कर्कका व्याख्यामा र विद्याधर गौडको सरला-व्याख्यामा भने शवको शिर पूर्वतिर गर्ने कुराको स्पष्ट प्रतिपादन पाइन्छ। रेणुदीक्षित-कृत कातीय-गृह्यकारिकामा पनि यो कुरा स्पष्ट छ ।
(द्रष्टव्य– वैदिक धर्म मूल रूपमा, शिवराज आचार्य कौण्डिन्न्यायन, तृ.सं.२०८०, पृ. ८९६, टिप्पणी)।
उहाँले आफूले रचना गरेका अन्त्यकर्मपद्धतिमा (२०६५) पनि पूर्व शिर पारेर नै शवदाह गर्ने पद्धति देखाउनुभएको छ (अन्त्यकर्मपद्धति, रत्नपुस्तक भण्डार, २०६५, पृ. ३२३, ३३०, ३३२)।
कात्यायनकृत सामेवेदीय छन्दोगपरिशिष्ट
छन्दोग-शब्दको अर्थ सामवेदी हो र सामवेदीहरूको एउटा परिशिष्टग्रन्थ छन्दोगपरिशिष्ट (कर्मप्रदीप) पनि हो भन्ने कुरामा कुनै सन्देह छैन। यस ग्रन्थको सामवेदसितको सम्बद्धता यस ग्रन्थमा प्रतिपादित विषयहरूबाट नै पनि सजिलै बुझ्न सकिन्छ। शब्दकल्पद्रुम भन्ने संस्कृतशब्दकोषमा छन्दोगपरिशिष्ट-शब्दमा “कात्यायनमुनिकृतं सामवेदि¬कर्मबोधक-¬गोभिलसूत्राणां परिशेषशास्त्रम्” भन्ने उल्लेख पाइन्छ। त्यसै गरी वाचस्पत्यम्-नामको संस्कृतशब्दकोषमा पनि “गोभिलपुत्र-कात्यायनेन च कर्मप्रदीपाख्यं छन्दोगपरिशिष्टरूपं प्रणीतम्” भनिएको छ। संस्कृतवाङ्मयमा धेरै कात्यायनको अस्तित्व रहेको छ।
याज्ञवल्क्यकी पत्नी कात्यायनीका पुत्र कात्यायन शुक्लयजुर्वेदका श्रौतसूत्रकार र परिशिष्टकार हुन्। यिनै कात्यायन शुक्लयजुर्वेद-प्रातिशाख्यका पनि रचयिता मानिन्छन्। अर्का कात्यायन सामवेदका गृह्यसूत्रकार गोभिलमुनिका छोरा हुन्, जो छन्दोगपरिशिष्टका रचयिता हुन्। सामवेदकै कल्पशास्त्रको ग्रन्थ प्रतिहारसूत्रका रचयिता पनि तिनै कात्यायन हुन्। अर्का कात्यायन पाणिनीय व्याकरणका वार्तिककार वररुचि हुन्। अतः “कात्यायनकृत छन्दोगपरिशिष्ट शुक्लयजुर्वेदीय ग्रन्थ हो, कात्यायन त कसरी सामवेदी हुन सक्छन् र? सक्तैनन्” भन्ने व्यक्तिमा संस्कृतवाङ्मयको सामान्य ज्ञान मात्र पनि नभएको, कात्यायन केवल एक छन् र ती शुक्लयजुर्वेदी मात्र हुन् भन्ने गलत बद्धमूल धारणा भएको देखिन्छ। वस्तुस्थितिचाहिँ माथि उल्लेख गरेअनुसारकै हो।
उपसंहार
उक्त विवेचनाबाट शुक्लयजुर्वेदीहरूले आफ्ना वेदशाखाका ग्रन्थहरू चिनेर तिनको राम्ररी अध्ययन गरी तदनुसार नै श्रौत-स्मार्त कर्मकाण्ड गर्नुपर्ने र भ्रमात्मक शास्त्रविपरीत कुराहरूको पछि लाग्न नहुने निष्कर्ष निस्कन्छ। साथै दाहसंस्कार गर्दा आहिताग्नि र अनाहिताग्नि दुवैथरी व्यक्तिकै शवको शिर पूर्वतिर पार्नुपर्ने कुरा पनि स्पष्ट हुन्छ।