
जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा), नेपालका मधेस प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले मधेस सरकारले प्रदेशलाई कंक्रिटको प्रदेश बनाउन खोजेको आरोप लगाएका छन्।
मधेस सरकारले बजेट ल्याएपछि बुधबार बसेको पहिलो बैठकमा छलफलमा भाग लिँदै यादवले मधेस सरकारको ध्यान प्रदेशलाई कंक्रिट प्रदेशको रुपमा विकास गरिरहेको टिप्पणी गरे। यादवले सरकारको नीति तथा कार्यक्रम हेर्दा कृषि केन्द्रित देखिएपनि बजेट आएपछि त्यो कृषि, शिक्षा, स्वास्थ्य केन्द्रित नभई कंक्रिट केन्द्रित रहेको बताए।
‘बजेटको आकार बढ्यो करिब साढे ३ अर्ब बढ्यो तर प्रदेशको जनताको सोँच थियो नीति तथा कार्यक्रमको हिसाबले बजेट विनियोजन हुन्छ’, उनले अगाडि भने, ‘तर सरसरी हेर्दा नीति तथा कार्यक्रमले दिएको गाइडलाईन स्पष्ट थियो। कृषिमा रुपान्तरण हुन्छ, त्यसपछि शिक्षामा, त्यसपछि पर्यटनमा पनि रुपान्तरण हुन्छ। सरकारको प्रोजेक्ट सिधा कृषि केन्द्रीत भएको देखिन्थ्यो तर जब बजेट वक्तव्य आयो शिक्षामा बजेट कति रु ३ अर्ब ५७ करोड, कृषिमा कति करिब करिब पौने ३ अर्ब, पर्यटनमा ३ अर्ब ८ करोड।’
प्रमुख सचेतक यादवले अहिले जलवायु परिवर्तनको कुरा विश्वभर भइरहेको भन्दै अहिले विश्वभर जलवायु परिवर्तन भएको बताउँदै भने, ‘विदेशमा जलवायु परिवर्तनको अन्तरष्ट्रिय कन्फ्रेसमा गएर हस्ताक्षर गरेर आउँछ कि हामी वातावरणमैत्री विकासको काम बढाउँछु, एसडिजीको जुन गोल छ त्यो पुरा गर्छु तर मधेस प्रदेश यो गोललाई सिधा प्रहार गर्छ।’
‘कंक्रिट निर्माणको लागि १५ अर्ब ८८ करोड रु यो प्रदेशलाई कुन ठाउँमा लग्दै हुनुहुन्छ रु त्यो कंक्रिट निर्माण पनि अनप्लान। सांसदको योजना त लिनु नै भएको छ, यसमा सांसदभन्दा बढी विचौलियाको योजना छ’, उनले भने।
जटही देखि जनकपुरसम्म र भिट्टामोडदेखि जनकपुरसम्म कंक्रिट निर्माण हुने र त्यसमा मिथिला चित्रकला बनाउनको लागि डिपिआर गर्न बजेट विनियोजन गरिएको भन्दै उनले भने, ‘खुलेआम पैसा खाने तपाईको मनसाय हो, यो स्पष्ट हुन्छ। प्रदेशलाई कहाँ लग्दै हुनुहुन्छ? ’ यादवले मिथिला चित्रकलाको सम्बद्र्धन, प्रवद्र्धन वालमा बनाएर नहुने भन्दै भने, ‘कलाकारके पेटमे खर नै सिंहमे तेल। मिथिला चित्रकलाका कलाकारहरु दण्ड घिचिरहेका छन्, त्यसको प्रोत्साहन तपाई वाल, कंक्रिट बनाउनुहुन्छ। मानिस हरित प्रदेश हेर्न चाहन्छ। तपाईको ध्यान कंक्रिट प्रदेश बनाउने देखिन्छ।’
यादवले वर्तमान सरकारको हातमा करिब दुई तिहाईको बहुमत रहेको भन्दै बहुमतले पास पनि गर्ने बताउँदै भने, ‘तर मधेस प्रदेशको जनता हेरिरहेका छन। उनीहरु चााहन्थ्यो शिक्षाको केन्द्रित लग्नुस, कृषिको केन्द्रित लग्नुस, स्वास्थ्यको केन्द्रित लग्नुस। प्रदेशलाई कंक्रिटको प्रदेश बनाउने मधेसको जनता चाहँदैनन्।’
मधेस सरकारले आगामी आवको बजेटको छलफलमा मुख्यमन्त्री सहित अधिकांश मन्त्रीहरु अनुपस्थित रहेकोमा आपत्ति जनाउँदै उनले भने, ‘महत्वपूर्ण छलफल छ तर प्रदेशको मुखिया मुख्यमन्त्री अनुपस्थित छन्। आज सबै मन्त्रीको उपस्थिति हुनुपर्ने थियो तर छैन्। यस्तो कानून भएको भए उपस्थित हुन्थे। अब यो कानून पनि बनाउनु पर्छ कि !’
वर्तमान सरकारले विकासको योजना, बहुवर्षीय योजना, दिर्घकालिन योजना हुनुपर्नेमा पुराना सरकारले जुन ट्राक बनाइदिएको छ त्यो भन्दा एक स्टेप अगाडि बढ्न नसकेको उनले टिप्पणी गरे।