
दाङ-दाङको घोराहीमा पहिलो पटक आयोजना गरिएको १० किलोमिटर खुल्ला रोड रेस प्रतियोगितामा पुरुष र महिलातर्फ दुबै विजेता त्रिभुवन आर्मी क्लबका खेलाडी बनेका छन् ।
प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा शनिबार बिहान सम्पन्न ‘लुम्बिनी राष्ट्रिय खुल्ला पुरुष–महिला १० किलोमिटर रोड रेस प्रतियोगिता’मा पुरुषतर्फ आर्मीका सञ्जय श्रेष्ठ र महिलातर्फ निशा सार्की प्रथम भएका हुन । श्रेष्ठले निर्धारित दुरी ३१ मिनेट ३० सेकेन्डमा र सार्कीले ३७ मिनेट ४० सेकेन्डमा पार गरेका थिए ।
पुरुषतर्फ आर्मीका नै नरेन्द्र रावतले ३१ मिनेट ३९ सेकेन्डमा दुरी पार गर्दै दोस्रो स्थान प्राप्त गरे भने नेपाल प्रहरीका नागेश्वर अहिर तेस्रो (३१ मिनेट ४५ सेकेन्ड), आर्मीका विनोद रोकाया चौथो (३१ मिनेट ५१ सेकेन्ड) र एपीएफका रूपेश कार्की पाँचौं (३१ मिनेट ५५ सेकेन्ड) स्थानमा रहेका थिए ।
त्यस्तै, आर्मीका सुशील कुमार शाही छैठौं, करण रावल सातौं, कपिलवस्तुका अजय पाँडे क्षेत्री आठौं, सल्यानका बबिन योगी नवौं र रोल्पाका झरमान पुन दशौं स्थानमा रहे ।
महिलातर्फ एपीएफकी पुष्पा भण्डारीले ३८ मिनेट १९ सेकेन्डमा दौड पुरा गर्दै दोस्रो स्थान प्राप्त गरे । एपीएफकै दीपा परियार तेस्रो (३९ मिनेट २१ सेकेन्ड), नेपाल प्रहरीकी सुमित्रा कुमारी चौधरी चौथो (४० मिनेट १७ सेकेन्ड), आर्मीकी पुष्पा कठायत पाँचौं (४३ मिनेट ३६ सेकेन्ड) स्थानमा रहे ।
बाँकेकी दीपशिखा शाही छैठौं, स्वस्तिका शाही सातौं, दाङकी निरमाया चौधरी आठौं, उर्मिला घर्तीमगर नवौं र रुकुम पश्चिमकी कमला वली दशौं स्थानमा रहे ।
प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरनदाज गौतमका अनुसार प्रथम हुने महिला तथा पुरुष खेलाडीलाई जनही ५०–५० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । दोस्रो हुनेलाई जनही ३० हजार, तेस्रोलाई २० हजार, चौथोलाई १५ हजार र पाँचौं हुनेलाई जनही १० हजार रुपैयाँ पुरस्कार दिइएको छ ।
त्यसैगरी, छैठौंदेखि दशौं स्थानमा आउने खेलाडीहरूलाई हौसला स्वरूप जनही ५–५ हजार रुपैयाँ प्रदान गरिएको सदस्य सचिव गौतमले जानकारी दिए ।
घोराहीको विद्युत कार्यालयदेखि वडा नं. ६ को फचकपुरसम्मको रुट तय गरिएको प्रतियोगितामा विभागीय टिमसहित देशभरिबाट पाँच सय पचासभन्दा बढी धावकहरूको सहभागिता रहेको थियो । खेलकुदको विकाससँगै प्रदेशमा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको गौतमले बताए ।