
काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो।
बैठकमा गठबन्धन सरकारको काम, भ्रातृ संस्थाको अवस्था र पार्टीको सक्रिय सदस्यता वितरण, नवीकरणलगायतका विषयमा छलफल हुने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
यस्तै, बैठकमा संघीय र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आ–आफ्नो क्षेत्रको काम कारबाहीबारे केन्द्रीय कार्यसमितिलाई जानकारी गराउने बताइएको छ।
यस्तै, गठबन्धन सरकारको प्रभावकारिता र भावी रणनीतिबारे पनि छलफल हुनेछ। बैठकले तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने विषयमा निर्णय लिनेछ।
यस्तै, महामन्त्रीले पार्टीको सक्रिय सदस्यता वितरणको प्रगतिबारे बैठकमा जानकारी गराउने कार्यक्रमसमेत रहेको छ।