
दाङ – लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनअन्तर्गत चौधौँ बैठक पुनः आधा घण्टाका लागि स्थगित भएको छ।
बैठक ढिलो सुरु भए पनि प्रतिपक्ष अनुपस्थित रहेपछि सभामुख तुलाराम घर्ती मगरले पुनः आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सहितका प्रतिपक्षी दलहरूले बजेट सच्च्याउनुपर्ने माग राख्दै सदनमा विरोध जनाएपछि बैठक स्थगित गरिएको हो। बैठक अहिलेसम्म पुनः सुचारु हुन सकेको छैन।
बैठकको सम्भावित कार्यसूचीमा आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ गर्ने कार्यक्रम थियो। सोहीअनुसार आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले ‘आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान’ माथि सैद्धान्तिक छलफल प्रारम्भ गर्न प्रस्ताव गर्ने कार्यतालिका तय गरिएको थियो।
यसअघि प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गरेको थियो। त्यसयता १७ औं दिनमा मात्रै बैठक बसेको हो। यसअघिको बैठक असार ७ गतेका लागि तोकिए पनि विविध कारणले स्थगित गरिएको थियो।