
जनकपुरधाम – मधेस प्रदेश सरकारले ल्याएको बजेटको छानबिन गर्न बनेको कार्यदलमा मन्त्रीको नाम राखेपछि प्रतिपक्षी दलले आपत्ति जनाएका छन्। प्रतिपक्षीको अवरोधपछि बैठक १० मिनेटका लागि स्थगित भएको छ।
चार दिनदेखि प्रतिपक्षी दलले बजेटमा विचौलिया हाबी भएको भन्दै पुनर्लेखनको माग गर्दै बैठक अवरुद्ध गर्दै आएको थिए। पूर्व सहमतिअनुसार बैठक चले पनि कार्यदलमा मन्त्रीको नाम राखेपछि बैठक अवरुद्ध गरिएको हो।
सभामुख रामचन्द्र मण्डलले बजेट सम्बन्धमा छानबिन गर्न ६ सदस्यीय कार्यदल गठन गरेका थिए। कार्यदलमा नेकपा एमालेका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको नाम समावेश गरेपछि जनता समाजवादी पार्टी, नेपालले आपत्ति जनाएको हो।
जसपा, नेपालका प्रमुख सचेतक रामअशिष यादवले बजेटमा देखिएको त्रुटिलाई हटाउन कार्यदल गठन भएको भन्दै उक्त कार्यदलमा सत्तापक्ष र प्रतिपक्षका सांसद मात्र रहन पाउने बताए।
जवाफमा मुख्यमन्त्री सतिशकुमार सिंहले बैठकअघि भएको सहमतिमा उक्त कुरा उल्लेख नभएको बताए। उनले प्रतिपक्षी दलले भएको सहमतिलाई तोड्ने प्रयास गरिरहेको टिप्पणी गरे।
उनले भने, ‘कार्यदलमा मन्त्री हुन्छ भने झन् राम्रोसँग डिफाइन गर्छ।’
सभामुख मण्डलले कार्यदलका लागि संयोजकमा आफै रहने तथा सदस्यहरुमा जसपाका प्रमुख सचेतक रामअशिष यादव, माओवादी केन्द्रका सांसद जवाहरलाल कुशवाहा, नेकपा एसका प्रमुख सचेतक कनिष पटेल, एमालेका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव र नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णा यादव रहेको सदनलाई जानकारी गराएका थिए।