
जनकपुरधाम – मधेस प्रदेशमा वर्षा नभएपछि प्रदेश सरकारले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ। बिहीबार साँझ बसेको मधेस सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको हो।
जलवायु परिवर्तनका कारण समयमा वर्षा नहुँदा धान रोपाईमा समस्या भएको छ भने धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई हेर्दै प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको हो।
यस्तै, बैठकले प्रदेशका किसानहरुका लागि विशेष राहत प्याकेज घोषणा गर्न संघ सरकारसँग आग्रह गर्ने निर्णय गरेको मुख्यमन्त्री सतिशकुमार सिंहको सचिवालयले जनाएको छ।
यस्तै, मन्त्रिपरिषद्को बैठकले कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरुलाई आवश्यक सहयोग गर्न आह्वान गरेको छ।
पर्साको वीरगञ्जसहित प्रदेशका विभिन्न जिल्लामा देखिएको खानेपानी संकट समाधानका लागि आवश्यक स्रोत साधन परिचालन गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को बैठकले खानेपानी संकट समाधानमा आवश्यक सहयोग गर्न संघीय खानेपानी मन्त्रालयलाई आग्रह गर्दै ट्याङ्कर सहितका विभिन्न माध्यमबाट पानीको आपूर्ति मिलाउने निर्णय समेत गरेको मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ ।