आँबुखैरेनी (तनहुँ) – ज्यामीस्वाँराकी पुजा मगर पानी अमला, सिस्नु, सालको पात, निगुरो, पिना र रायोको साग बेचिरहेकी छन्। गाउँबाट झरेको केही घण्टामै उनले ल्याएका अधिकांश सामान बिक्री भइसके। बाँकी सामान किन्न पनि ग्राहकको ओहोरदोहोर चलिरहन्छ। उनी एउटा हातले ग्राहकलाई सामान दिन्छिन्, अर्को हातले पैसा नोट लिन्छिन्।
ग्राहकको आउने जाने क्रम चलिरहन्छ। कोही पिना लिएर जान्छन् त कोही सिस्नु। कोही रित्तिएको पानी अमला राखेको बोरा हेरेर फर्कन्छन्।
एक महिला ग्राहक आएर सोधिन्ः ‘पानी अमला अर्को हप्ता पनि ल्याउनुहुन्छ की नाई?’
पुजा भन्छिन्ः ‘ल्याउन त ल्याउँछु, अलि चाँडै आउनुहोला धेरैबेर रहँदैन।’
तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको शुक्रबारे हाटबजारमा देखिएको दृश्य हो यो। पुजाले हाटबजारमा बिक्री गरिररहेका उत्पादन केही बारीमा फलेका हुन् त केही जंगलबाट खोजेर ल्याएका। तर, पहिला यी सबै उपज कुहिएर जाने उनको भनाइ छ।
‘पहिला त कुहिएर खेर जान्थ्यो। कुहिएर खेर जानुभन्दा यहाँ ल्याएर खाजा खाने बाटो गरुम् न भनेर ल्याएको’, उनी भन्छिन्, ‘हाटबजारले सजिलो भा’छ। खेर जाने तरकारी बिक्री गर्न पाएका छौँ। फाल्नु परेको छैन।’
उनी पछिल्लो समय नियमितजसो हाटबजारमा गाउँका सामान लिएर ओर्लिन्छिन्। बारीमा सिजनको बेला फलेका तरकारी र सागपात मात्रै होइन जंगलमा भेटिने निगुरो, सिस्नु, सालको पात, पानी अमला आम्दानीको गतिलो स्रोत बनेको छ। हाटबजारमा ल्याउनेवित्तिकै खोसाखोस हुन्छ। गाउँघरका उपजले सोच्दै नसोचेको बजार पाएपछि पाएपछि उनी दंग छिन्।
पुजाजस्तै हाटबजारमा खेर जाने सामान बेच्न पाएपछि दंग देखिन्छिन् आडैमा भेटिएकी आँबुगाउँकी सीता श्रेष्ठ। उनले यो हप्ता हरियो मकै, मकैको च्याँख्ला, सिस्नुको धूलो, फर्सीको मुन्टा, सिमी बोडी ल्याएकी छन्। सीतालाई पहिला मकैको च्याँख्ला, सिस्नुको धूलो, फर्सीको मुन्टा बिक्री होला कहिल्यै लाग्थेन। अहिले गाउँबाट जे ल्याउँछिन्, नबिकेर फर्काउनु परेको दिन छैन।
‘ल्याएको सामान सबै कट्छ बेल्कासम्म। पहिला त यी सामान बिक्छ जस्तो नि लाग्थेन। अहिले त टाँकीको मुन्टा नि बिक्री भा’छ, सिस्नो नि बिक्री भा’छ,’ मुस्कुराउँदै उनले सुनाइन्, ‘पहिला यो सिस्नु फाँडेर फाल्थ्यौँ। टाँकीको मुन्टा बाख्राले भैंसीले खान्थ्यो। अहिले त घर खर्च चल्या’छ।’
पसिना पुछ्दै सीताले थपिन्, ‘खुशी नै छु। कमाइ आम्दानी ठीकै हुन्छ। बच्चाबच्चीलाई अलिअलि पढाउने खर्चदेखि घरको साबुन मरमसला किन्न हुन्छ।’
हाटबजारमा गाउँका उत्पादन सबै बिक्री हुन थालेपछि उनलाई गाउँमा अझै धेरै उत्पादन गर्न रहर पलाएको छ। खनजोत गर्नलाई हाते ट्याक्टरसँगै चलाउने सीपको अपेक्षा गरेकी छन्।
आँबुखैरेनी बजारको अमिलबोटेमा २०७९ फागुन तेस्रो सातादेखि हाटबजार सञ्चालनमा आएको हो। हाटबजारले गाउँमा कुहिएर खेर जाने उपजको बिक्री गर्ने व्यवस्था मात्रै मिलाएको छैन, घरघरै डुलेर बेच्नेलाई पनि सहज बनाएको छ।
हरेक हप्ताको शुक्रबार हाटबजारमै बिताउँछन् बरादीका अच्युतप्रसाद वाग्ले। उनी माटोको भाँडामा दही जमाएर हाटबजारमा आउनेलाई पिलाउँछन्। उखरमाउलो गर्मीमा दही पिएर ग्राहक शीतलो भएर फर्कन्छन्। घरघरै धाउन नपर्दा वाग्लेलाई पनि निको भएको छ।
‘विचौलियाको आवश्यकता छैन। आफ्नो उत्पादन आफैं ल्याएर बिक्री गर्ने हो। मैले पहिला घरघरमा गएर बिक्री गर्थे। अहिले हाटबजार खुलेपछि यहीँ बिक्री गर्ने गर्या’छु’, वाग्ले भन्छन्, ‘अहिले किसानहरु उत्साहित भएका छन्। यहाँ बेंसीका किसान, गाउँका किसान सबैलाई आफ्नो सामान बिक्री गर्ने थलो भएको छ।’
हाटबजारले किसानलाई मात्रै नभएर उपभोक्तालाई पनि सहज बनाएको छ। गाउँका अर्गानिक उपजले उपभोक्ता लोभ्याएको छ। शुक्रबार हाटबजार नआई मन शान्त नहुने बानी परेको छ। गाउँका अर्गानिक उपज किन्न आइरहने उपभोक्ता मध्य पर्छिन् भगवती अधिकारी।
भन्छिन्, ‘विशेष गरेर गाउँतिरको चिसो हावापानीमा फल्ने अर्गानिक तरकारी,फलफूल, कोदो, फाँपर किन्नलाई आउँछु। मिठोसँगै स्वास्थ्यबर्द्धक पनि हुन्छ।’ गाउँबाट झर्ने कृषि उपज विषादीरहित हुने अधिकारीको विश्वास छ। बसाइँ शहरको भए पनि गाउँकै खाने रहर हाट बजारले पूरा गरेको उनले बताइन्।
अर्का उपभोक्ता राजाराम केसी त लोप हुने अवस्थामा पुगेका उपज किन्न पाएको भन्दै दंग सुनिए। ‘हराइसकेका गिट्ठा भ्याकुर खान पाइएको छ। पूराना अर्गानिक चिजहरु सिस्नो, लेकाली निगुरो र वनजंगलमा पाइने फलफूलहरु पाइन्छ’, उनले भने।
हाटबजारमा तरकारी, फलफूल, साँगपात, बासका चोयाबाट बनेका घरायसी सामाग्री, माछामासु, रैथाने परिकार, मह, दुग्धजन्य परिकार, आरनबाट निर्माण भएको सामाग्रीको किनबेच भइरहेको छ। किसानले बिक्री गर्न समस्या भएका सामाग्री गाउँपालिका आफैंले जिम्मा लिएर बेच्नेसमेत गरेको छ।
अर्गानिक र रैथाने उपज किसानबाट सिधैँ उपभोक्ताले किन्ने भएकाले विचौलियाले असुल्ने रकम पनि किसानले नै पाएका छन्। तनहुँमा हाटबजार प्रथा हराइसकेको अवस्थामा आँबुखैरेनीले सञ्चालनमा ल्याएर पहिचानको रुपमा स्थापित गर्न सफल भएको हो।
हाट बजार सञ्चालन भएको स्थान गाउँपालिकाले १० वर्षका लागि भाडामा लिएको हो। वार्षिक दुई लाख ५० हजार रुपैयाँ भाडा तिर्नुपर्ने गाउँपालिकाले जनाएको छ।
आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान भन्छन्ः ‘अब हाटबजार विस्तार हुन्छ’
‘आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित हाटबजार मुख्य रुपमा ग्रामिण बस्तीमा रहेका किसानहरु जसले अर्गानिक र रैथाने उत्पादन गर्छन् त्यसलाई आम उपभोक्तको बीचमा पुर्याउने हो। र, त्यहाँका जनताको आयआर्जन वृद्धि गर्ने उद्देश्यले सुरु गरिएको हो। यसो गर्दा दुईवटा राम्रो हुने रहेछ। एउटा, आम जनताको रैथाने र प्राकृति उत्पादनमा सहज पहुँच भयो। दोस्रो, आम जनताले आफ्नो कहाँ लगेर बिक्री गर्ने? अन्योलताको अन्त्य भयो।
आँबुखैरेनीको हाटबजारको विशेषता भनेकै वडा नम्बर ४, ५ र ६ छिम्केश्वरीको सेरोफेरोमा रहेको उत्पादनलाई बजारीकरण गर्ने र ब्रान्डिङ गर्ने हो। हाटबजारलाई दिगो रुपमा सञ्चाल गर्न गाउँपालिकाले सामूहिक रुपमा आउने किसानहरुलाई यातायात व्यवस्था गर्छ। रैथाने उत्पादनलाई उत्पादनका आधारमा अनुदान दिने र उत्पादन बढाउनको निम्ति बिउ, उत्पादनका लागि प्राविधिक सहयोग कार्यक्रमहरु सुरु गर्यौँ।
पहिलो वर्ष मकैवाली सुरु गर्नेबित्तिकै हाम्रो रैथाने उत्पादन सकिन्थ्यो भने यो वर्ष बाह्रै महिना रैथाने वा प्राकृति उत्पादन नियमित आउने अवस्था सिर्जना भएको छ। यो वर्ष मासमा प्रतिकेजी २५ रुपैयाँका दरले करिब ४ लाख रुपैयाँ अनुदान दियौँ। अब आउने वर्ष त्यसको दायरा बढाएको छौँ। अहिले प्रतिहल १० हजार रुपैयाँ अनुदान दिने, मह, साग, गुन्द्रुकमा अनुदान दिने र बजार भेगका जनताले उत्पादन गरेको तरकारीमा प्रतिकेजीका दरले अनुदान दिने तयारीका साथ अगाडि बढेका छौँ।
अब यो हाटबजार विस्तार हुन्छ। मोटरबोट भएको स्थान र बसपार्कमा हाटबजारलाई अरु बार पनि विस्तार गर्न खोजिरहेका छौँ।’