
विषयप्रवेश
सर्वप्रथम मोतीराम भट्टले काठमाण्डौँमा सोधखोज गरी वि.सं. १९४८ मा भानुभक्तको जीवनचरित्र प्रकाशित गरेका थिए। त्यसमा धेरै कुरा छुटेका र कुनैकुनै कुरा नमिल्दा पनि परेका थिए। २०१७ सालमा हाम्रा पितामह पण्डित कविराज नरनाथ आचार्यले चुँदीकै परम्पराबाट प्राप्त नवीन तथ्यका पनि आधारमा विस्तृत रूपमा आदिकवि भानुभक्तको सच्चा जीवनचरित्र लेखेर प्रकाशित गर्नुभयो। त्यसको परिष्कृत र परिवर्धित द्वितीय संस्करण वि.सं. २०३६ मा प्रकाशित भयो। पुनः परिष्कृत र परिवर्धित तृतीय संस्करण हालै प्रकाशित गरिएको छ। भानुभक्तको यथार्थ जीवनी पढ्न चाहने पाठकहरूका निम्ति त्यसै ग्रन्थको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिँदै छ।
भानुभक्तका पितामह श्रीकृष्ण आचार्य
तनहुँको तल्लो चुँदीमा आचार्यवंशमा विक्रम संवत् १८११ तिर अग्नीश्वर उपाध्याय आचार्यका छोरा श्रीकृष्ण आचार्यको जन्म भएको रहेछ। अग्नीश्वरले आफ्ना एक मात्र पुत्र श्रीकृष्णलाई तनहुँको विद्याको वातावरणअनुसार राम्रो शिक्षा दिई विद्वान् बनाएका रहेछन्।
श्रीकृष्णका पुर्खाले वा उनैले तनहुँका सेन राजाहरूबाट बिर्ता पाएका र तनहुँ १८३९ संवत्मा गोर्खामा मिलेपछि शाह राजाहरूले पनि उनको बिर्ताको थमौती गरिदिएका रहेछन्। श्रीकृष्णको ५६८ मुरी खेत बिर्ता र अरू रैकर खेत समेत गर्दा २५०० मुरी खेत र त्यहीअनुसार पाखो रहेछ। श्रीकृष्ण आचार्यले तल्लो चुँदीकै पण्डित थरका उपाध्याय ब्राह्मण रामनाथकी छोरी विवाह गरेका रहेछन्। उनका धनञ्जय, काशिनाथ, पद्मनाभ, तुलसीराम, गङ्गादत्त र इन्द्रविलास गरी ६ भाइ छोरा तथा भिर्कोटका परशुराम सिग्देललाई दिएकी रुद्रप्रिया र गोर्खा भोगटेनीका यदुनन्दन अर्जेललाई दिएकी रमा गरेर २ बहिनी छोरी रहेछन्। सन्तति, धनधान्यसमृद्धि, बाँधागोठाला, धर्मकर्म, इष्टापूर्त, विद्या, सदाचार सबै थोकबाट श्रीकृष्णको ख्याति भएको बुझिन्छ।
भानुभक्तको जन्म र शिक्षा
उपर्युक्त आचार्यवंशमा १८७१ आषाढ २९ गते कृष्णपक्षका अष्टमीका दिन आदित्यवार धर्मावतीदेवीका गर्भबाट खर्दार धनञ्जय आचार्यका छोरा भानुभक्त उपाध्याय आचार्यको जन्म भयो। भानुभक्तको बाल्यकाल उच्च समृद्ध ब्राह्मणकुलका बालकहरूको जस्तो हुन्थ्यो त्यस्तै भयो। त्यसमा पनि खर्दार धनञ्जयका ढिलो गरी जन्मेका छोरा हुनाले लालनपालनमा उनले विशेष सुविधा पाए। अध्ययनका निम्ति भानुभक्त पितामह श्रीकृष्णसितै बसे, उनी श्रीकृष्णकै मुखबाटै सुनी संस्कृतका स्तोत्रहरू कण्ठ पार्थे, लिपिको र गणितको अभ्यास गर्थे। श्रीकृष्ण सधैँ शास्त्रको, धर्मको र अध्यात्मको चर्चा गर्थे। संस्कृतवाङ्मयका वेद-वेदाङ्गादिशास्त्रका महत्त्वपूर्ण धेरै पुस्तकहरूको सङ्ग्रह घरैमा थियो। उनले अभ्यास र पाठ गरेका ग्रन्थहरू भानुभक्तले सुन्थे। यस्तै वातावरणमा दुर्गाकवच, चण्डी, रुद्री, वेद, व्यावहारिक ज्योतिष, अमरकोश, रघुवंशादि काव्य, मध्यकौमुदीको केही अंश पनि उनले तनहुँ चुँदीमा आफ्नै घरमा श्रीकृष्णसितै पढे।
भानुभक्तको विवाह, काशीगमन र थप अध्ययन
भानुभक्तको विवाह १३ वर्षका उमेरमा तनहुँ मानुङका सत्यधर खनालका वंशज विद्याधर खनालकी छोरी १० वर्षकी चन्द्रकलादेवीसित भएको थियो। भानुभक्तका एक छोरा रमानाथ मात्र चिरञ्जीवी भए।
श्रीकृष्ण आचार्य काशीवास जाँदा १४ वर्षका भानुभक्त उनैसित अध्ययनका लागि काशी गए। भानुभक्त साँझबिहान आफ्ना पितामहसित र दिउसो विद्यालयमा गई पढ्ने गर्थे। वाराणसीमा समयसमयमा हुने विद्वत्सभाहरूमा र शास्त्रार्थप्रतियोगिताहरूमा उनी सम्मिलित हुन्थे र तिनबाट आफ्ना विद्याको अभिवृद्धि गर्थे। यसरी १७–१८ वर्षका अवस्थामा नै भानुभक्तले दर्शनशास्त्रहरूको राम्रो ज्ञान प्राप्त गरिसकेका थिए।
भक्तमाला र प्रश्नोत्तरको रचना
वाराणसीमा बस्ता भानुभक्तले पितामहबाट वैराग्यका कुरा बारम्बार सुनेकाले र ती उनका हृदयमा गडेकाले वैराग्य विषयका भक्तमालाका दुईचार श्लोक बनाएछन्। साथै शङ्कराचार्यकृत प्रश्नोत्तरमालिका पितामह श्रीकृष्णले नित्य पाठ गरेको सुन्दा कण्ठस्थ भैराखेको रहेछ र तीमध्ये केही श्लोकको श्लोकैमा अनुवाद गरेछन्। भानुभक्तलाई काशीमा छँदै विद्यार्थिकालमा नै भाषाकविता गर्न ठुलो उत्कण्ठा भैराखेको रहेछ।
श्रीकृष्ण र उनकी पत्नीको काशीमा निधन
काशीमा बस्ताबस्तै श्रीकृष्णकी पत्नी पहिले नै र त्यसको एक वर्षपछि श्रीकृष्ण पनि परलोक भएछन्। त्यसपछि पनि भानुभक्त एक वर्षसम्म काशीमा बसी पढेकै रहेछन्। त्यसै वेला एक दिन पण्डितसभामा गई शास्त्र-छलफल सुनेका वेला उनले विद्वन्मण्डलीमा एक गैरो प्रश्न गरेछन्। ठिटै अवस्थाको विद्यार्थीले वेदान्तको गैरो प्रश्न गरेको सुनी आश्चर्य मानी त्यही सभामा बसेका एक नेपाली विद्वान्ले उनको परिचय सोधेछन्। भानुभक्तले उन्नाइस वर्षका अवस्थामा कवितामा नै उनलाई आफ्नो परिचय यसरी दिएछन्–
पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया,
खुप् उच्चा-कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया।
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया,
तिन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिह्नीलिया।।
भानुभक्तका यसै पद्यबाट श्रीकृष्णको विद्याको र सदाचारको परिचय पनि पाइन्छ। उनले आफ्ना पिता धनञ्जयको विद्यागुणको केही उल्लेख नगरी पितामह श्रीकृष्णलाई विद्यामा धुरन्धर भनेकाले श्रीकृष्णको विद्वत्ता गम्भीरै भएको बुझिन्छ।
अध्यात्मरामायणको अनुवादको प्रारम्भ
यस्तैमा पिता धनञ्जय खर्दार ठुलो बिरामी भएकाले भानुभक्त पढ्न छाडी घर आएछन्। यसै वेला कविले काशीमा (१८८६–१८९० संवत्) थालेको प्रश्नोत्तरमालाको अनुवाद गरेर सकेछन्। यही वेला अध्यात्मरामायणको अनुवाद गर्न पनि थालेछन् र फुर्सदफुर्सदमा लेख्दै गई अध्यात्मरामायणको बालकाण्डको कवितात्मक अनुवाद १८९८ संवत्तिर समाप्त गरेछन्।
धनञ्जयको काशीमा निधन
यस्तैमा पाल्पामा धनञ्जयलाई रोगले धड्दै ल्याएछ। आफ्नो अन्त्यकाल आएको सम्झी धनञ्जय देहत्याग गर्न काशी गएछन्। केही समयपछि काशी मणिकर्णिकाका ब्रह्मनालमा धनञ्जयको देह छुटेछ। त्यस वेला भानुभक्त पनि धनञ्जयका साथमा रहेछन्।
भानुभक्त कुमारीचोकका थुनामा
यस्तैमा पाल्पा मालमा पिता धनञ्जयले खर्दारी काम गर्दा सर्कारी बाँकी लागेको भनी त्यस वेलाका नियमअनुसार बाबुलाई लागेको बाँकी छोराले पनि तिर्न-फर्स्याउन पर्ने हुँदा कुमारीचोकले कविलाई पक्रेछ। भानुभक्त पहिलो पटक काठमाण्डौँ गएछन्। बालाजीको सौन्दर्य देख्दा कविजीले त्यहाँ बसी दुई श्लोक कविता गरेछन् (यति दिनपछि मैले आज बालाजि देख्याँ ….)।
उनी बेलुका कान्तिपुरी (काठमाण्डौँ) पुगेछन्। उनका बाबुहरूकै पालादेखि महाभूत (महाबौद्ध) मा रहेको घरमा उनी बसेछन् र तोकिएका तारिखमा कुमारीचोकमा हाजिर भएछन्। कान्तिपुरी देखेर उनलाई आफ्नो राजधानी सहर सारै राम्रो लागेछ, चालचलन पनि राम्रो लागेछ र पाँच श्लोकले कान्तिपुरीलाई संसारभरिकै सर्वोच्च देखाई त्यसको वर्णन गरेछन् (चपला अबलाहरू एक् सुरमा ….)।
आखिर कुमारीचोकले बाबुलाई लागेको बाँकीमा कविलाई नथुनी नहुने देखिएकाले थुनेछ। कवि थुनिए पनि रामायणको कविता लेख्न छाडेनछन्। थुनामा परेकै वेलामा एक दिन जङ्गबहादुरका भाइ चिफ् कृष्णबहादुर राणालाई कवितात्मक बिन्तीपत्र दिएछन् (रोज्-रोज् दर्शन पाउँछू चरणको…)। केही दिनपछि चिफ्कहाँ जाँदा फेरि आर्को एक श्लोकले बिन्ती चढाएछन् (जागिर् छैन धनी म छैन घरको ….)।
रामायणका चार काण्डको अनुवाद
त्यस कुमारीचोकमा कविको छोड्न नपाइने डेरा छ, कविजी रामायणकै कवितामा मग्न छन्, त्यही कवितामा भुल्छन्, यस्तै गर्दा चार महिना बितिसक्यो काम छिनिदैन थुनिएकै छन्, यस्तै भएछ। अयोध्याकाण्ड, आरण्यकाण्ड, किष्किन्धाकाण्ड र सुन्दरकाण्ड यी चार काण्डको कविता थुनिएकै अवस्थामा सकेछन्। बालकाण्डसमेतका पाँच काण्ड रामायण रसिक जनले सारेर लाने-घोक्ने गर्न थालेकाले लोकमा प्रचार हुन थालेछन र विवाहयज्ञमा, वनमा र मेलापातमा समेत घन्कन थालेछ।
छोरा रमानाथको व्रतबन्ध
कुमारीचोकमा थुनिएका अवस्थामा नै बिरामी पनि भएका कविले एक मात्र छोरो आठ वर्षको व्रतबन्ध नगरी नहुने अवस्थाको छ, त्यो काम गराइदिने अर्को कोही छैन, घर नगै भएको छैन, निगाहबाट घर जान पाए हुँदो हो भनी एक दिन चिफ्सँग पद्यात्मक निवेदन गरेछन् (चालीस् वर्ष भयाँ म पुत्र पनि एक् मात्रै छ आठ् वर्षको…)। त्यसपछि फेरि हाजिर हुनुपर्ने बेहोराको कागज गराएर कविलाई कुमारीचोकले छाडिदिएछ। कवि १९११ साल पौष महिनामा तनहुँ घरमा आएछन्। पहाडको खानपिन तथा जलवायुले दुई महिनामा कवि सञ्चो भै हृष्टपुष्ट भएछन् र फागुनमा उनले १९०३ संवत्मा जन्मेका छोरा रमानाथको व्रतबन्ध गरेछन्।
कुमारीचोकबाट छुटकारा
त्यसपछि केही दिनपछि कवि काठमाण्डौँ गएछन्, चिफ्को दर्शन गरी कुमारीचोकमा हाजिर भएछन्। चिफ्का सौजन्यले र धर्मदत्तका भनसुनले कुमारीचोक चाँडै नै फर्स्याएछन्। भुलस्रेस्ताबाट मात्र पक्डिएको रहेछ, स्रेस्ता राम्रो गरी हेर्दा तिर्न नपर्ने ठहरेछ र छुटकारा पाएछन्। अनि तनहुँ घरमा आएर भानुभक्त गृहव्यवहारमा लागेछन्।
गजाधर सोतीकहाँ भानुभक्तको बासको प्रसङ्ग
भानुभक्तको हँसिलो, ठट्टेउलो, जुवाडे, खरो, हकी, उदासीन, परोपकारी तथा गम्भीर व्यक्तित्व थियो भन्ने कुरा उनका जीवनीको र रचनाहरूको (रामायण, वधूशिक्षा, प्रश्नोत्तरमाला, भक्तमाला र ५७ ओटा फुटकर पद्यहरूको) अध्ययनबाट स्पष्ट बुझिन्छ।
१९११ संवत्तिरका फागुन महिनामा ८ कोस जति परको आफ्नो माव़ली भोर्लेटार गाउँमा मामाको छोरो कलाधरलाई व्रतबन्धमा गायत्रीमन्त्र सुनाउन जान पर्दा छोरा रमानाथलाई समेत लिएर कवि भानुभक्त माव़ल जान निस्केका रहेछन्। घरबाट निस्कन अबेला भै ५ कोस बाटो हिँडेपछि रिस्ती खोलाका किनारमा पुग्दा साँझ परेछ। भोर्लेटार पुग्न ३ कोस बाटो बाँकी हुँदा नपुगिने भै बास खोज्न पर्ने भएछ, कविका सानै छोरासमेत साथमा छन्।
एक हल गोरु पालेर गृहस्थी गर्ने गजाधर उपाध्याय सोती ब्राह्मणसँग अगिअगि पनि माव़ल जाँदाआउँदा त्यस ठाउँमा बाटा-चौताराहरूमा कविजीको भेट भैरहने भै कुराकानी हुँदो रहेछ। यी चुँदीका पण्डित हुन्, सिलोक बनाउँछन् भन्ने गजाधरले पनि राम्रै चिनेका रहेछन्। तसर्थ कविले आज तिनै गजाधरका घर जान पऱ्यो भन्ने विचार गरेछन् र कविका बाबुछोरा गजाधरको घर सोधी बेलुकी साँझमा उनका घरमा पुगेछन् र बास मागेछन्। गजाधरले बस्नुहोस् भन्दा कविका बाबुछोरा त्यहाँ बसेछन्। साधारण कुरा गजाधरसँग बोल्दै गर्दा उनकी ब्राह्मणी कराउन थालिछन्। अशिक्षित रहिछन्, आफ्ना पुरुष गजाधरलाई जिती पूरा वश गरेकी रहिछन्। गजाधरले एक पटकसम्म किन कराएको मान्छे पनि त विचार गर्न चिन्न पर्छ भनेछन्। तर ब्राह्मणी झन् चर्केर मूलबाटाका नजिकमा बसेर मान्छे चिन्न सकिँदैन, नाता न पक्षका पाउना ख्वाएर टण्टा गर्न सक्तिन इत्यादि भन्न लागिछन्।
उनका कुरा सुनेपछि त्यहाँ बस्न नहुने देखी त्यहाँबाट उठेर केही पल्तिर गै गरिबै किसिमका सोती ब्राह्मणकै घरमा पुगी भानुभक्त बास बसेछन्। त्यही रात कविका मुखमा एउटा कविता पनि आएछ (गजाधर् सोतीका घर बुढि ….)।
गिरिधारी भाटसितको मुद्दा
कवि भानुभक्तको भलायोबोटे बगर भन्ने असी मुरी बिर्ता खेतको साँध र गिरिधारी भाटको पिप्ले भन्ने खेतको साँध चुँदी खोलो थियो र भानुभक्तको खेत खोलाले खाँदा गिरिधारीपट्टि बगर बसेछ र ऐनअनुसार उसले आबाद गरी खाएछ। केही वर्षपछि खोलो फेरि गिरिधारीकै पट्टि मिच्दै गएछ, भानुभक्तपट्टि बगर बसेछ। बगर कविपट्टिबाट चर्चिइएछ। त्यसमा गिरिधारीले भानुभक्तले मेरो खेत खाइदिए भनी पोखरा अदालतमा १९१३ सालमा फिराद दिएछ। त्यसमा प्रत्युत्तर दिनुपर्दा कविले बनाएका श्लोकमध्ये टुक्राटाक्री केही श्लोक पाइएका छन् (साँचा हुन् जति लेखिया सब कुरा ….)।
यो झगडा सदरमा पुगेपछि पनि अदालती चालले गर्दा टाँगिएछ। कवि दिनदिनै अड्डामा जान्छन्, आज छिन्ला छैन, भोलि छिन्ला छैन, छिनियोस् भन्छन् कराउँछन्, छिन्दैन, सधैँ दिनभरका-दिनभर अड्डामा रोकिनुपर्दा एक दिन हारे पनि जिते पनि छिन्न मात्रै पाए पनि बन्धनबाट ता फुस्किने थिइयो भन्ने मनसायले दिग्दार भै न्यायाधीश(डिट्ठा)लाई कविले कविता लेखेर दिएछन् (न मृत्यू टर्न्या हो यसरि झगडामा अघि सरी….)। यति भएपछि पनि झगडा छिनिएनछ, टाँगिइरहेछ र चिफ् कृष्णबहादुरले न्यायाधीशलाई भनिदिए छिनिन्छ कि भनी चिफ्कहाँ जाँदा श्लोकमा निवेदन दिएछन् (बिन्ती डिट्ठा-विचारीसित म कति गरू चुप् रहन्छन् नबोली….)। त्यसपछि मुद्दा छिन्ने हाकिमलाई चिफ्ले मुद्दा भरसक चाँडो छिनिदिनु भन्ने खबर पठाइदिएकाले मुद्दा छिनिएछ, गिरिधारीले हारेछ। कवि १९१५ सालमा काठमाण्डौँबाट घर आएछन्।
भानुभक्तको जन्मकुण्डली
एक दिन काठमाण्डौँका घरमा भएका वेला सुब्बा धर्मदत्त राजज्योतिषीसँग कुरा हुँदा भानुभक्तले आफ्नो कुण्डलीको विवरण तत्कालै श्लोकहरूमा बनाई दिएका रहेछन्– ति शालीवाहन्का समय षडत्रिंशत् भइकन….। यो महत्त्वपूर्ण कविता सुब्बा धर्मदत्तका घरमा रहेको र उनका नाति रङ्गनाथले भानुभक्तकी नातिनी विष्णुमायालाई उपलब्ध गराएकाले भानुभक्तमणिमाला (१९९८) मा सर्वप्रथम प्रकाशित भयो र सबैले कविको वास्तविक जन्ममिति जान्न पाए ।
भानुभक्त जुवाडेका रूपमा
कवि जुवा पनि खेल्दा रहेछन्। एक दिन नकस खेल्दा हार्दै गएछन्। चक्की छाडेर पासा खेलेछन्, त्यसमा पनि हार्दै गएछन्। पासा छोडी कौडी खेलेछन्, त्यसमा पनि हारेछन्। जुवा छोडी गणित गर्दा साठी रुपैयाँ गएछ। कविले त्यसको वर्णन गर्दै एउटा श्लोक बनाएछन् (तान्यो एग्घारबाटै पनि उँडि बहुतै ….)।
पत्नीप्रति भानुभक्तको व्यवहार
कुनै दिन कवि काठमाण्डौँका घरमा बसेका वेला गृहलक्ष्मी रमाए भने घरमा राम्रो चाल हुने हुँदा आफ्नी गृहलक्ष्मी आफूउपर फुर्मान हुने काइदा पारी एउटा शृङ्गार रसको कविता लेखी पत्नीलाई पठाएका रहेछन् (बिन्ती एक म गर्दछू सुन प्रिये प्रीती निरन्तर् रहोस् ….)।
इष्टमित्रप्रति भानुभक्तको व्यवहार
त्यसपछि कवि धेरैजसो पहाडमा र थोरै समय काठमाण्डौँमा बसेछन्। उनले काठमाण्डौँ बसेका वेलामा १९१५, १९१६ र १९१७ संवत्तिर युद्धकाण्डको अनुवाद पूर्ण गरेछन्। कविजी १९१७ सालका प्रारम्भमा काठमाण्डौँ गएका वेलामा युद्धकाण्डको कविता गरिसकी उत्तरकाण्ड थालेका मात्रै रहेछन्, त्यत्तिकै छाडी घर आएछन्। घरमा नै हुनाले एउटा झगडियाले साक्षी हालेछ र पोखरा अदालतबाट म्याद आएछ। म्यादमा जान अनुकूल मिलेनछ र बक्न जानेहरूसँग पद्यमा अर्जी लेखी पठाएका रहेछन् (स्वस्तिश्री पखरा-अदालतमहाँ …)। यसबाट कवि इष्टमित्रका निमित्त दुःख बेहोर्न पनि पछि नहट्ने भएको कुरा बुझिन्छ।
रामगीताबाहेक सम्पूर्ण रामायणको अनुवादको समाप्ति
१९१९ सालमा काठमाण्डौँमै बसी उत्तरकाण्ड रामायणको पनि कवितानुवाद गरेर सकी रामगीताबाहेक अरू सम्पूर्ण सात काण्ड रामायणको कवितात्मक अनुवाद पूर्ण गरेछन्। यसै वेला लेखिएको उनकै हस्ताक्षरको चिठी पनि प्राप्त छ। कवि त्यही साल जेठ लागेपछि घर आइपुगेछन्।
मित्र तारापतिका घरमा भानुभक्तको बास
१९१९ सालका हिउँदमा माघ महिनामा कामविशेषले फेरि काठमाण्डौँ गएका कवि एक महिनापछि फागुनका अन्त्यमा घर फर्कँदै रहेछन्। कविका रम्घा-घरदेखि पूर्व आधा कोस जति फरकको बाङ्गिरह भन्ने स्थानमा उनका मित्र तारापति उपाध्याय पौडेल थिए। सतीघाट तरी काठमाण्डौँबाट आउँदा त्यही बाटो पर्ने हुँदा मित्र भेट भै उनले आज हाम्रा घरमा बस्नै पऱ्यो भनी अत्यन्त आग्रह गरेकाले मित्रसँगको प्रेमको रक्षाका लागि कवि मित्रकहाँ बसेछन्।
तर तारापतिकी अशिक्षित बुहारी सासूको मुखलाग्ने खालकी रैछन् र कवि सुत्न पल्टेपछि सासूबुहारी कल गर्न लागेछन्। तिनका कर्करले गर्दा कविलाई निद्रा परेनछ र आफ्ना मनमा भएको शिक्षा दिन मन लागेछ। लेख्ने सामग्री प्रायः कविजीसितै रहने हुँदा त्यस समयमा पनि कागज-कलम-मस्यानी कविसित रहेछन् र उठेर राति नै वधूशिक्षा (३३ श्लोक) लेखी सकेछन्।
भोलिपल्ट मित्रसँग बिदा भै हिँड्ने वेलामा अर्का तीन श्लोक (प्रस्ताविका) समेत लेखी मित्रसँग रातीको कुरासमेत गरी वधूशिक्षा मित्रका हातमा दिएर बिदा भै आफ्ना घरतर्फ लागेछन्।
भानुभक्तको घाँसीसित भेट
१९२० संवत्मा एकदिन कवि भानुभक्त ससुराली जाँदै रहेछन्। घरबाट तीन कोसजति बाटो हिँडेपछि कर्लुङ खोलाका बायाँपट्टि सेपमा एउटा चीसो पानीको कुवा रहेछ। त्यहाँ अलिकति चिठेको बस्ने ठाउँ पनि रहेछ। कविजी त्यस कुवाको पानी खाई चिठेको ठाउँमा विश्राम गर्दैरहेछन्। त्यस्तैमा पखेरापट्टिबाट घाँसको भारी बोकी एक जना मान्छे आएछ र घाँसको भारी बिसाई पानी खाएर त्यो पनि त्यहीँ बसेछ। भानुलाई सज्जन पण्डितजस्तो ठानी घरथर सोधेछ। भानुको परिचय पाएपछि उसले आफ्नो परिचय दिई त्यो कुवा आफूले बनाएको कुरा पनि सबै बेलिविस्तार सुनाएछ। मनुष्यजीवनको क्षणभङ्गुरताका पनि कुरा सुनाई केवल धनसञ्चय गर्ने काम मात्र नगरी परोपकारका निम्ति धन खर्च गरेर कीर्ति राख्ने आवश्यकता पनि देखाएछ र घाँसको भारी बोकी ऊ भैँसी फर्काउन हिँडेछ। त्यत्ति भएछ, घाँसी (वसन्त पन्थ) गएपछि कविका मुखमा एउटा कविता आएछ (भर्जन्म घाँसतिर मन् दिइ धन् कमायो….)।
ती कविता दुई श्लोक त्यही चिठेको चौतारोजस्तो शीतल ठाउँमा बसी कागजमा लेखी ससुराल पुग्न दुई कोस बाटो बाँकी थियो, गएछन्। बेलुकी मानुङ ससुरालीकहाँ पुगेछन्।
मानुङको वर्णन
भोलिपल्ट बिहान ती दुई श्लोक बन्नुको कारण साला-ठिटाहरूसँग भनेछन्, उनीहरूले श्लोक सारेछन् घोकेछन्। हाम्रा गाउँको पनि एउटा सिलोक बनाइदिनुहोस् भनेर ठिटाहरूले भन्दा उनले आफ्नो ससुराल मानुङ गाउँको महत्त्वसमेत देखाई वर्णन गरी श्लोक बनाइदिएछन् (मानुङ्को सरि गाउँ उत्तम ठुलो लागेन काँहीँ पनी….)।
गिरिधारी भाटसितको बाँध-कुलो-मुद्दा
चुँदीफाँटको डेढदुई हजार मुरी खेत रोपाउने चुँदीखोलामा बाँध लाग्ने वराहको कुलो भन्ने एउटा ठुलो कुलाको परम्पराको मुख्यौली कविको थियो। त्यही कुलाका पुछारमा कविको गैरी भन्ने असीमुरी खेत थियो।
१९२१ सालमा चुँदी खोलामा ठुलो बाढी गै त्यो कुलाको बाँध लगाउनै नसकिने गरी बिग्रेछ र बाँध अल्लि माथि सार्न पर्ने भएछ। सो सार्दा कविको अगिको झगडिया गिरिधारी भाटको खेत चिरेर लैजान परेछ। त्यस ठाउँबाट कुलो नलगे डेढदुई हजार मुरी खेत रोप्न गारो हुन्छ, साबिक ठाउँमा बाँध लगाउँदा बाँध अडिँदैन। गिरिधारीले मेरो खेत बाँझो पऱ्यो, टापु भयो भनेर उजुरी गरेकाले छानबिन भएछ, हेर्दा उसको खेत बाँझिएको देखिएनछ, केवल पानी उकाल्न गारो परी केही जग्गा खारेर पानी उकाली रोपेको रहेछ, तर अलिकति जग्गामा उब्जा हुन सकेको रहेनछ। रोपिए पनि उब्जामा एक साललाई केही नोक्सान परेको रहेछ। त्यही जग्गा र बाँधकुलो देखाउँदा आफ्नो बेहोरा कविले श्लोकैले नै भनेका रहेछन् (ख्व़ामित् यस् गिरिधारिले अति पिऱ्यो ….)।
सबै कुरा विचार गरी अन्त्यमा न्यायाधीशले गिरिधारीलाई भनेछन्– “टापु भनेको जग्गा पनि पानी चढेरै रोपिएको देखियो, ऐले कम उब्जा हुने भए पनि छोड्देऊ, आगौँ साबुत उब्जा हुन्छ”। यसरी गिरिधारीले सो मुद्दा पनि हारेछ।
भानुभक्तको इष्टापूर्त कर्म
गरिब घाँसीले पनि केही खर्च गरी कीर्ति राखेको देख्दा आफ्नो त्यत्ति धन खर्च भएको कीर्ति राख्ने काम पनि केही नभएकाले कविलाई धिक्कार लागेकामा १९२० साल हरिशयनी एकादशीका दिन आफ्ना घरका नजिकै हाल धर्मशाला भनिने ठाउँमा वरपिपल कविले सारिराखेका रहेछन्। त्यस ठाउँमा गामबिसी गर्ने धेरै मानिसहरूका लागि वैशाख-जेठमा बिसीबाट बेलुका गाम आउँदा गर्मी र थकैले गलित भै तिर्खाएका वेला बसी पानी खाई हावा खानलाई कविले १९२१ संवत्का फागुनमा चौतारो लगाएका र त्यहाँ पानी समेत राखिदिने व्यवस्था गरेका रहेछन्। सो चौतारो र वरपिपल अद्यावधि छँदैछन्।
भक्तमालाको पूर्ति र परिष्कार
यिनै १९२१/२२ सालतिर पहाड घरमा बसेका वेलामा मनमा आएका कुराको एकदुई श्लोक गर्दै कविजीबाट भक्तमालाका श्लोक अलिकति भएका रहेछन्। काशीमै बनाएका र ती जोड्दा यति भैहाले केही सन्दर्भजस्तो मिलाएर लेख्न पऱ्यो भन्ने कविका मनमा आई “प्रतिज्ञा मैले यो” देखि लिएर “कटीको पीताम्बर”सम्मको २२ श्लोकको भक्तमाला छाँटकाँट गरी ठिक पारेका रहेछन्। यसबाट पढ्ने मानिसलाई ज्ञान, वैराग्य र भक्ति आउने देखिन्छ।
नेपाल उपत्यकाको पवित्रतामा कविको आस्था
कवि १९२४ सालका अन्त्यतिर कामले गर्दा काठमाण्डौँमा रहेछन् र बिरामी पनि परेका रहेछन्। ओखती गर्दा सञ्चो भएछन्। तर बेथा राम्ररी निख्रेनछ र शरीर दुर्बलै बसेछ। यस्तै अवस्थामा कविका मनमा काठमाण्डौँमै मरेँ भने पनि बेसै छ, मुक्ति दिने पवित्र स्थल हो भन्ने भाव आई नेपालभूमिको पवित्रता देखाई कविजीले कविता गरेछन् (यत्ती छन् सब देवता भनि यहाँ गन्नै नसक्नू भई ….)।
रामगीताको अनुवादसमाप्तिमा भानुभक्तको सन्तोष
कविको देह दुर्बल नै थियो। १९२५ साल असारका अन्त्यमा कविलाई ज्वरो बढेर आएछ। औषध-पथ-परेज गर्दा पनि सहसा बेथा हटेनछ। रामगीता नलेखी मरिन्छ कि भनेर कविले आफूले लेख्न नसक्ता पनि त्यही ज्वरो आएका वेलामा ओच्छ्यानमा सुतेर बल्लबल्ल आफू कविता भन्छन् छोरा रमानाथलाई लेख्न लगाउँछन्, यस्तै गरेर बिरामी अवस्थामा नै रामगीता कविता गरेर साउनमा सकेछन्।
कविले रामगीता दिनदिनै पाठ गरिरहने हुँदा त्यो कण्ठै रहेछ, वेदान्तप्रक्रियाको पनि कविलाई स्पष्ट ज्ञान छँदैथियो, साथै सबै दर्शनशास्त्रको सिद्धान्तको पूरा ज्ञान पनि उनलाई थियो तापनि ज्वरो आएका सुरमा क्रम बिग्रन जाला भनी रमानाथलाई रामगीताका श्लोक उच्चारण गर्न लगाई आफूले भाषा श्लोक बनाएका रहेछन्। रामगीता सकिएका दिन कविले सन्तोषको सास फेरेछन्।
भानुभक्तको अन्त्यकाल र देहत्याग
यस्तैमा सोरश्राद्धमा पिता धनञ्जयको श्राद्ध गरेका दिन रात्रिदेखि ज्वरो बढेछ, औषध पार्दा शान्त भएनछ। कवि गलित हुँदै गएछन्। त्यही बेथाबाट देहान्त हुने शङ्का सबैलाई भएछ। कृष्णा (कालीगण्डकी) जान दशैँको अवस्था हुनाले मद्दतको चाँजो मिलेनछ। आखिर वि.सं.१९२५ आश्विनशुक्लपञ्चमीका दिन (असोज ७ गते) बिहान सबै बन्धुवर्गसमेतले विचार गर्दा त्यही दिनभर पनि कविको देह नटिक्ने ठहऱ्याई अन्त्यमा गर्न पर्ने दशदान, वैतरणीदान इत्यादि गरिसकी घरबाट डेढ कोसजति पूर्व मर्स्याङ्दी नदीका किनार सतीघाटमा जलाश्रय लगेछन्। घाट पुगेका तीन घडीपछि भानुभक्त कवि परमधाम भै राममा मिलेछन्। त्यसपछि गर्न पर्ने जति काजक्रिया थियो कविको हैसियतअनुसार छोरा पण्डित रमानाथले बडा पितृभक्तिका साथ गरेछन्।
भानुभक्तको व्यक्तित्व
भानुभक्तको हँसिलो, ठट्टेउलो, जुवाडे, खरो, हकी, उदासीन, परोपकारी तथा गम्भीर व्यक्तित्व थियो भन्ने कुरा उनका जीवनीको र रचनाहरूको (रामायण, वधूशिक्षा, प्रश्नोत्तरमाला, भक्तमाला र ५७ ओटा फुटकर पद्यहरूको) अध्ययनबाट स्पष्ट बुझिन्छ। साथै भानुभक्त प्रतिभाशाली कवि, आदिकवि, महाकवि र आशुकवि समेत थिए भन्ने पनि देखिन्छ।