
मोरङ – मोरङको कटहरी गाउँपालिकामा तरकारी लोड गरिएको ट्रकमा ३ हजार किलोभन्दा बढी गाँजा ओसारपसार गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङमा एकैपटक यति ठूलो मात्रामा गाँजा बरामद गरिएको हो।
बन्दाकोपी लोड गरिएको को १ ख ४५१८ नम्बरको सवारीमा शंका लागेर मध्यरात करिब १२ बजे चेकजाँच गर्दा सो परिमाणको गाँजा फेला परेको मोरङ प्रहरी कार्यालयकी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिइन्।
शंका लागेर ट्रक चेक गर्दा सुरुमा तरकारी बन्दाकोपी भेटिए पनि सोही बोरामुनि गाँजाको बोरासमेत मिसाएर राखिएको उनले बताइन्।
यसक्रममा प्रहरीले ट्रकबाट १ सय ५ वटा गाँजाको बोरा बरामद गरेको उनले जानकारी दिइन्। प्रहरीका अनुसार कुल गाँजाको बोरा तौलिदा ३ हजार १ सय ५० किलो रहेको छ। अर्कोतर्फ, प्रहरीको चेकजाँच गर्नुपूर्व ट्रकका चालक भने फरार भएको प्रहरीले जनाएको छ।
ट्रक चालक को थिए भन्ने यकीन नभएपनि प्रहरीले खोजी गरिरहेको जनाएको छ। गाँजाको आधिकारिक मालिक को हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको मोरङ प्रहरीले पहाडी क्षेत्रबाट भारततर्फ लैजानका लागि तयारी गरिएको हुन सक्ने आशंका गरेको छ।
यसअघि मोरङकै धनपालथान गाउँपालिकास्थित गदिया खोलानजिकैको उखुबारीबाट ८ सय २ किलो गाँजा बरामद भएको थियो।