
जनकपुरधाम- मधेस प्रदेशसभामा प्रतिपक्षी दल बिना छलफल सुरु भएको छ ।
सोमबार बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी, नेपालसहित सदनमा रहेका ६ वटै प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि प्रतिपक्षी दल बिना बजेट माथिको छलफल सुरु भएको छ ।
असार १ गते अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेशसभामा बजेट वाचन गरेपछि असार ३० गते प्रदेससभामा उक्त बजेट माथि छलफल सुरु भएको हो ।
प्रतिपक्षी दलले बजेटमा बिचौलिया हावी भएको भन्दै बैठक अवरुद्ध गरेपछि गठित कार्यदलमा समेत मतभेद भएपछि आजको बैक प्रतिपक्षी दलले बहिष्कार गरेको हो ।
कार्यदलमा रहेका प्रतिपक्षी दलका सांसदहरुले सरकारले सार्वजनिक गरेको आगामी आवको योजना पुस्तिका २०८२/८३ र योजना सूचना प्रणालीमा प्रविष्ट भएको योजना फरक रहेको आरोप लगाएका छन् ।
प्रमुख प्रतिपक्षी दल जसपा नेपाल, माओवादी केन्द्र, नेकपा एस, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टी नेपालका प्रदेशसभा सदस्यहरुले बैठक बहिष्कार गरेका छन् भने अहिले सदनमा सत्तापक्षको तर्फबाट जनमत पार्टी, नेकपा एमाले, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरू उपस्थि रहेका छन् ।