
धनगढी – महिला स्वास्थ्य स्वयंसेविकाले पैसा अभावका कारण आफ्नो हक अधिकारका लागि आन्दोलन समेत गर्न नसकेको गुनासो गरेकी छन।
सोमबार कैलाली जिल्ला पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा बोल्दै महिला स्वास्थ्य स्वयंसेविका अम्विका भण्डारीले आफुले निरन्तर काम गरिरहेको भएपनि राज्यले वेवास्ता गरेको गुनासो गरिन्।
उनले भनिन, २० औ बर्षदेखि हामीहरु खटिएर काम गरिरहेका छौ,तर राज्यले पटक्कै वेवास्ता गरिरहेको छ। अहिले आएर ६० बर्ष पूरा हुने बित्तिकै राज्यले हामीहरुलाई अपमानपुर्वक निकालीरहेको छ।
उनले ६० बर्षमा निकाले पनि कम्तिमा यति बर्ष काम गरिसकेपछि सम्मान पुर्वक बिदाई गर्नुपर्ने बताईन। उनले भनिन ९ शिक्षकहरुले तलब खाने हुदा पैसा भए काठमाण्डौ गरेर हक अधिकारका लागि आन्दोलन गरे तर हामीहरु संग त पैसा पनि छैन आन्दोलन गर्नु परे कि त श्रीमान संग माग्नु पर्यो कि त घरखेत बेच्नु पर्यो, सारै समस्या छौ।
महिला स्वास्थ्य स्वयंसेविकाले दैनिक ४ सय रुपैयाँमा काम गरिरहेका बताउँदै भण्डारीले आफ्नो काम गर्ने अरुलाई १ हजार रुपैयाँ पारिश्रमिक दिन बाध्य भएको गुनासो गरिन।
कार्यक्रममा कैलाली जिल्लाका १३ वटै स्थानीय तहबाट १–१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान समेत गरिएको थियो। जिल्ला पूर्ण खोप समन्वय समिति कैलाली तथा स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खडकाले ब्यानर बाचन गरेर कैलाली जिल्ला पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरेका थिए। कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख रमेश कुँवरले जिल्लाको स्वास्थ्य अवस्था र चुनौतिका बारेमा सरोकारवालाहरुको ध्यानाकर्षण गराएका थिए।