
जनकपुरधाम – मधेस सरकारको आगामी आवको योजना पुस्तिकामा केही योजना समावेश नगरेको मुख्यमन्त्री र अर्थमन्त्रीले स्वीकार गरेका छन। विनियोजन विधेयकमाथि छलफलको क्रममा उठेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री सतिशकुमार सिंह र अर्थमन्त्री सुनिलकुमार यादवले आगामी आवको रेडबुकमा ५ लाख १० लाखको केही योजनाहरु समावेश नगरिएको स्वीकार गरेका छन्।
सोमबार बसेको प्रदेशसभा बैठकलाई सदनमा रहेका सम्पूर्ण प्रतिपक्षी दलले बहिष्कार गरेपछि सञ्चालन नै रहेको सभामा सत्तापक्षकै सांसदहरुले छलफलको क्रममा भाग लिएपछि उनीहरुको प्रश्नको जवाफ दिदै मुख्यमन्त्री र अर्थमन्त्रीले विभिन्न योजनाहरु रेडबुकमा समावेश नरहेको स्वीकार गरे।
मुख्यमन्त्री सिंहले भने, ‘यो अन द रेकर्ड हो। चाहे संघ सरकारको बजेट होस वा प्रदेश सरकारको। मधेस सरकारकै ८ वर्षको रेकर्ड निकाल्नुस त्यहाँ जिरोबला योजनाहरु हुन्छ किनभने पिएलएमबिएसमा एक पटक दर्ता भइसकेपछि त्यसलाई हटाइदिँदा पनि रहिरहन्छ।’
मुख्यमन्त्री सिंहले विभिन्न सरकारले बजेट बनाउँदा ५ लाख १० लाखको बजेटको योजना नराखेर रेडबुक बनाउने गरेको बताए। उनले यसमा प्रदेश सरकारको कुनै गलत मनसाय नरहेको दावी गरे।
उनले प्रतिपक्षी दलको मनसाय नै गलत रहेको भन्दै प्रतिपक्षीले हरेक दिन नयाँ इश्यु खडा गर्ने गरेको आरोप लगाए। मुख्यमन्त्री सिंहले मधेस सरकारले प्रतिपक्षीको कुरा मानेर आफ्नै बजेटमा छानविन गर्न सरकारले कार्यदल बनाइदिएको भन्दै भने, ‘त्यो पनि एक पटक होइन दुई दुई पटक सरकारले कार्यदल गठन गर्यो।’
यस्तै अर्थमन्त्री सुनिल यादवले विगतको अभ्यासहरु पनि रहेको भन्दै उनले त्यो लुकाउने काम नभएको दावी गरे। उनले प्रदेश र संघको बजेटमा समेत यस्तो अभ्यास रहेको भन्दै सुत्रमा आइसकेपछि कुनै क्रियाकलाप नलुकिने बताए।
अर्थमन्त्री यादवले ५ लाखभन्दा कमको योजनाहरु सुत्रमा रहेरपनि नछापिएको दावी गरे। उनले प्रतिपक्षी दलका सांसहरुले यसमा प्रश्न उठाएपछि त्यसको हार्डकपी सबैलाई उपलब्ध गराइएको भन्दै सदनसँग कुनै कुरा नलुकाइएको दावी गरे।
अर्थमन्त्री यादवले सरकारले एकरुपता गर्ने काम इमान्दारीतापूर्वक गरेको भन्दै भने, ‘कसरी ५ लाखभन्दा कमको योजना आयो रु लुकाउने काम भयो रु यस्तो नसोँचिदिनुस। यो लुकाउने काम भएको छैन्। यो किताबलाई व्यवस्थित बनाउन मात्र भएको हो। भोलीको दिनमा मिडियाले हेर्दा यो कुरालाई नाकारात्मक टिकाटिप्पणी गथ्र्यो त्यसका लागि हामी यस्तो कदम उठाएका छौँ।’