
नेपालगन्ज – बाँके प्रहरीले असार ३१ गते कोहलपुरबाट एकजना पत्रकार बताउने ४५ वर्षीय मनबहादुर सहकारीलाई नियन्त्रणमा लियो। कोहलपुरको न्यूरोडमा जनगर्जन नेटवर्क प्राली सञ्चालन गरेर बसेका उनको साथबाट ५१ हजार नक्कली नोट र १९ किलो अफिम फेला पर्यो।
प्रहरीले सुर्खेतमा नक्कली नोट फेला पारेर एक जनालाई नियन्त्रणमा लिएपछि उनकै विशेष सूचनाका आधारमा कोहलपुरबाट सहकारी र अर्की महिला पक्राउ परेका थिए। सञ्चारकर्म गर्ने बहानामा सहकारीले अवैध धन्दा सञ्चालन गरिरहेको यो घटनाले देखाएको छ।
जेठ २१ गते कोहलपुरकै थ्रिस्टार मोबाइल पसलबाट पाँच जनाले पाँच लाख रुपैया असुली गरे। ती पाँच जनामध्ये तीन जना घुमुवा प्रहरी थिए भने दुई जनाले आफूलाई पत्रकार र अभियान्ता बताएका थिए। इलेक्ट्रोनिक व्यवसायी गोविन्द भण्डारी र अभियान्ता बताउने सूर्य रिजालले पत्रकार हुँ भनेका थिए। मोबाइल पसलमा छापा मारेको भन्दै सञ्चालकसँग पाँच लाख रुपैया असुली गरेका थिए। यी पाँचै जनालाई प्रहरीले पक्राउ ग¥यो। असार २३ गते पाँचै जना जनही एक÷एक लाख रुपैया धरौटी बुझाएर छुटेका छन्।
यी दुई प्रतिनिधिमूलक घटना हुन्। बाँकेमा पत्रकारको नाममा असुली धन्दा गर्ने अरु पनि रहेको पाइएको छ। यद्यपि, लिखित उजुरी परिसकेको छैन। नाकामा बसेर आफूलाई पत्रकार भन्दै मोबाइल तेर्साएर असुली गर्नेहरुका बारेमा गुनासो र मौखिक उजुरी आइरहेको नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष नविन गिरीले बताए।
नेपाल पत्रकार महासंघ, बाँकेको असार ३१ गते बसेको बैठकको बुँदा नम्बर २ मै पत्रकार र पत्रकारिताको नाममा पत्रकारिताको निष्ठा, मर्यादा, आचरण र आचारसंहिता विपरितका क्रियाकलाप भइरहेको भन्ने उजुरी, गुनासो आइरहेको प्रति सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ। अध्यक्ष गिरीले भने, ‘पत्रकारिताको नाममा स्वार्थ रहेको रिपोर्टिङ गर्नेहरुका बारेमा मौखिक उजुरी आएको छ। हामीले लिखित उजुरी दिन भनेका छौं।’
खासगरी ठगी, तस्करी, असुली कर्ममा लागेका जत्तिले आफूलाई ’पत्रकार’ भन्ने अनौठो रोग देखा परेको छ। नाकामा रहेका प्रहरी, भन्सारदेखि सरकारी तथा गैरसरकारी संघ संस्था, स्थानीय तहहरुमा पत्रकारको नाममा कमाउ धन्दा गर्नेहरु धेरै छन्। यस्ता व्यक्तिका बारेमा कोहीले पनि आफू अनुकूल हुने बेलासम्म उजुरबाजुर गरेको पाइदैन। जब उनीहरुको माग बढ्छ र खटपट हुन्छ अनि उजुरी आउने गरेको छ। महासंघका अध्यक्ष गिरी गलत व्यक्तिलाई कसैले पनि प्रोत्साहन गर्न नहुने बताउँछन्।
स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिसँग ‘सेटिङ’ मिलाउन सक्ने व्यक्ति या संंस्थाले तीन दिनदेखि हप्ता दिनसम्मको पत्रकारिताका तालिम दिएर पत्रकारको प्रमाणपत्र दिने गरेका छन्। पत्रकारिता तालिम अहिले स्थानीय तहको बजेट खर्च गर्ने राम्रो शीर्षक बनिरहेको छ। यसका अलावा संघ संस्थाले पत्रकार उत्पादन गरिरहेका छन्।
पढेर पत्रकार हुने भन्दा पनि यस्तै तीनदेखि हप्ता दिनका तालिमका पत्रकार यतिबेला छ्याप्छ्याप्ती भेटिन्छन्। कुनै पनि विषयमा तालिम लिनु, ज्ञान सिक्नु राम्रो कुरा हो। तर,तीन दिने तालिम लिने वित्तिकै गलत काममा लाग्ने रोग नै देखा परेको छ। अर्को कुरा अनलाइन सञ्चालन गरेर त्यसको परिचयपत्र बाँड्ने काम भइरहेको छ। नेपालगन्जमा एक जनाले व्यंग्य गर्दै थिए, ‘अनलाइनको कार्ड नभएको त बजारमा मान्छे नै छैन क्या हो ? जसले पनि कार्ड देखाइहाल्छ।’
नेपालगन्ज नाकामा केही पहिला एक जना कर्मचारी भनौ या पत्रकार भेटिए। उनले कार्ड भिरेका थिए। कार्डमा एकातिर मानव बेचबिखनविरुद्धको उनले काम गर्ने संस्थाको परिचयपत्र थियो भने अर्कोतिर अनलाइनको कार्ड थियो। उनले अनुकूल अनुसार काम गरिरहेका थिए। पत्रकार भन्दा फाइदा हुन्छ कि मानव बेचबिखनविरुद्धको उनको संस्थाको नाम भन्दा फाइदा हुन्छ त्यही भनिरहेका थिए।
यतिबेला सबैको हातहातमा मोबाइल छ। फोटो खिच्न र भिडियो बनाउन र सामाजिक सञ्जालमा राख्न सबैले जानेका छन्। यति गर्नेलाई पनि समाजले पत्रकारको परिचय भिराइरहेको छ।
हाँस्यस्पद त के छ भने, जानेबुझेका व्यक्तिहरु पनि यस्ता व्यक्तिलाई पत्रकार भन्छन्। अनि, समाजमा जुनसुकै फिल्डमा असफल भएका, धेरै पढ्न नसकेकाहरु यतिबेला पत्रकारको आवरणमा कमाउ धन्दामा लागेका छन्।
प्रहरी, प्रशासन, स्थानीय तहका प्रमुख वा कर्मचारीहरुसँग नजिक हुन खोज्ने यस्ता व्यक्तिको मनसाय हुन्छ। उनीहरुले पनि वास्तविकता नबुझी दोस्ती भइदिने र फोटोसेसनदेखि भान्सासम्म प्रवेश गराउने गरेको पाइन्छ। जसले गर्दा गलत व्यक्तिको पत्रकारितालाई ढाल बनाउन मनोबल बढेको देखिन्छ।