मोरङ – स्वास्थ्य बिमा बोर्डले विराटनगरस्थित कोशी अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पुनः प्रथम सेवा विन्दूमा निरन्तरता दिएको छ। अस्पताललाई असार १९ गते बोर्डको बैठकले साउन १ गतेबाट लागू हुने गरी, रेफरल सेन्टरमा मात्र सीमित गरेपछि बोर्डको चौतर्फी आलोचना भएको थियो।
अस्पताल विकास समितिका अध्यक्ष डा. फरवर्ड सिलवालका अनुसार स्वास्थ्य मन्त्रालय स्वास्थ्य बीा बोर्डले बुधबार कोशी अस्पताललाई पुनः प्रथम सेवा विन्दू र रेफरल सेन्टरका रुपमा कार्य गर्न अनुमति दिएको हो।
विकास समिति अध्यक्ष डा. सिलवालले बोर्ड विगतको निर्णयलाई संशोधन गर्दै आउने असोज मसान्तसम्मका लागि प्रथम सेवा विन्दु र रेफरल सेन्टर कायम गर्ने पत्र पठाएको जानकारी दिए। बोर्डले अस्पतालमा रेफरल सेन्टर मात्र कायम हुने गरि यसअघि निर्णय गर्दा अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारी, स्वास्थ्य कर्मी तथा महानगरका सामाजिक अभियान्ताहरुले चर्को विरोध गरेका थिए।
सोही क्रममा अस्पतालले समेत बोर्डको निर्णयमा आपत्ती जनाउँदै स्वास्थ्य मन्त्रालयलाई निर्णय सच्चाउन आग्रह गरेको थियो। विकास समिति अध्यक्ष डा. सिलवालका अनुसार प्रथम सेवा विन्दू हटाएर रेफरल सेन्टरमात्र कायम हुँदा अस्पतालको आर्थिक अवस्था धराशायी हुने अवस्था रहेको थियो। अस्पतालमा कार्यरत ३ सय ७६ जना स्वास्थ्यकर्मी कर्मचारी कार्यरत रहेकाछन्। जसमध्ये १ सय २४ जना स्थायी, १ सय ६२ जना अस्थायी र ९० जना ज्यालादारी कर्मचारी कार्यरत रहेका छन्।
अस्पतालमा कार्यरत कर्मचारीको पारिश्रमिक सेवा सुविधाका लागि मासिक करिब १ क्रोड ५० लाख रुपैया आवश्यक हुने बताएका उनले रेफरल सेन्टर मात्र कायम रहँदा अस्पताल सञ्चालनमा समेत समस्या हुने बताए। अस्पतालमा मोरंग र आसपाससंगै अन्य जिल्लाबाट समेत गरि दैनिक १ हजार बढि विरामी उपचारका लागि पुग्ने गरेकाछन्। जसमा ७० प्रतिशत विरामी बिमा सेवामा निर्भर रहेको अस्पताल प्रशासनले जनाएका ेछ।
त्यसैगरि स्वास्थ्य बिमा सेवा प्रयोग गर्ने मध्ये ४० प्रतिशत बढि विरामी भने प्रथम सेवा विन्दूको उपचार सुविधा लिन अस्पतालमा पुग्ने गरेकाछन्। अर्कोतर्फ धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समेत मन्त्रालयले असोज मसान्तसम्म प्रथम सेवा विन्दू र रेफरल सेन्टरका रुपमा कार्य गर्न अनुमति दिएको प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजित कुमारले जानकारी दिए।

भर्खरै
लोकप्रिय






































































































































































































