
धनगढी- कमैया मुक्ति भएकाे २५ वर्ष भएकाे छ । तत्कालीन सरकारले आजैकाे दिन अर्थात २०५७ साल साउन २ गते कमैया मुक्ति घाेषणा गरेकाे थियाे ।
साउन २ गतेकाे दिनलाई मुक्त कमैयाले दिवसकाे रुपमा मनाउदै आएका छन । आज पनि विभिन्न ठाउँमा मुक्त कमैयाँले दिवस मनाइरहेका छन् ।
दिवस मनाइरहँदा अझै २ हजार भन्दा बढी मुक्त कमैया पुनर्स्थापनाकाे पर्खाईमा छन् ।
परिचयपत्र पाएर जग्गा नपाएका, परिचयपत्र बदर भएका र सट्टाभर्ना गर्नुपर्ने गरी मुक्त कमैया पुर्नस्थापनाको पर्खाइमा रहेका छन् । कमैया मुक्तिको घोषणापछि सरकारले उनीहरूको पुर्नस्थापना र जीविकोपार्जनका लागि काम अगाडि बढाए पनि त्यसले पूर्णता पाउन सकेको छैन।
सुदूरपश्चिम प्रदेशमा एक हजार ८२ र लुम्बिनी प्रदेशमा एक हजार २९३ गरी दुई हजार ३७५ मुक्त कमैयाको अझै पुर्नस्थापना हुन नसकेको मुक्त कमैया समाजले जनाएकाे छ ।
समाजका अनुसार सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र लुम्बिनी प्रदेशको बर्दिया, बाँके, दाङ गरी पाँच जिल्लामा जग्गा पाउने मुक्त कमैया (रातो र पहेँलो परिचयपत्र पाएका) को सङ्ख्या २७ हजार ५७० रहेका थिए । जसमध्ये हालसम्म २५ हजार १९५ मुक्त कमैयाको पुर्नस्थापना भइसकेको छ। दुई हजार ३७५ मुक्त कमैया भने पुर्नस्थापनाको पर्खाइमा छन् ।
पुर्नस्थापना हुन नसकेका धेरै जसो मुक्त कमैया शिविर र बाटोको वरिपरि बस्दै आइरहेका छन् ।
बाँकी मुक्त कमैयाको भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत पुर्नस्थापना हुने भनिए पनि कमैया पुर्नस्थापनाको काम आयोगको टिओआर भित्र नपरेको समाजका अध्यक्ष पशुपति चौधरीले बताए।