
दाङ – उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८१/८२ को समीक्षा गर्दै न्याय सम्पादन कार्यमा उत्कृष्ट प्रदर्शन गर्ने न्यायाधीशहरूलाई सम्मान गरेको छ ।
मुद्दा फैसला दर र कार्य सम्पादनको सूचकका आधारमा उच्च अदालत तुलसीपुरका न्यायाधीश सोमकान्त मैनाली र बर्दिया जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठ उत्कृष्ट ठहरिएका हुन् ।
तीन सदस्यीय छनोट समितिले न्याय सम्पादन, मुद्दा टुंग्याउने गति, कार्यकुशलता, पारदर्शिता तथा जनमैत्री न्याय प्रवाहलाई मूल्याङ्कन गरी उनीहरूलाई उत्कृष्ट घोषित गरेको हो ।
समितिमा न्यायाधीश अर्जुनप्रसाद कोइराला संयोजक थिए भने सदस्यमा न्यायाधीश नरबहादुर खड्का र रजिष्ट्रार यमप्रसाद बास्कोटा रहेका थिए ।
वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार उच्च अदालत तुलसीपुरले ८५.४४ प्रतिशत मुद्दा टुंग्याउँदै उत्कृष्ट प्रदर्शन गरेको छ । त्यसैगरी, बुटवल इजलासले ८२.२५ प्रतिशत र नेपालगञ्ज इजलासले ७५.७४ प्रतिशत मुद्दा फर्स गरेको जानकारी दिइएको छ ।
मातहतका जिल्ला अदालतहरूमध्ये अर्घाखाँची जिल्ला अदालतले ८८.१७ प्रतिशत मुद्दा टुंग्याउँदै प्रदेशभित्रकै उत्कृष्ट कार्यसम्पादन गरेको छ । रोल्पा (८०.५८%), रुकुम (७८%), बर्दिया (७६.२५%) र पाल्पा (७५.१८%) जिल्ला अदालतहरू पनि उल्लेखनीय रुपमा अगाडि छन् ।
उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा न्याय सम्पादनलाई अझ प्रभावकारी, पारदर्शी र पीडित केन्द्रित बनाउँदै लैजानुपर्नेमा जोड दिइएकाे छ । उनले न्याय क्षेत्रमा देखिएको सकारात्मक सुधारको प्रशंसा गर्दै अझै थप सुधारको खाँचो रहेको बताए ।
कार्यक्रममा नेपालगञ्ज इजलासका न्यायाधीश चन्द्रबहादुर सारु, बुटवल इजलासका बासुदेव आचार्य, दाङ जिल्ला अदालतका न्यायाधीश तेज नारायण पौडेल, उच्च अदालतका अन्य न्यायाधीश तथा बार इकाइका पदाधिकारीहरूको उपस्थिति थियो।
कार्यक्रममा उच्च अदालत तथा मातहत इजलास र जिल्ला अदालतहरूबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन सूचना अधिकारी मधुसुदन पन्थीले गरेका थिए।