
नेपालगन्ज– बाँकेको कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य र कोहलपुर मेडिकल कलेजका सञ्चालक खुमाप्रसाद अर्यालले खेलाँची गर्दा मेडिकल कलेजमा सञ्चालित ‘आमा सुरक्षा’ कार्यक्रम बन्द भएको छ।
आमा सुरक्षा कार्यक्रमलाई लिएर केही दिनदेखि मेयर आचार्य र सञ्चालक अर्यालबीच आरोप प्रत्यारोप भइरहेको छ। जसका कारण साउनदेखि मेडिकल कलेजमा सञ्चालित आमा सुरक्षा कार्यक्रम बन्द भएको छ।
उनीहरूको ‘इगो’को लडाइले गर्दा मेडिकल कलेजमा सुत्केरी हुन आउने आमाहरूमाथि भने गम्भीर खेलाँची भएको छ।
सुत्केरी तथा गर्भवती महिलाकाे स्वास्थ्य सुरक्षा, उपचार सेवा र आर्थिक सहायताकाे व्यवस्थापन गर्ने उद्देश्यका साथ नेपाल सरकारले आमा सुरक्षा कार्यक्रम गर्दै आएकाे थियाे।
सुत्केरी तथा गर्भवतीकाे मृत्युदर घटाउन, सुरक्षित प्रसुती सेवा सुनिश्चित गर्न र स्वास्थ्य संस्थामा प्रसुती गराउन याे कार्यक्रमले प्राेत्साहन गरेकाे छ। यसै पनि बाँके जिल्ला मातृ-शिशु मृत्युमा लुम्बिनी प्रदेशमै अगाडि रहेकाे छ।
केहो विवाद?
मेडिकल कलेजले आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७८ काे परिच्छेद ६ अनुसार कम्तीमा तीन महिना अघि नै कार्यक्रम नवीकरणका लागि अनुसूचि १३ बमाेजिम दस्तावेजसहित स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखामा निवेदन दिनुपर्थ्याे।
निवेदन प्राप्त भएकाे ३५ दिनभित्र अनुगमन गरि प्रतिवेदन पेश गरेकाे एक महिनाभित्र नवीकरण गर्नु पर्ने हुन्छ। अस्पतालले कुनै पनि प्रक्रिया पूरा नगरी असार १३ गते सम्झाैता नवीकरणका लागि काेहलपुर नगरपालिकामा पत्र पठाएकाे थियाे।
त्यसलाई नगरपालिकाले फिर्ता पठाइदिएकाे छ। यही विषयलाई लिएर अहिले मेयर आचार्य र सञ्चालक अर्यालबीच द्वन्द्व देखिएको छ। दुवै जना आरोप प्रत्यारोपमा उत्रिएका छन्।
काेहलपुरका मेयर आचार्यले सम्झाैता पत्र लिएर कार्यालय सहायक, सुरक्षाकर्मी आएकाे खुलाए। ‘एक त प्रक्रियाहरु पूरा गरेकाे छैन, अर्काेतिर सम्झौता गर्न भन्दै कार्यालय सहायक, सुरक्षाकर्मी पठाउने गरिएकाे छ’, मेयर आचार्यले भने, ‘यसले के देखाउँछ भने मेडिकल कलेज आमा सुरक्षा कार्यक्रम लागु गर्न चाहँदैन।’
मेडिकल कलेजले भने सम्झौता गर्न पठाउँदा नागरपालिकाले सम्झौता नगरिदिएको बताइरहेको छ।
अस्पतालका सञ्चालक अर्याल मेयरकाे कक्षामा नजाने र मेयर पनि माथिल्लाे तहका मान्छे आएर कुरा गर्नु पर्ने अडानमा हुँदा दुवैबीच द्वन्द्व बढ्दै गएको छ।
काेहलपुर नगरपालिकाले वडा नम्बर ११ मा रहेकाे नगर अस्पताल र काेहलपुर-१५ काे नगर स्वास्थ्य प्रवर्धन केन्द्रबाट चाैविसै घण्टा प्रसुती सेवा दिने जानकारी दिएकाे छ।
यहाँ हुन नसकेकाे जटिल विरामीलाई नेपालगन्जकाे भेरी अस्पतालमा आफ्नै एम्बुलेन्समा लैजाने र ल्याइदिने बताएकाे छ।
तर, आँगनकाे मेडिकल कलेजलाई छाेडेर नेपालगन्ज विरामी पठाउनु कति जायज हाे? प्रश्न उब्जिएकाे छ।