
जनकपुरधाम – मधेस प्रदेशको वन निर्देशनालयले आर्थिक वर्ष २०८१/८२ मा ४४२ हेक्टर अतिक्रमित जमिन मुक्त गरिएको जनाएको छ। निर्देशनालयका अनुसार धनुषामा ३० हेक्टर, सर्लाहीमा १७५ हेक्टर, सप्तरीमा १११ हेक्टर, वारामा ५४ हेक्टर, पर्सामा ४५ हेक्टर, रौटहटमा १२ हेक्टर, सिरहामा १० हेक्टर तथा महोतरीमा तीन हेक्टर वन अतिक्रमणबाट मुक्त गरिएको हो।
निर्देशनालयका निर्देशक जग्गनाथप्रसाद जयसवालले मधेस प्रदेशको आठवटै जिल्लामा हाल १६ हजार ५९९ हेक्टर जमिन अतिक्रमणमा परेको जानकारी दिए। अतिक्रमित वन क्षेत्रको जमिन खाली गर्ने प्रक्रिया सुरु गरिएको तथा त्यसमा सबैको सहयोग आवश्यक रहको छ उनको भनाइ छ।
मधेस प्रदेश सरकारका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले लामो समयदेखि अतिक्रमणको भएको वनक्षेत्रको समस्यालाई समाधान गर्न प्रदेश सरकार लागि रहेको उल्लेख गरे। मन्त्रालयका सचिव उद्धवबहादर घिमिरेले मधेस प्रदेशको सम्पूर्ण वन कार्यालयलाई अतिक्रमणमा परेका वनक्षेत्रलाई मुक्त गर्न परिपत्र भएको बताए।