
काठमाडौँ– पत्रकारलाई निषेध गरिएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।
यसअघिका दिनमा बैठक हल बाहिरसम्म पत्रकारलाई प्रवेश दिने गरेको एमालेले सत्ता सम्हालिरहेको समयमै भने कार्यालय परिसरमासमेत रोक लगाएको छ।
पत्रकारलाई केन्द्रीय कार्यालय च्यासल बाहिर सडकमा रोकेको एमालेले बैठक स्थलको तस्बिर खिच्न एकैछिन समय दिएको भए पनि सोही समयमा लाइन जाँदा बैठकस्थल अन्धकार बनिदिएको थियो।
अन्धकारकैबीचमा पत्रकारहरूलाई तस्बिर खिच्न लगाएर बाहिर निकालिएको थियो, कार्यालय परिसरमासमेत बस्न नदिएर।
तस्बिर खिच्दै गर्दा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार साथीहरू हुँदा पनि गाह्रो पर्ने रैछ भन्ने अभिव्यक्ति दिएका थिए।
आइतबार पार्टी कार्यालयमा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेटपछि प्रतिक्रिया लिनेक्रममा पत्रकाहरूको भीड भएको थियो।