
जनकपुरधाम- जनकपुरधाममा विवाहेत्तर सम्बन्धको कारण हत्या भएको घटनामा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको बनौटा घर भई जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित डेरा गरी बस्ने २१ वर्षीया जुली झा रहेको प्रहरीले जनाएका छन् ।
सोमबार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले युवतीलाई सार्वजनिक गरेको हो । शनिबार राति करिब साढे ३ बजेको समयमा महोत्तरीको पर्सा गाउँपालिका १, पर्सा टोल बस्ने ३२ वर्षीय विमलेश यादवको जनकपुरधाम स्थित जिरोमाईलमा रहेको होटेलमा मृत फेला परेका थिए ।
धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीले दुबैजना सम्बन्धमा रहेको समयमा भएको विषयमा विवाद हुँदा युवतीले युवकको हत्या गरेको देखिएको बताएका छन्। विवाहित युवक यादव र आरोपित यादवबीच अबैध सम्बन्ध रहेको प्रहरीले जानकारी दिएको छ।
उक्त सम्बन्धको क्रममा बनाएको भिडियो देखाएर युवकले युवतीलाई ब्लाकमेल गर्दै आएका थिए। शनिबार राति करिब १० बजेको समयमा जिरोमाईलस्थित रहेको होटेल एसपी एण्ड गेष्ट हाउसको १०२ नम्बर कोठामा दुबैजना सँगै बसेका थिए ।
राति २ बजेर ५७ मिनेटमा युवक रगतले भरिएको अवस्थामा पहिलो तल्लाबाट नग्न अवस्थामा झरेका थिए । ३ बजेर ४ मिनेटमा युवती भागेको सिसिटीभी फुटेजमा देखिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले बताए ।
युवतीलाई आइतबार दिउँसो १२ बजे महोत्तरीको परौलतर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको सिंहले बताए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।