
नेपाली राजनीतिमा देखिने दृश्य बाहेक नदेखिने दृश्य पनि छ। पात, फूल र हाँगाबिँगाको जति चर्चा हुन्छ, जमिनमुनि लुकेको रुखको जराको बारेमा कतै चर्चा सुनिदैन। रुखको बाहिरी आवरणको आकर्षणमा जराको भूमिका निकै सशक्त हुने गर्दछ। नेपाली राजनीतिको दृश्यमा नेपाली कांग्रेस (नेका) देखिन्छ तर वीपी विचारका जराहरू अदृश्यमा दबिएर रहेका छन्। वैचारिक खडेरीको रापमा जराहरू मक्किएका छन्। रुख खिङरिङ्ग उजाडिएको छ। परिणाम अधिकांश क्रियाशील सदस्यहरू सदस्यता नवीकरण गर्नैपर्छ भन्ने मान्यता त्याग्दै गएका छन्। आफ्ना सदस्य नै विकर्षित भई रहेको नेकालाई आम नेपालीमाझ कसरी आकर्षित गराउने भन्ने तथ्य आजको चुनौती हो।
दृश्यमा नेपाली कांग्रेस
आदरणीय विश्वेश्वर प्रसाद कोइरालाले नेका र आफुलाई चिनाउन धेरै कुराहरू अभिलेख गरेर जानु भएको छ। तिनै विचारहरूको ‘फ्रेमवर्क’मा रहेर नेका नेतृत्वको इमान दाँजिनु पर्छ। कसी लगाउनु पर्छ। नेपाली कांग्रेस विपी बिचारको जगमा उभिएको प्रजातान्त्रिक शक्ति हो। त्यसैले नेकाको मूलतः दुईवटा जिम्मेवारी छन्। ती हुन्- प्रजातान्त्रको स्थायित्व विकास र नेपाल नेपालीको समृद्धि । लक्ष प्राप्तिकालागि बिपीका मननयोग्य बिचारका केही अंशलाई यहाँ उठान गर्नु सान्दर्भिक हुनेछ। बिपीका अनुसार-
बिपी र राजाबीचको सम्बन्ध सुमधुर थियो। राजाको भान्सामा गएर महारानीले पकाएको तिहुन तरकारी चाख्नु, विदेश गएका बेला महारानीले सुशिला (बिपीकी धर्मपत्नी) लाई उपहार ल्याइदिनुलाई उदहारणका रुपमा प्रस्तुत गर्नु भएको छ। तर नेहरू (जवाहरलाल नेहरू) उहाँ र राजाबीचको राम्रो सम्बन्ध देख्न चाहँदैनथे; उहाँले लेखेको कुरा हो।
सिक्किम भारतमा विलय गराएपछि त्यसको समर्थन गर्न बिपीलाई इन्दिरा गान्धीको दबाब आयो। दवाव नमान्दाको परिणाम थियो- स्वदेश फिर्ति र राष्ट्रिय मेलमिलापको नीति। राष्ट्र र राष्ट्रियताको संरक्षणमा राजसंस्थासँग सहकार्य गर्ने उद्देश्यका साथ राष्ट्रिय मेलमिलाप नीति आएको हो। त्यसैले राष्ट्र र राष्ट्रियताको सवालमा मेरो र राजाको घाँटी जोडिएको छ भन्ने बिपी बिचारको सार छ। राजासँग मेरो संघर्ष प्रजातन्त्रका निम्ति हो तर राष्ट्रियता सुरक्षाको सवालमा मेरो र राजाको अस्तित्व एउटै हो। राजाले आफू (राजसंस्था) जोगिन पनि देश जोगाउनै पर्ने हुन्छ; बिपीका बिचार हुन्। किनभने सिक्किम भारतमा विलय गराउने कर्म पुरा गरेका सिक्किमे नेता लेण्डुप दोर्जे पछि भारत अन्तर्गत सिक्किमको मुख्य मन्त्री पनि बने तर राजा छोग्याल देशविहीन भए। उमेरले असीको दशक पार गरेपछि कालिङ्पोङस्थित आफ्नै निवासमा अपमानपूर्ण जीवन बिताइरहेका लेण्डुपले पश्चाताप पोखेका थिए कि ‘हाम्रो प्रजातान्त्रिक आन्दोलनमा कुत्सित चाल लुकेको थाहा नपाउनु ठूलो भूल भयो।’ यो बिषयबारे वीएस दासको पुस्तक ‘ द सिक्किम सागा’ पढन सकिन्छ।
कथंकदाचित राजसंस्थाको विघटन भयो भने त्यसपछि सबैभन्दा धेरै प्रहारको सामना नेकाले गर्नु पर्छ। स्थापित र संगठित संस्थाहरू किन भत्काइन्छन् भन्ने कारणहरूबारे उहाँले सचेत गराउनु भएको थियो।
राष्ट्र, राष्ट्रियता, समाजवाद र धार्मिक स्वतन्त्रता नेकाको आदर्श हुन् भने ग्रामिण अर्थतन्त्र, कृषि र किसान आर्थिक विकासका आधार हुन। पंचशीलमा आधारित असंलग्न परराष्ट्र नीति बैदेशिक सम्बन्धको आधार हुनेछ भन्ने मान्यता थियो बिपीको।
पार्टी सुद्धिकरणकालागि सुकिलामुकिला तथाकथित कांग्रेसीहरूका विरुद्ध इमान्दार कार्यकर्ताहरूले पुनः आन्दोलन गर्नु पर्नेछ भन्दै नेतृत्वले गलत गरेको बेला टुलुटुलु हेरेर बस्ने कार्यकर्तालाई वीपीले ‘चरम अवसरवादी’ भन्नुहुँदै त्यसो नगर्न सुझाउनु भएको छ।
उल्लेखित विचार, सिद्धान्तको लेन्सबाट वर्तमान नेपालको राजनीति र उन्नतिका बिषयलाई नियालौं।
आरम्भ र परिवेश
औपनिवेशिक भारतबाट लखेटिएका अंग्रेजसँगै नेपालमा राणा शासनको अन्त्यको वातावरण बन्यो। राजालाई नेपाली कांग्रेसले साथ दियो। बिपी कोइरालाले नेतृत्व लिनुभयो। नेपालमा ०७ सालमा प्रजातन्त्र स्थापना भयो। राणा शासनका विरुद्ध कोइराला परिवारबाट निस्केको बिद्रोहको झिल्को आन्दोलनको मुस्लोमा परिणत हुन धेरै दिन लागेन। प्रजातन्त्रलाई शब्दमा लेख्ने औपचारिकता त पुरा भयो तर प्रजातन्त्रको सवलिकरणकालागि अनिवार्य नीति, संस्कार, र आचरण पनि त्यति नै आवश्यक थियो। यसको जिम्मेवारी परिवारका सदस्य र आम कार्यकर्तालाई सुम्पेर बिपी सदाकोलागि बिदा हुनुभयो।
माथि उल्लेखित बिपी बिचारको लेन्सबाट अहिलेको नेकालाई हेर्दा निकै धमिलो, अस्पष्ट देखिने गरेको छ। अहिले कांग्रेस राजसंस्थाको विरुद्धमा छ। पहिलो शत्रु मानेर आफ्नै कार्यकर्ताको हत्या गरेकाहरूसँग सत्ता साझेदारी गरेको छ। यो अपराध असैह्य छ। निजीकरणका नाउँमा मुठ्ठिभर व्यक्तिलाई अर्बपति बनाएर गाउँ, कृषि र किसानलाई उपेक्षा गरिएको छ। समाजवादको शब्द पनि लिन सक्दैनन्। धर्मिक स्वतन्त्रतालाई निमोठेर देशलाई धार्मिक निरपेक्ष बनाइएको छ। नेकाको नेतृत्वले अन्य दलको समर्थनमा मत मग्न दिएको ‘अपराधी आदेश’ नमानेका इमान्दार कार्यकर्तालाई तीन वर्षपछि अनुशासनको डण्डा चलाइएको छ। सक्रिय सदस्यहरूले सदस्यता नवीकरण गर्न मानिरहेका छैनन्। पार्टीले असंलग्न परराष्ट्र नीति त्याग्दै छ। एमसीसीको ‘क्रेज’ त्यसैको परिणाम हो। कांग्रेसलाई शिथिल पारिएको छ। सर्वत्र आलोचना बढदो छ। यति हुँदाहुँदै पनि कार्यकर्ताको बिद्रोह जाग्न सकेको छैन। बिपीकै भनाइ अनुसार त्यस्ता कार्यकर्ता ‘चरम अवसरवादी’ हुन्। “प्रजातन्र” लेख्न जति सजिलो छ चरम गरिवी र अशिक्षा व्याप्त नेपालमा त्यसको दुरुपयोग रोक्न झन् कठिन हुन्छ। नेपालको डेमोक्रेसी क्लेप्टोक्रेसी (लुटेराहरूले चलाएको शासन) जस्तै भएको छ; त्यस्तो देख्न सकिन्छ। निषेधको राजनीति बिरुद्धमा लडेर आएको कांग्रसको वर्तमान नेतृत्वले निषेधकै राजनीति गरेको, गराएको छ। आन्तरिक रुपमा पनि ‘अनुशासनको डण्डा’ ले त्यही देखाउँछ। बिसं २०४८ अघि कांग्रेस सबै बिचार र पक्षको नेतृत्व गर्ने सामर्थ्य राख्थ्यो। अहिले रवि, वालेनजस्ता टुक्राटाक्रीसँग प्रतिकार गरेर निराकार हुँदैछ। सत्य हो कि- स्थापित बिचारको अवसान नै ‘नयाँ’ बिचारको आरम्भ पनि हो। त्यो अवसर पुराना ठुला दलले लिन सक्छन् वा अरू कसैले लिन्छन्। मुलुक यतिकै बस्दैन।
बदलिंदो परिस्थिति र मडारिएको आक्रोस
करिव चार दशकदेखि सत्ताको साँचो लिएर बसेका दल र त्यसको नेतृत्वले सफलता असफलताको जस अपसज लिने साहस देखाउनु पर्छ। तर कुशासनको विपक्षमा उभिएका नागरिक, अगुवा वा सँघ संस्थालाई राजावादी, रवीवादी, हर्क-गोपी, वालेनवादी देख्न थालिएको छ। सारमा गणतन्त्र विरोधी भनेर दपेटिएको छ। यता सरकार भने रातारात ‘भुँइफुट्टा वर्ग’ (बिचौलिया) ले चलाएको, फेरबदल गरेको देखिएको छ। व्यापक भ्रष्टाचार छ। कुशासन व्याप्त छ। सत्ता बाहिर बसेकै पुराना दलले भन्ने गरेको तथ्य हो यो। अनि नागरिकको आवाजलाई गणतन्त्र बिरोधि भनेर दमन गर्न खोजिएको छ तर दमनको प्रतिकार झन् सशक्त हुने लक्षण देखिंदै छ। अहिले राजावादी, रवीवादी, हर्क-गोपी, वालेनवादीको नाममा हुर्किदै गरेका बिद्रोहको प्रहार रोक्न सत्ताधारी पुराना दल प्रतिकार (डीफेन्स) मा देखिएका छन्। यसको कारण कुशासन र असफलता हो।
सुशासनको प्रत्याभुति, निशेध र प्रतिशोधको अन्त्य, समावेशी र मितव्ययी राज्यको संरचना, भूराजनीति, आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) र नेपालको पछौटेपनको सही व्यवस्थापन हुनु अहिलेका चुनौति हुन्। तर सरकार असफल देखिएको छ। अस्थिरता ब्यापक छ। वर्तमान संविधान नै अस्थिरताको कारण हो। नयाँ मान्यता र संरचना सहित संविधानको पुर्लेखन आवश्यक छ।
अब टालटुल, निशेध र प्रतिशोधबाटमात्रै बदलिंदो परिस्थिति र मडारिएको आक्रोस साम्य हुनेवाला छैन। दलकै कार्यकर्तामा नेतृत्वप्रति व्यपक आक्रोस छ। परिस्थिति विस्फोटतिर मडारिंदै छ। सत्ता पक्षले बृहद सहमतिका लागि उदारता देखाउनै पर्छ। नत्र खहरेको बाढी पनि बिनासकारी हुन सक्छ। रोमका निरोले बाँसुरी बजाउँदा बजाउँदैको अवस्थामा पनि जनविद्रोह ‘कम्पाउण्ड’ भित्र छिरेको थियो। एक दिन हिटलर पनि बिद्रोहसँग पराजित भएका थिए; त्यो पनि त बुझ्नु पर्छ नि !
नेपालका पुराना दल र नेतासँग खेलीसकेको वाह्य शक्तिका लागि भविष्यमा तिनै दल र नेतृत्वको औचित्य समाप्त हुनसक्छ। तिनीहरूले भविष्यको बाजी मार्न नयाँ तुरुप तयार गरिसकेको हुनसक्छ! त्यसका लागि आफ्ना नागरिक मार्न सक्ने, मार्न दिने धेरै ‘जेलनस्की’ हरू गर्भमा बसिसकेका होलान्।
बिसं २०४६ को आफ्नो संविधान जोगाउन आसमर्थ नेकाले ‘बाह्र बुँदे’ मार्फत माओवादी, प्रचण्डसँग सौदावाजी गरेर हिंडनु परेको छ। नेका अव त नयाँ, स्वतन्त्र भनिने ससाना टुकडीहरूसँग जुधेर बस्नु पर्ने दिन आइसकेको देखिन्छ। शक्ति र आस्थाको तीब्र क्षयिकरणमा छन् पुराना दलहरू! यति नै बेला जुर्मुराउँदै छन् ‘नयाँ’ र ‘स्वतन्त्रहरू’ ! एक दिन छरिएका यी सबैको मेलबाट परिवर्तनको नाउँमा भेल बगाउने कुत्सित चाल हुँदैन भनेर ‘बाह्र बुँदेका’ पक्षधरहरूले कसरी भन्न सक्लान!
अहिले दृष्यमा जे देखिएको छ हिजो नदेखिने गरी चलखेल हुँदै आएकै हुन्। त्यतिमात्र होइन भोलिका दिनमा भूराजनीतिको प्रतिकार गर्न नसक्ने धेरै मुलुकहरू भुगोलबाट हराउने वा नक्सामा बदलिन सक्छन्। सत्य के हो भने ठूला र शक्तिशाली मुलुकको सुरक्षा र स्वार्थमा साना मुलुकले असैह्य त्याग गर्दै आएका छन्।
परिणाम भित्रका अभिष्ट चाल
रुखका जराहरू देखिदैनन् तर अथाह चलखेल गरेर विरुवाको प्रवर्धन गरिरहेका हुन्छन्। नेपालको प्रजातन्त्रिक आन्दोलन, पात्र चयन देखि उपयुक्त वातावतरणको ‘सेटिङ’ लगायतमा जरा झैं अदृष्य शक्ति छैन, थिएन भन्ने किमार्थ हुँदैन। स्मरण रहोस रुखका लागि जराले सकारात्मक भुमिका निर्वाह गरे पनि अदृश्य शक्तिले आफ्नोमात्र फाईदा हेर्छ।
२०४८ सालमा नेकाले पाएको दुई तीहाइको बहुमत तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालालाई अफाप भयो। गृहमन्त्री शेरबहादुर देउवाको विवाह आरजु राणासँग गराउने ‘लमी’ को भूमिकामा नेपालका लागि अमेरिकी राजदूत जुलिया चाङ ब्लक देखा परिन्। नेकामा कोइराला र देउवाको घमासान भयो। पार्टी फुटाइयो। देउवा प्रधानमन्त्री भए। माओवादीका नाममा प्रचण्ड, बाबुराम जङल छिरे। हिंसा र राजनीतिक अस्थिरता उछालियो। राजवंशको हत्या गराइयो। राजसंस्थालाई विघटन हुनबाट जोगाउन कमजोरै भएपनि ज्ञानेन्द्र राजा हुनै पर्थ्यो। भए। कमजोर हुँदा हटाउन सजिलो हुन्थ्यो।
विघटित निर्वाचित संसदलाई बैधानिक तवरबाट राजा मार्फत व्युँताइयो र माओवादीहरूलाई राजनैतिक निर्णय भनेर ठूलो संख्यामा सांसदको पद बाँडियो। माओवादी ‘अवैधानिक सांसद’ हरूलाई चोर बाटोबाट छिराएर ‘बाह्र बुँदे’ हरूले देशलाई गणतन्त्र घोषणा गरे। राजाले जनताको नासो श्रीपेच बुझाएर नारायणहिटी दरवारबाट बाहिरिए। गणतन्त्र आयो। राजा हटाउन सजिलो भयो। यी त परिणाम हुन्। यस्ता घटना परिघटना भित्र लुकेका पात्र, शक्ति र स्वार्थलाई धेरैले चिन्न सक्दैनन् वा बुझ पचाउँछन्। धेरै चर्चामा पनि आउँदैन। नेपाललाई गणतन्त्र बनाउन नदेखिएको वाह्य शक्ति र लगानी अथाह छ। त्यसैले त्यो शक्तिले सजिलै आफ्नो उद्देश्य विर्सन सक्दैन। त्यस्तो ‘भेष्टेड इन्ट्रेस’वालाहरू सँग सहकार्य गरिरहेको आन्तरिक शक्ति सुधारको सबैभन्दा ठूलो वाधक हुने गर्दछ। परिवर्नकारीका लागि यो चुनौति हुन सक्छ र अवसरका रूपमा लिएर संझौतामा गइयो भने परिवर्नत पछिको परिणाम कुरुप हुन जान्छ।
हत्याको राजनीति पछाडी पनि यस्ता अभिष्ट चाल लुकेका हुन्छन्। भारतमा कांग्रेस (आई)को लामो र फराकिलो विरासत रोक्न गान्धी परिवारलाई नहटाई संभव थिएन। ‘गान्धी डाइनाष्टी’ को हिमचिम अलि बढि थियो सोभियत संघतिर। एघार बर्षको बिचमा तीन जना होनाहार गान्धी परिवारको नेताहरूको हत्या भयो। श्रीलंकाका पृथकतावादी लिट्टेले हत्याको जिम्मेवारी लिए तर लिट्टे को हुन्, किन र कसले संगठित गरे त्यो बुझ्न अर्कै पाटो केलाउनु पर्छ। हत्यापछिको संक्रमणको केही समयलाई डा. मनमोहन सिंहले सम्हाले। त्यसपछि मोदीयुगको शुरु भयो। मोदीयुगमा पश्चिमाहरूको हिमचिम बाक्लो देख्न गारो छैन। नेपालमा पनि राजा बीरेन्द्रको वंश नै सखाप हुने गरी हत्या गरियो। त्यसपछि के के भयो अवस्था जगजाहेर नैछ। जति गोप्य राखिए पनि प्रधानमन्त्री सुशिल कोइरालाको मृत्यु पनि सुनियोजित थियो। उता पाकिस्तान तिर पनि भुट्टो परिवार सकियो। वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएका नवाज शरिफलाई ‘पानामा पेपर’ झोसेर सदाका लागि राजनीतिबाट दूर गरियो। यी सबैथोक संयोगमात्रै थिएनन्!
बिषयहरू बिश्लेषणको लामो फेहरिस्त बनेका छन्। यी सबै घटना र परिणामको वास्तविक बिश्लेषण गर्न नसक्ने युवा नेताहरू पनि ‘नेपाली जेलन्सकी’ बाहेक केही होइनन्। एमसीसीको पक्षमा चट्टानी अडान लिएका युवा नेताहरू नेपालीका यावत दुखमा किन दूर देखिन्छन्। हिजो रवी लामिछानेको उग्र विरोध गरेका नेताहरू पश्चिमा ‘सिग्नल’ बुझ्नु परेको दिन बालेन र रवीको समर्थनमा अग्रपंक्तिमा देखिनेछन्। जसरी शेर बहादुर देउवा र प्रचण्ड केही समानता राख्छन्।
सार के हे हो भने आज देखिएको भूराजनीतिको चर्को बहावको तयारी हिजोकै दिनमा शुरू भएका हुन्। अहिले दृष्यमा जे देखिएको छ हिजो नदेखिने गरी चलखेल हुँदै आएकै हुन्। त्यतिमात्र होइन भोलिका दिनमा भूराजनीतिको प्रतिकार गर्न नसक्ने धेरै मुलुकहरू भुगोलबाट हराउने वा नक्सामा बदलिन सक्छन्। सत्य के हो भने ठूला र शक्तिशाली मुलुकको सुरक्षा र स्वार्थमा साना मुलुकले असैह्य त्याग गर्दै आएका छन्।
राजा फर्काउने वेलायतको नजिर
वेलायतमा राजसंस्था फर्किएको इतिहास साक्षी छ। शनकी ओलिभर क्रमवेलले धार्मिक प्रवृत्तिका राजा चार्लस् प्रथमको हत्या गरेर सन् १६४९ मा शासनको बागडोर आफ्नो हातमा लिए। तर सन् १९६० मा फेरी राजा चार्लस् प्रथमका निर्वासित छोरा चार्लस् द्वितीयलाई त्यहाँको संसदले राजा घोषणा गर्यो। राजसंस्थाको पक्षमा बढदै गएको जनमतलाई समयमै सम्बोधन गर्न संसद, दल र राजनेताहरूले सुझबुझ देखाए। यस कार्यमा स्कटल्याण्डका शैनिक जनरल जर्ज मंकको ठूलो हात रह्यो। प्रधानमन्त्री वीन्स्टन चर्चिलले शासक ओलिभर क्रमवेललाई ‘डीक्टेटर’ भनेर आलोचना गरेका छन्। संयुक्त अधिराज्यको एकता, कमनवेल्थमा पकड र समृद्धिमा राजसंस्थाको योगदान रहिरह्यो। दल र राजा मिलेर प्रजातन्र र विकासको सम्वर्धन गरे। राजसंस्था भएको वेलायत त्यति नै शक्तिशाली र समृद्ध पनि छ।
चुनौती र अवसर
वाह्यशक्तिले अर्काको देश कहिले पनि सपार्ने भन्ने हुँदैन। यो त शक्ति विस्तारको रणनीति हो। त्यसबाट आन्तरिक शक्तिहरू छिन्नभिन्न र कमजोर हुनेमात्र हो। देश बनाउन देशभित्रकै शक्तिहरू नमिलिकन सुख्खै छैन। स्वदेश विदेश जहाँ रहेका भएपनि नेपाललाई ‘मेरो देश’ भन्नेहरू बिचको एकता, मेलमिलाप आजको आवश्यकता हो। निशेध र प्रतिशोधले देश बन्दैन; समृद्धि आउँदैन। ‘मेरो देश’ निर्माणमा सवैले अपनत्व (ओनरशीप) लिन पाउनुपर्छ। दलहरूका बिचमा प्रतिस्पर्धा स्वभाविक हुन्छ। आलोपालो सत्ताको बागडोर सम्हाल्न पाउँछन। प्रजातन्त्र राम्रो व्यवस्था हो तर यसका पनि कमीकमजोरीहरू हुन्छन्।
अहिले नेपालमा राजाको ‘स्पेस’ खोजिएको छ। ठूलो जनमत राजाको पक्षमा देखिएको छ। सकभर त्यो ‘स्पेस’ राजनीतिक दलहरूबाटै संसदले तय गरोस भन्ने राजाको चाहना देखिन्छ। यता दुर्गा प्रसाई, राष्ट्रिय प्रजातन्त्र पार्टी, हिन्दुवादी लगायत राष्ट्रवादीहरू एकै श्वरमा राजा चाहिन्छ भनेर आन्दोलित छन्। यो दवाव सिर्जना गर्ने रणनीति पनि हुनसक्छ। तर पुराना दलको विरुद्धमा राष्ट्रिय स्वतन्त्र पार्टी, पहुँच र प्रभावमा रहेका स्वतन्त्र व्यक्तिहरूले पनि जनतालाई आन्दोलित गराइ रहेका छन्। राज्य रवैयाकै कारण रवी लामिछाने जेलबाट सक्किने भन्दा पनि झन् बलियो हुने संभावना देखियो। हालै रवी लामिछानेले जेलबाट जारी गरेको अपिलमा धेरै आक्रोस देखिए पनि केही बुँदाले नयाँ आन्दोलन र संविधानको पुनर्लेखनलाई वकालत गरेको देखिन्छ। प्रत्यक्ष निर्वाचित कार्यकारी (राष्ट्रपति वा प्रधानमन्त्री भन्नेमा मौन छ) र दुई तह (केन्द्र र स्थानीय) को राज्य सम्रचनाको कुरा पनि यसैमा छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)समेतका राजावादीहरूले पनि संविधानको पुनर्लेखन र प्रदेश बिघटनको मुद्दा उठाएकाले समान धारणा देखिएको छ। राप्रापा र रास्वपाबिचको कार्यगत एकता पनि हुन सक्ला। यी मुद्दामा जो कोही सहमत, समाहित हुन सक्छ। यसरी राजावादी र गैह्र राजावादीहरूको घेरावन्दिमा पुराना दलहरू घेरिन पुगेको महशुस हुन थालेको छ। पुराना दल (कांग्रेस, एमाले र माओवादी) बाहिरका गैर राजावादीहरू एकै ठाउँमा आईपुगे भने पुराना दलहरू पाखालाग्नु पर्ने वा अर्काको इशारामा सही गर्नु पर्ने पनि हुन सक्छ। यस्तो खेलमा अदृश्य शक्तिको चाल खतरनाक रहँदै आएको छ।
नेपाली कांग्रेसभित्र वीपीका अनुयायीहरू असंख्य छन्। त्यसैले धर्मिक स्वतन्त्रता, राजसंस्था सहितको प्रजातन्त्र, लोकतन्त्र भन्नेहरूको कमी छैन- नेपाली कांग्रेसमा। पार्टीभित्रको यो विचारलाई सम्वोधन गर्न सक्ने नेतृत्व नेपाली कांग्रेस भित्र खोजिएको हुनसक्छ। वैकल्पिक नेतृत्व स्थापित हुने बैचारिक जग पनि हो यो। वैकल्पिक नेतृत्वको जग फराकिलो बनाउने आधार पनि हो। यही माध्यमबाट जनताको आक्रोश व्यवस्थापन गरेर परिस्थितिलाई अनुकुल बनाउन सकिने स्थिति आउन सक्छ। सभापति शेर बहादुर देउवाबाट यो संभव छैन किनभने उनी यसैमा खुशी, सुखी छन्। उनको सपना सकेसम्म श्रीमतीआरजु र पुत्र जयबीरलाई नेतृत्वमा स्थापित गरेर बाँचुन्जेल पर्दा पछाडीबाट आफैले शासन गर्नेमा केन्द्रित देखिन्छ। शेर बहादुरको पछि लागेर शेखर कोईराला, सशांक कोइराला वा गगन थापा कसैले पनि केही हात पार्न सक्दैनन्। पारिहाले छन् भने पनि रोजेको मन्त्री, प्रधानमन्त्री वा पार्टीको पद पाउलान तर साख बच्ने छैन्। जसरी प्रधानमन्त्री केपी ओलीले सत्तरी वर्ष उमेर र दुई बर्षे कार्यकालको हदवन्दी हालै हटाएर बाँचुन्जेल कसैलाई सत्ता, नेतृत्व हस्तान्तरण नगर्ने जानकारी दिएका छन्।
यदि आन्तरिक शक्तिहरू यस प्रकारबाट मेलमिलापमा जुटन सकेनन् भने वाह्य शक्तिले जे पनि गरिदिन सक्छ। जे पनि हुनसक्छ। देशमा गृह युद्धसम्म नहोला भन्न सकिन्न। कित्ता छुट्याएर समयमै खुला बहस थालौं!