
धनगढी – कैलाली जिल्लामा अतिक्रमित बन क्षेत्र हटाउन तिब्रता दिईएको छ। नयाँ आर्थिक बर्ष सुरु भएसंगै डिभिजन वन कार्यालय कैलालीले जिल्लाका विभिन्न ठाउँमा अतिक्रमण गरिएका बन क्षेत्र खाली गराउन सुरु गरेको हो।
डिभिजन बन कार्यालय कैलालीका बरिष्ट डिभिजन वन अधिकृत कृष्णदत्त भट्टले पछिल्लो १० बर्ष यता अतिक्रमण गरिएका वन क्षेत्र खाली गराउन सुरु गरिएको बताए।
उनका अनुसार मंगलबार मात्र गौरिगंगा नगरपालिका स्थित सरस्वति सामुदायिक वन क्षेत्रमा अतिक्रमित ४ हेक्टर वन क्षेत्र खाली गरिएको छ। जिल्लाभर झण्डै २० हजार हेक्टर वन अतिक्रमणको चपेटामा परेको अनुमान गरिएको छ।
अधिकृत भट्टले साउन महिना भित्र अतिक्रमित बन क्षेत्र खाली गराउने योजना रहेको बताए। उनले तत्काल फुलबारी रेन्जरपोष्ट अन्तर्गत दुई ठाउँमा र गोदावरी नगरपालिकाको एक ठाउँमा अतिक्रमित वन क्षेत्र खाली गराउने बताए। सडक आसपासमा भएको अतिक्रमण पनि हटाईने अधिकृत भट्टले बताए।