
जनकपुरधाम – जनकपुरधाममा पानी माग्दै जनता समाजवादी पार्टी, नेपालको युवा संगठनले प्रर्दशन गरेको छ। आइतबार सामाजवादी युवा संघ, नेपालले मधेस प्रदेश सरकारविरुद्ध प्रर्दशन गरेको हो।
‘भ्रष्ट सरकार पानी दे, चुरे दोहन बन्द गर, राहत प्याकेज घोषणा गर, किसान विरोधी सरकार होसियार, किसान मार्न पाइँदैन’ लगायतका प्लेकार्ड बोकेर उनीहरुले नाराबाजी गरेका हुन्।
जनकपुरधामको जनक चोकबाट सुरु भएको प्रर्दशन जिल्ला प्रशासन कार्यालय धनुषा हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेको थियो।
समाजवादी युवा संघले मुख्यमन्त्रीको कार्यालय र प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यलाई ज्ञापनपत्रसमेत बुझाएको छ। जिल्ला प्रशासन कार्यालयमा चार बुँदे र मुख्यमन्त्री कार्यालयमा आठ बुँदे ज्ञापनपत्र बुझाइएको हो।
मुख्यमन्त्रीको कार्यालयमा बुझाइएको ज्ञापनपत्रमा अवैध चुरे दोहन रोक्नु पर्ने, मलको व्यवस्था गर्नुपर्ने, प्रदेश सरकारले ल्याएको चालु आवको बजेटमा दुई वटा रेडबुक बनाएको विषयमा छानबिन गर्नुपर्ने माग गरिएको छ।
यस्तै, प्रमुख जिल्ला अधिकारी आर्चायमार्फत युवा संघले संघीय सरकारलाई ज्ञापनपत्र बुझाएको छ। संघीय सरकारले ल्याउन लागेको भूमि विधेयक खारेज वा संशोधन गर्नुपर्ने, तत्काल मल र बीउको व्यवस्था गर्नुपर्ने, सुख्खाबाट बच्न पानीको दीर्घकालीन योजना ल्याउनुपर्ने तथा किसान र कृषि क्षेत्रलाई समेट्ने गरी योजनाहरु ल्याउनुपर्ने भन्दै ज्ञापन बुझाएका छन्।