आँपको सिजन: बजारदेखि भान्छासम्म, स्वाद र स्वास्थ्यको संगम

आँपको सिजन: बजारदेखि भान्छासम्म, स्वाद र स्वास्थ्यको संगम
+
-

काठमाडौँ – ‘यो समय मुना चियाको हो’ भन्ने पुरानो रेडियो विज्ञापनजस्तै, अहिलेको समय ‘आँप’ को हो भन्दा फरक नपर्ला। जेठको पहिलो हप्तादेखि बजारमा सर्वत्र देखिन थालेको आँप अहिले हरेक भान्छा र किचेनमा नछुट्ने एक मात्र फल बनेको छ। फलफूलको राजा मानिने आँपको बजार मूल्यमा भने उतारचढाव देखिएको छ।

बजारको अवस्था र व्यवसायीको अनुभव

जेठको सुरुमा प्रतिकेजी रु. ५५–६० मा पाइने आँप श्रावणको पहिलो हप्तासम्म आइपुग्दा प्रतिकेजी रु. १५०–१७० सम्म पुगेको बल्खु फलफूल बजारका व्यवसायी राजकुमार दाहाल बताउँछन्। ‘सफल फ्रुट ट्रेडर्स’ का सञ्चालक सफल न्यौपाने भए पनि विगत २० वर्षदेखि न्यौपानेको सारथी बनेर काम गरिरहेका दाहाल, आफूलाई कामदार भन्न कुनै हिचकिचाहट मान्दैनन्। सानै उमेरमा कामको खोजीमा भौँतारिँदै हिँडेको बेला न्यौपाने दाइले साथ दिएको उनी स्मरण गर्छन्। उनी भन्छन्, “त्यो दिनबाट पछाडि फर्कनुपरेको छैन, दाइ र ममा कुनै दिन रातो मुख गर्नुपरेको छैन। सानो परिवार राम्रोसँग चलेको छ।”

सिजनको बेलामा महिनामा रु. १ लाखसम्म कमाइ गरेको अनुभव पनि दाहाल सुनाउँछन्। महिनाको २० हजार सटर भाडा तिरेर होलसेलमा मात्र बिक्री गर्नुपर्ने प्रतिस्पर्धात्मक बजारका कारण मार्जिन थोरैमा काम गर्दा पनि आफ्नो र सफलको दुई परिवार राम्रोसँग चलेको उनी बताउँछन्। पछिल्लो समय महानगरको कडा निगरानीले ठेला र साइकलमा भने आँपको बिक्री वितरण बिरलै देखिन्छ, अन्यथा केही कम मूल्यमा ग्राहकले किन्न सक्थे।

बजारमा दसहरी, मल्लिका, कलकतिया, अम्रपाली, चौसाजस्ता धेरैथरीका आँप पाइन्छन्। नेपालको लहान, सिराहा, सप्तरी, श्रीपुर/गोलबजार, बर्दिबासका आँप उच्च मानिन्छन् भने काभ्रे, नुवाकोट, धादिङबाट न्यून मात्रामा आउने गर्छ। अहिले नेपाली आँपको सिजन लगभग सकिएको छ, अब भारतीय आँप पाइनेछ र विगत केही वर्षयता चिनियाँ आँप पनि बजारमा देख्न सकिन्छ।

शान्ताको आँपको अचार उद्योग

आँपको बढ्दो माग र यसको व्यावसायिक सम्भावनालाई मध्यनजर गर्दै ‘शान्ताको अचार उद्योग’ ले बजारमा आफ्नो छुट्टै पहिचान बनाएको छ। घरको छतबाट एक हजार रुपैयाँको लगानीमा सुरु भएको अचारको व्यवसाय अहिले एक करोड हाराहारीमा पुगेको छ।

शान्ता चौधरीले घरमा बनाएको अचार देश–विदेशबाट पनि माग आउन थालेपछि यसैलाई आफ्नो आत्मनिर्भरताको बाटो बनाउने निश्चित गरेकी हुन्। ललितपुरमा पनि गोदाम खोलेकी शान्ताले यस व्यवसायमा ५० लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेकी छिन्।

“फेसबुकमा पोस्ट गरेकै भरमा धेरै जनाले मेरो अचार मन पराइदिनुभयो,” शान्ताले भनिन्, “आफ्नै नाम ‘ब्रान्ड’ भएकाले त्यही नामबाट अचार उद्योग खोलेको हुँ।”

आँपको अचारको विश्व बजारमा एकदमै बढी माग रहेको उनी बताउँछिन्। दाङ र ललितपुर शाखामा गरेर २५ जनाले रोजगारी पाएका छन्। मसलादार, मिक्स र खाट्टीमिट्टी गरी तीनथरीका आँपको अचार उत्पादन गर्दै आएको शान्ताको अचार भाटभटेनीका सबै स्टोरमा उपलब्ध छ भने भारत, अमेरिका, कतार, स्पेन र जापानजस्ता देशमा पनि निर्यात भइरहेको छ।

१८ महिनाको तयारीपछि यसले राम्रो माग पाएको छ। गत वर्ष २०० क्विन्टल आँप किनेको भए पनि माग धान्न अपुग भएको शान्ता बताउँछिन्।

सेफ सन्तोष शाहको आँप प्रेम

सन् २०२१ मा युकेको बीबीसी मास्टरसेफ: द प्रोफेसनल्स रिम्याचमा प्रतिस्पर्धाका विजेता सेफ सन्तोष शाहको आँपसँगको सम्बन्ध पनि विशेष छ। सिराहाको कर्जना गाउँमा आँपको बगैँचामा खेलेर हुर्केका सन्तोषलाई आँप मन नपर्ने सायद कमै होलान्। तराईमा पाइने मुख्य फलफूल आँप उनको विशेष चाख र प्रिय फलफूल हो। सन् २०२१ मा, सन्तोषले फेरि युकेको बीबीसी मास्टरसेफ: द प्रोफेसनल्स रिम्याचमा प्रतिस्पर्धा गरे र विजेता घोषित हुँदा समेत आँपको परिकार बनाएको उनी बताउँछन्।

पछिल्लो दिनमा आफ्नै रेस्टुरेन्टमा समेत आँपको जुस, लस्सी, फ्रेस जुस लगायतका परिकारहरू पस्किने गरेका छन्। आफन्त, नातागोता र पाहुना घरमा आउँदा पनि आँपलाई राम्रो कटिङ र लुक्समा सत्कार गर्दा मज्जा लाग्ने उनी बताउँछन्।

डा. ओम मूर्ति अनिलको स्वास्थ्य सल्लाह

सिजनमा मात्र पाइने फलफूलमध्ये आँप धेरैलाई मन पर्छ। तर, आँपमा धेरै विषादीको प्रयोग हुन्छ भन्ने डर धेरैमा छ, र सचेत हुनु पनि हाम्रो कर्तव्य हो। सुगरका बिरामीले आफ्नो इच्छा र चाहना हुँदा पनि धेरै परेजमा बस्ने गरेको पाइन्छ। तर, डा. ओम मूर्ति अनिलको अध्ययन र अनुसन्धानले आँपमा प्रयोग हुने विषादीले कस्तो हानि पुर्‍याउँछ भन्ने आधिकारिक पुष्टि अहिलेसम्म नभएको बताउँछ। आँप पकाउन क्याल्सियम कार्बाइड नामक रसायन प्रयोग हुन्छ, जसले ग्यास उत्पन्न गरी आँपलाई चाँडो पकाउने काम गर्छ। विकसित मुलुकमा फलफूलमा विषादीको प्रयोग बन्देज नै भए पनि नेपालमा यो चलनमा छ।

डा. अनिलका अनुसार, विषादी प्रयोग भएता पनि आँपलाई राम्रोसँग शुद्ध पानीमा पखाल्ने, ३० मिनेटभन्दा धेरै समय पानीमा डुबाएर राख्ने र बोक्रा राम्रोसँग ताछेर खाँदा आँपमा प्रयोग भएको रसायन हराउँछ। आँपको भित्र विषादी हुने सम्भावना कमै हुन्छ, त्यसैले सफासुग्घरमा ध्यान पुर्‍याउँदा आँप खान कुनै समस्या हुँदैन।

धेरैलाई सुगरका कारण आँप खान बञ्चित हुनुपर्ने वा मन मार्नुपर्ने अवस्था छ, तर त्यस्तो होइन। सुगरका बिरामीले बिहान वा बेलुका मिलाएर १५० ग्रामसम्म आँप खान मिल्ने हुन्छ। सुगरका बिरामीले आँप खाँदा पोटासियम, फाइबर, म्याग्नेसियमजस्ता मूल्यवान तत्वहरू प्राप्त हुन्छन्। बच्चादेखि वृद्धासम्म, मुटु, कलेजो, कोलेस्ट्रोललगायत सबै खाले बिरामीलाई आँपले फाइदा पुर्‍याउँछ। आँप खाएको समयमा दैनिक प्रयोग गर्ने क्यालोरीयुक्त खाना, रोटी, चिया र अन्य फलफूल कम गर्नु राम्रो हुन्छ। आँप खाली पेटमा खानु हुँदैन। आँप आँखा, छाला, पाचन, कब्जियत, रगत (आइरन), कोषिकाको वृद्धि, भिटामिन सी, खनिज, कपर, फोलेट र रोग प्रतिरोधात्मक क्षमताका लागि पनि धेरै राम्रो मानिन्छ।

आँप अन्य फलफूलका तुलनामा विशेष मन पर्ने धेरैलाई यसको क्रेटमा खरिद गर्दा केही सस्तो पर्छ। घरमा क्रमशः पाक्दै जाने र कुनै दिन खाली नहुने आँप भान्छामा हुँदा भान्छा राम्रो देखिनुका साथै पाहुना डाकी डाकी घरमा बोलाएर आतिथ्य गर्न पाउँदा छुट्टै आनन्द मिल्ने शान्ता चौधरी बताउँछिन्। यो उनको अन्तरमनको सन्तुष्टि पनि हो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?