
धनगढी – थारु समुदायको चाडको सुरुवातको रुपमा लिइने गुरहीपर्व कैलालीकाे धनगढीमा पनि धुमधामका साथ मनाइएकाे छ।
नागपञ्चमीकै दिन गुरहीलाई थारु समुदायले धुमधामकासाथ मनाउने प्रचलन छ। थारु समुदायमा ‘गुरही’ मनाउँदा नाग बाबालाई पूजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ।
गुरही पर्वका अवसरमा थारु बहुल क्षेत्र कैलाली र कञ्चनपुरकका अधिकांश स्थानीय तहहरुले सार्वजनिक बिदा नै दिएपछि याे पर्वमा थारु समुदाय थप उत्साहित भएका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका ८ क्याम्पस रोडस्थित गुरही चौक पनि सफा गरी ‘गुरही’ को मूर्ति अनावरण गरिएको छ। ठूलाे संख्यामा जम्मा भएका थारु समुदायले ओपचारिक कार्यक्रम गरेर मूर्ति अनावरणदेखि आफ्नाे संस्कृति झल्किने कार्यक्रमहरु गरेका छन्।
गुरही पर्वको थारु समुदायमा आफ्नै धार्मिक महत्व छ। थारु समुदायामा गुरहीकै दिनदेखि वर्षायाम अन्त्य भई हिउँद सुरु भएको मानिन्छ।
‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पूजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिँदै आएकाे थारु अगुवा माधव चाैधरीले बताए।
साँझको समयमा गाईगोरु चरेर गोठमा भित्रिएपछि बडघर (भलमन्सा) को पहलमा गाउँका दाजुभाइ दिदीबहिनीहरु नयाँ कपडा पहिरेर थालमा भुजा, कपडाको रंगीविरंगी गुडीया लिएर गाउँको चौराहातिर लाग्छन्। जहाँ ‘गुरही’ ठटाउने गन्तव्य कायम गरेको हुन्छ।
चौराहामा गाउँका भद्र भलादमीदेखि बच्चाबुढासम्म भेला भएका हुन्छन्। चौराहमा गाउँघरका दाजुभाइ, दिदीबहिनी, भद्र भलादमीको उपस्थिति रहन्छ। गाउँका बडघर एकै सासमा (एकसंस्सु) डुबो घाँसमा गाँठो पार्छन्। गाँठो पारिसकेपछि त्यसलाई ठटाउने आदेश दिएपछि जम्मा भएका केटाकेटीहरु त्यसलाई आफूसँग ल्याएको रंगीचंगी कोर्राबाट ठटाउँछन्।
गुरही पर्वमा थारु समुदायले चौकमा ठटाएको भुजा र कपडाको टुक्राको संकलन गरेर घरतिर लग्ने प्रचलन छ। ठटाएका ती कपडाको टुक्रा घरको द्वारमा बाँध्दा, भुजालाई घरको छानामा छर्कदा र डुबोलाई घरमा राख्दा घरमा रहेको दुःखकष्ट र सर्पले दुःख नदिने विश्वास छ।