
नेपालगन्ज – नेपालगन्जमा प्रधान कार्यालय रहेको कर्णाली विकास बैंकमा ३ अर्ब २० करोड घोटाला भएको निष्कर्षसहित जिल्ला अदालतमा मुद्दा दर्ताको तयारी गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको कागजातलाई अध्ययन गरेर आज अदालतमा दर्ता गर्ने तयारी गरिएको हो।
जिल्ला न्यायाधीवक्ता दशरथ गौतमले हस्ताक्षर गरिरहेकाले सकिनेबित्तिकै दर्ता गरिने बताइएको छ। एक हजार ८४ पेजमा गौतमले हस्ताक्षर गरिरहेका छन्। बैंकको ३ अर्ब २० करोड हिनामिनामा १ सय ११ जनाविरुद्ध मुद्दा दर्ता गर्न थालिएको छ। सीआइबीले चार जनालाई पक्राउ गरेको छ । बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपतिदयाल मिश्र, बित्त प्रमुख बेदप्रकाशसिंह ठकुरी र राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेत पक्राउ परेका छन्।
स्रोतका अनुसार, ३ अर्ब २० करोडमध्ये संस्थापक अध्यक्ष रायको नाममा २ अर्ब ६३ करोड बिगो राखिएको छ । त्यसपछि कर्मचारीहरु निरजविक्रम शाह र दिनेश रावतको नाममा धेरै बिगो रहेको छ । कर्णाली बैंकको घोटाला जिल्लाको अहिलेसम्मकै ठूलो मुद्दा रहेको सम्वद्वहरुले बताएका छन्। बैंकका सञ्चालक, कर्मचारीसँगै ऋणीसमेतको नाममा मुद्दा दर्ता हुँदैछ।