
धनगढी – कैलालीको टीकापुर नगरपालिका कार्यालय सुकुम्बासीले घेराउ गरेका छन्।
भूमिहीन सुकुम्बासी, मुक्त कमैया, मुक्त कमलरी, दलित, बाढीपीडितलगायतले बिहीवार नगरपालिका कार्यालय घेराउ गरेका हुन्।
मंगलबारदेखि चरणबद्ध आन्दाेलन सुरु गरेका उनीहरुले तेस्रो दिनमा नगरपालिकाको कार्यालय घेराउ गरेका हुन्।
आन्दोलनको सुरुकाे दिन प्रदर्शन सामुदायिक चोकबाट सुरु भई खडकचोक, नगरपालिका कार्यालय वरिपरि प्रदर्शन गर्दै सम्पन्न गरिएको थियो। सो दिन आन्दोलनकारीहरूले सडकमा टायरसमेत बालेर आक्रोश व्यक्त गरेका थिए।
नगर प्रमुख रामलाल डगाैराले उनीहरुका विरुद्ध अभिव्यक्ति दिएकाे विषयलाई लिएर पछिल्लो तीन दिनयता आन्दोलित छन्।
आन्दोलनमा सहभागी भएका सुरज चौधरीका अनुसार टीकापुर नगरपालिकाले ‘माथिबाट आदेश आएपछि शिविर हटाउने’ कुरा गरेपछि आफूहरूले बाध्य भएर आन्दोलन गर्नु परेको बताए।
नगरपालिकाले विज्ञप्ति जारी गरी विरोध कार्यक्रमलाई स्थगन गरी नगरपालिकासँग संवाद र सहकार्य गर्न आह्वान गरेकाे छ।