
धनगढी – नेकपा (एकीकृत समाजवादी) गोदावरी नगर र चुरे गाउँपालिका संगठनले गोदावरी राजधानीको जग्गा भोगाधिकारको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालमार्फत सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएकै ठाउँमा जग्गा भोगाधिकारको निर्णय गरिदिन ध्यानाकर्षण पत्र बुझाएको नेकपा (एकीकृत समाजवादी) चुरे गाउँकमिटि इन्चार्ज सुरेन्द्र खडायतले जानकारी दिए।
ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘सो क्षेत्रमा जग्गा भोग चलनको कानूनी अड्चनका कारण देखाई अहिलेको नेपाली कांग्रेस र एमालेको गठबन्धको सरकारले राजधानी अन्यन्त्र सार्ने प्रपन्च गरीरहेको भन्ने हाम्रो बुझाइ छ। गोदावरी र चुरेका इन्चार्जको संयुक्त हस्ताक्षरित विज्ञप्तीमा दुई तिहाईको सरकारले पारित गरेको ठाउँमा नेपाल सरकारले मन्त्रीपरिष स्तरिय निर्णय गराई प्रदेश सरकारलाई जग्गा भोगचलनको अधिकार प्रत्यायोजन गर्न नेपाल सरकारलाई प्रमुख जिल्ला अधिकारी मार्फत गम्भीर ध्यानाकर्षण गर्न चाहन्छौं।’
सुदूरपश्चिम प्रदेश सभाले २०७५ साल असोज १२ गते प्रदेशको राजधानी गोदावरी नगरपालिकाको वडा नं २ मा तोक्ने प्रस्ताव सभाबाट पारित गरेको थियो । संघिय सरकारले जग्गा भोगाधिकार नदिएका कारण कार्यान्वयनमा समस्या भएको खडायतले बताए।