
धनगढी – टिकापुर नगर प्रमुखको अभिव्यक्तिविरुद्ध आक्रोशित भूमिहीन सुकुम्बासीहरूले बिहीबार टिकापुर नगरपालिका कार्यालयमा घेराउ गर्दै तोडफोडसमेत गरेका छन्। आन्दोलनकारीहरूले नगर परिसरमा रहेका गमला फुटाउनुका साथै कार्यालय भवनमा ढुंगामुढा गरेका हुन्।
ताेडफाेडका क्रममा नगरपालिकामा कार्यरत नगर प्रहरी रिमा साउद घाइते भएकी छन्। उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको नगरपालिकाले जनाएकाे छ।
टिकापुर बहुमुखी क्याम्पस आसपास बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीहरू नगर प्रमुखको पछिल्लो अभिव्यक्तिले आफूहरूलाई अपमानित बनाएको भन्दै तीन दिनदेखि आन्दोलनरत थिए।
बिहीबारको प्रदर्शन सुरुमा शान्तिपूर्ण देखिए पनि केही समयपछि आक्रोशित भीडले नियन्त्रण गुमाउँदै नगर कार्यालयमा तोडफोड सुरु गरेको थियो।
नगरपालिकाले सार्वजनिक सम्पत्तिमा गरिएको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै कानुन उल्लंघन गर्नेहरूलाई कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ। साथै, विवाद समाधानका लागि वार्ता प्रक्रियाको प्रस्ताव पनि अघि सारिएको जनाएको छ।
आन्दोलनकारीहरू भने आफूहरूलाई उचित भूमि र आवासको व्यवस्था नगरी अपमानजनक व्यवहार गरिएकाले संघर्षलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्। तनावग्रस्त स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासन र सुरक्षा निकायले थप प्रहरी परिचालन गरेका छन्।
भूमिहीन सुकुम्बासी, मुक्त कमैया, मुक्त कमलरी, दलित, बाढीपीडितलगायतले आन्दाेलन गरेका हुन्। आन्दोलनको सुरुकाे दिन प्रदर्शन सामुदायिक चोकबाट सुरु भई खडकचोक, नगरपालिका कार्यालय वरिपरि प्रदर्शन गर्दै सम्पन्न गरिएको थियो। सो दिन आन्दोलनकारीहरूले सडकमा टायरसमेत बालेर प्रदर्शन गरेका थिए।
टिकापुरका नगर प्रमुख रामलाल डगाैराले आफूहरूविरुद्ध अभिव्यक्ति दिएकाे विषयलाई लिएर पछिल्लो तीन दिनयता आन्दोलित छन्।