
धनगढी – कैलालीकाे बर्दगाेरियामा सेकुवा सेन्टरमा कार्यरत एक युवतीकाे चक्कु प्रहार गरेर हत्या गरिएको छ।
बर्दगाेरिया गाउँपालिका-१ मा रहेकाे राजधानी सेकुवा एण्ड म:म सेन्टरमा कार्यरत बर्दगाेरिया गाउँपालिका-३ की १७ वर्षीया याचना सेजवालकाे आज बिहान चक्कु प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले शनिबार बिहान १० बजेतिर सेजवालमाथि साेही सेकुवा एण्ड म:म सेन्टरमा काम गर्ने बर्दगाेरिया-१ का ३३ वर्षीय नृप साउदले चक्कु प्रहार गरेकाे बताए।
चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सेजवाललाई उपचारका लागि तत्काल धनगढीकाे निसर्ग हस्पिटल ल्याइएको थियो। उनकाे उपचारका क्रममा मृत्यु भएको थियाे।
सेजवालकाे शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिनेछ। उनीमाथि चक्कु प्रहार गर्ने साउदलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। चक्कु प्रहार गर्नुकाे कारण भने खुलेकाे छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।