
धनगढी – सुदूरपश्चिमको प्रमुख शक्तिपीठका रुपमा रहेको बडिमालिकामा पूजाका लागि पहिलो पटक धनगढी उपमहानगरपालिकाको टोली त्यसतर्फ प्रस्थान गरेको छ। आईतबार बिधिपुर्वक उपमहानगरपालिकाको टोली बडिमालिका प्रस्थान गरेको हो।
बडिमालिका मन्दिर विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको कलात्मक मन्दिर हो। समुन्द्री सतहदेखि तीन हजार ८६० मिटर उचाइमा रहेको यो मन्दिर बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ६ मा रहेको छ।
उपमहानगरपालिकाले नगर उपप्रमुख कन्दकला रानाको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खाती लगायतको टोली प्रसिद्ध धार्मिक स्थल बडिमालिका पठाएको हो। सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल बाजुरा स्थित बडिमालिका माईको मन्दिरमा यही साउन २३ गते चतुर्दशीका दिन लाग्ने धार्मिक मेलाको अवसरमा उपमहानगरपालिकाको पूजा टोली प्रस्थान गरेको हो।
उपमहानगरको टोलीमा ४५ जना रहेका छन्। धनगढी उपमहानगरपालिकाको टोलीले धनगढी स्थित वनदेवी मन्दिरमा पूजा सहित विधि पूर्वक यात्रा सुरु गरेको हो। उपमहानगरको ३६ औं कार्यपालिका बैठकको निर्णय, नीति तथा कार्यक्रम अनुसार पूजाका लागि उपमहानगरको सरकारी टोली बडिमालिकाका गएको उपमहानगरले जनाएको छ। वनदेवी मन्दिरमा नगरप्रहरीको टोलीले सरकारी टोली र पूजासामाग्रीलाई सलामी सहित विदाई गरेको थियो।
बडिमालिकामा यसअघि सुदूरपश्चिमको डोटी र बाजुराबाट मात्रै सरकारी टोली पूजासामाग्री (पटेरो) सहित बडिमालिका जाने गरिएकोमा यसपाली देखि धनगढी उपमहानगरपालिकाको पनि सरकारी पूजा सामग्रीसहित टोली गएको हो।