
काठमाडौँ- सिराहा जिल्लाका दुई परिवार ८ दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा मिटर ब्याज पीडितको रूपमा धर्नामा बसेका छन्।
सिराहाको लहान- ७ काश्याम विश्वकर्मा र लहान- ३ की सीता कुमारी मण्डलका परिवारहरू घरजम र रोजगारीका लागि साहुसँग लिएको सानो ऋण अहिले डरलाग्दो बोझ बनेपछि न्यायको माग गर्दै काठमाडौँ आएका हुन्।
श्याम विश्वकर्माले साहुसँग ५ लाख रुपैयाँ ऋण लिएको भए पनि अहिलेसम्म २१ लाख रुपैयाँ तिरिसेका छन्। तर पनि साहुले अझै ५० लाख रुपैयाँ मागिरहेको उनले बताए। त्यस्तै, सीता मण्डलले ५ लाख लिएकोमा ९ लाख तिरे पनि साहुले १२ लाख ७० हजार बाँकी रहेको भन्दै दबाब दिइरहेको बताएकी छन्।
पीडितहरूले ‘मीटर ब्याज पीडित संघर्ष समिति’लाई आफ्नो पीडा राखिसकेका छन्, तर कुनै पनि सुनुवाइ नभएपछि बाध्य भएर काठमाडौं आएर धर्ना बस्नुपरेको बताएका छन्।
२ दिनदेखि आफ्ना साना बालबालिकासहित माइतीघर मण्डलामा धर्ना दिइरहेका यी परिवारहरूले प्ल्या कार्डमा ‘मेरो बुवा-आमाले जति चाँडो न्याय पाउनुहुन्छ, म त्यति छिटो घर र स्कुल जान सक्छु’ भन्ने सन्देश बोकेका छन्।
सरकार पक्षबाट अहिलेसम्म कुनै प्रतिक्रिया वा पहल नभएको पीडितहरूको गुनासो छ। पीडितहरूले राज्यसँग तत्काल न्याय र मिटर ब्याजको मारबाट मुक्ति दिलाउन आग्रह गरेका छन्।
थप तस्बिरहरू: