
काठमाडौँ – सरकारले बहुविवाहलाई मान्यता दिने गरी कानुन ल्याउने तयारी गरेको विरोधमा आमरण अनसन बसिरहेकी विनु यादवको स्वास्थ्यमा समस्या देखिएको छ।
चार दिनदेखि माइतीघर मण्डलामा अनसन बसिरहेकी उनको स्वास्थ्यमा समस्या देखिएपछि सलाइन पानी चढाइएको छ।
आफूलाई घरेलु हिंसा पीडित भनेर चिनाउँदै आएकी उनले साउन १६ गतेदेखि आमरण अनसन सुरु गरेकी हुन्। उनले बहुविवाह गर्न पाउने गरी तयार पारिएको कानुनको मस्यौदा खारेज गर्न माग गरेकी छन्।
आइतबार अनसनस्थलमा कानुन मन्त्रालयका प्रतिनिधि आएर सरकारले मस्यौदा संशोधन गरिसकेको भन्दै अनसन स्थगित गर्न आग्रह गरेको उनले बताइन्। आफूले मस्यौदा खारेज नगर्दासम्म अनसन नतोड्ने बताएको जानकारी दिइन्।
सरकारले बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी कानुन ल्याउन मस्यौदा तयार गरेको छ। हालको कानुनी व्यवस्थाअनुसार बहुविवाह पूर्ण रुपमा निषेध छ।
सरकारले यदि विवाहित पुरुषको अर्की महिलासँगको सम्बन्धले गर्भ रहेमा वा बच्चा जन्मिएमा दोस्रो विवाह कायम हुने गरी कानुन संशोधन गर्ने तयारी गरेको हो।